प्यालेस्टाइनी कविताहरू : युद्धबीच मानवीय संवेदनाकाे खाेजी
गाेरखाका कवि एवम् अनुवादक चन्द्र गुरुङमार्फत् साताअघि ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ कृति हात लाग्याे । कृति दुई बसाइँमा पढेर सकियाे । अधिकांश कविताहरू रातको समयमा नै पढिएकाे हुनाले साँच्चै गाजा र पश्चिम बैंकका प्यालेस्टाइनी जनताझैँ निद्रा हरायाे ।
सात दशकभन्दा लामाे इजरायल-प्यालेस्टाइन युद्धमा चालीस हजार बढीले ज्यान गुमाएका छन् । लाखाैँ अङ्गभङ्ग र विस्थापित भएका छन् । भूमध्यसागरीय समुद्रपूर्वकाे भूगोल युद्धग्रस्त क्षेत्र हाे । यतिबेला पनि अरबिक क्षेत्र र इजरायलबीच युद्ध चलिरहेको छ । याे युद्धलाई अस्तित्वका लडाइँका रूपमा लिनेहरू छन् । अब्राहमिक परिवारभित्र तीन धर्म (यहुदी, इस्लाम र इसाई) पर्छन् । यहीँ भूगाेलमा तीनवटै आस्थाका समुदायहरू बस्छन् । मस्जिद, चर्च र सिनेगगहरू छन् ।
यद्यपि सन् १९४८ र सन् १९६७ काे युद्धयता नाटकीय रूपमा प्यालेस्टाइनकाे भूमि खुम्चिएकाे छ । आणविक र अत्याधुनिक हतियार भएको मुलुक हाे इजरायल । र, प्यालेस्टाइनमा विद्रोही समूहहरूको जगजगी पनि छ । यद्यपि, दुई राज्यकाे अवधारणामा संयुक्त राष्ट्र संघ र विश्वका शक्तिशाली मुलुकहरू लगभग सहमत छन् ।
यस्तो समयमा ३९ प्यालेस्टाइनी कविहरूका अरबिक कविताहरू पढ्नु युद्धभूमिमा सयर गर्नु बराबर हाे । युद्धका पीडाहरू नजिकबाट चहार्नु हाे । मानवीय संवेदना र दर्दलाई महसुस गर्नु हाे । युद्ध, प्रतिराेध, प्रत्याक्रमणकाे आवश्यकता आफ्नो ठाउँमा रह्यो । तर, युद्धले दिने घाउ र खत अविस्मरणीय हुन्छन् ।
कवि चन्द्र गुरुङले अनुवाद गरेका कविताहरूले जीवनकाे चाहना राख्छ । त्यति, मात्रै हाेइन कतिपय अवस्थामा त मृत्युुवरण अवश्यम्भावी भएकोले बरू कष्टकर नभएर शान्त मृत्युका लागि प्रार्थना गरिरहेको आवाज पनि सुनिन्छ ।
केही मर्मस्पर्शी कविताका हरफहरू हेराैँ –
‘म चाहन्छु कि बच्चाहरूले मर्न नपराेस्
म चाहन्छु कि उनीहरू अस्थायी रूपमा
उचालियाेस् युद्ध समाप्त नहुञ्जेल
आकाशमाथि ।
त्यसपछि उनीहरू सुरक्षित घर फर्कन सक्नेछन्
र जब उनका आमाबाबुले उनीहरूलाई
साेध्नेछन् –
‘तिमीहरू कहाँ थियौ ?’
उनीहरूले भन्नेछन् –
‘हामी बादलमा खेलिरहेका थियौ ।’
(कवि घसानी कानाफानी, पृष्ठ २५)
छाेटा कविताहरूले भरिएका कविता सङ्ग्रह हाे । छाेटाे भएपनि शक्तिशाली सन्देशचाहिँ छाडिएको सानाे उदाहरण याे कविता पढे पुग्छ ।
‘गैर-राजनीतिक कविता लेख्नलाई
मैले सुन्नुपर्छ चराहरू
र, चराहरूकाे चिरबिर सुन्नलाई
हुनुपर्छ युद्ध विमानहरू शान्त ।’
(कवि मरवान मखाैल, ‘राजनीति र कविता’ बाट पृ ५१)
युद्धमा हामिनेहरू वयस्क र वृद्ध मात्रै छैनन् । किशोरकिशोरी अझै बालकहरू पनि छन् । यसकारण युद्धको चित्र उनीहरूको आँखामै टाँसिएको छ ।
‘…… लडाकू विमानहरू चील जस्तै देखिन्छन्
बस्नलाई, एक पल सास फेर्नलाई जाे कुनै रूखकाे
हाँगा खाेज्दै छन् …
तर यी धातुका चीलहरू
रगत र हड्डीकाे सूपकाे कचाैरामा आत्माहरू
टिपिरहेका छन् ।
……………
त्यतिबेला म मात्रै सात वर्षको थिएँ
म उमेरले युद्धभन्दा दशकाैँ कान्छाे थिएँ
बमभन्दा केही वर्ष जेठाे ।’
(कवि माेसाब अबु ताेहा, ‘युद्धभन्दा कान्छाे’ बाट, पृ ६४)
कविहरू माैरिद बरघाैती, माेइन बेस्सिसाे, महमुद दर्विश, नीमा हसनका रचनाहरू चाहिँ शक्तिशाली छन् । ती यस कृतिका आत्माहरू हुन् । युद्ध साहित्यका लागि याे कृति एउटा उपहार हाे । भारतबाट लाली गुराँस प्रकाशन दार्जिलिङले ल्याएको संस्करण पढियाे । नेपालबाट पनि केही दिनअघि मात्रै उहीँ कन्टेन्टकाे तर भिन्न आकारमा किताब आएको छ ।
अनुवादक गुरुङले प्यालेस्टाइनी सर्जकहरूबारे आफ्नो पुस्तकमा भनेका छन्, ‘आफूहरूले झेल्नुपरेको अपमान, छलकपट, उत्पीडन र अन्याय सबैलाई उनीहरूले सिर्जनात्मक रूपमा ल्याएका छन् । यस भूमिमा सिर्जित साहित्यमा उनीहरूकाे व्यथा स्पन्दित छ ।’
युद्धलाई झेलिसकेकाे र पहिचानको आन्दोलनलाई नजिकबाट नियाल्दै गरेको नेपाली समाजलाई यी कविताहरूले निश्चय पनि रन्थनाउनेछ । अनुवादकलाई धन्यवाद । पश्चिम एसियाकाे युद्धको झङ्कार र प्यालेस्टाइनकाे चित्कार दक्षिण एसियामा बसिरहेका हामीलाई बाेध जाे गराउनुभयाे ।
पुुस्तक विवरण :
कृतिको नाम : जहाँ आमाहरू निदाउँदैनन् (कविता सङ्ग्रह)
पहिलो संस्करण : जुलाई , २०२४
अनुवादक : चन्द्र गुरुङ
प्रकाशक : लालीगुराँस प्रकाशनकाे तर्फबाट छेवाङ याेञ्जन
मूल्य : भारू १००, नेरू १६०
पृष्ठ : ८८
– मिहाङ