समाचार

केलाङ नाच्न र सिलाम साक्मा बुन्न सिके विद्यार्थीहरूले

लिवि मञ्च सुनसरीको दशदिने तालिम

१९ सेप्टेम्बर, विजयपुर । लिम्बु विद्यार्थी मञ्च सुनसरीको आयोजनामा केलाङ तथा सिलाम साक्मा बुन्ने तालिम सम्पन्न भएको छ । दश दिने सीप तथा कला विकास प्रशिक्षण कार्यक्रमअन्तर्गत धरानमा तालिम सम्पन्न भएको हाे ।

समापन कार्यक्रमकाे एक दृश्य ।

चुम्लुङ हिम परिसरमा गत भदाै २२ गतेबाट भएको प्रशिक्षण ७० बढी युवा तथा विद्यार्थीहरूकाे सहभागिता रहेको थियोे । मङ्गलबार भएको समापन समाराेहमा बाेल्दै प्रमुख अतिथि एवम् कियाचु सुनसरी अध्यक्ष माेहन हुक्पा चाेङवाङले तालिमले विद्यार्थीहरूमा सीपको विकास हुने बताए । उनले लिवि मञ्चको सक्रियताकाे प्रशंसा गर्दै पहिचानको आन्दोलनदेखि हाल चलिरहेको मुक्कुमलुङ बचाउ अभियानमा समेत महत्त्वपूर्ण याेगदान रहेको स्मरण गरे ।

समापन समाराेहलाई समाजसेवी दत्त खापुङ, लिवि मञ्चका संस्थापक वसन्ती थेवे, पूर्व केन्द्रीय सचिव अमित थेवे, चुम्लुङ धरान सचिव बालकृष्ण सिङ्गक, सन्दीप लिवाङ लगायतले सम्बाेधन गरेका थिए । साे अवसरमा जिल्ला सल्लाहकार सुमन चेम्जोङ, प्रेम हुक्पा चाेङवाङ, चुम्लुुङ सुनसरी काेषाध्यक्ष पूर्णिमा तिगेला, पत्रकार निलिफा सुब्बा, चुम्लुङ धरान उपाध्यक्ष ललिता चाेङवाङकाे समेत उपस्थिति रहेको थियोे ।

त्यसैगरी, तालिममा केलाङ(च्याब्रुङ नाच)का प्रशिक्षक कुमार हुक्पा चाेङवाङ, सिलाम साक्मा बुन्ने तालिमका प्रशिक्षक गाेपीलाल फेम्सङ लिवाङले समेत धारणा राखेका थिए । तालिममा सहभागीहरूलाई प्रमुख अतिथिले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

के(च्याब्रुङ) याक्थुङ समुदायको एक महत्त्वपूर्ण साँस्कृतिक बाजा हाे । च्याब्रुङसहित नाच्ने नृत्य केलाङ हाे । जसमा प्रकृति, जीवजन्तु र पन्छीहरूकाे नक्कल गरेर तीन सय बढी किसिमका नाचहरू नाचिन्छ । सिलाम साक्मा भने समुदायको साँस्कृतिक अनुष्ठानमा प्रयोग हुने एक महत्त्वपूर्ण चिन्ह र सामग्री हाे । यसको शाब्दिक अर्थ मृत्युको बाटाे छेक्ने भन्ने अर्थ लाग्छ । यी दुवै कुराकाे वर्णन याक्थुङ मुन्धुममा उल्लेख गरिएको छ ।

तालिममा सहभागी विद्यार्थी तथा युवाहरू ।

तालिममा उत्कृष्ट हुने विद्यार्थीहरू सुम्निमा लिम्बु, इक्सा लिम्बु र विवेक नेम्वाङलाई पुरस्कार समेत प्रदान गरिएको थियोे । लिवि मञ्च सुनसरी अध्यक्ष विनीता मादेनले याक्थुङ सँस्कृतिकाे पहिचानबारे अवगत गराउन तथा आवश्यक सीप सिकाउन कार्यक्रम गरिएको जनाइन् ।

लक्ष्मण खवाहाङले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूकाे तर्फबाट मदन सम्बाहाङ्फेले बाेलेका थिए । काेषाध्यक्ष आरती नेम्वाङले स्वागत मन्तव्य राखेको कार्यक्रम सुनसरी अध्यक्ष विनीता मादेनकाे अध्यक्षतामा भएको थियोे ।

Related Articles

Back to top button