इलामको उपनिर्वाचन र पहिचानको आन्दोलन – लाहाङ चेम्जोङ
दुईतीनवटा कुराहरुले गर्दा हुदै गरेको इलाम क्षेत्र नं.२ को उपनिर्वाचन सारा नेपालीको लागि खास चासोको विषय भएको छ । हुनलाई त, लोकतान्त्रिक मुलुकमा निर्वाचनलाई उत्सव नै मानिन्छ । सामान्य त राजनीतिमा मानिने चुनावी उत्सव जति मात्र नभएर फरक ढङगले यो निर्वाचनलाई चासोको साथ हेर्न थालिएको छ । सो हुनको पछाडि, यो चुनाव विगतमा हुनेगरेको माओवादी, नेपाली कांग्रेस र एमालेको भिडन्त जस्तो मात्र हुदै छैन । यो चुनावमा उदाउदै गरेको रास्वपा र पहिचानवादीहरुको तर्फबाट स्वतन्त्र उम्मेद्वारको सशक्त उपस्थितिले पनि चुनाव खास बन्दै गईरहेको छ । श्रमदानको संस्कृति भित्र्याएको भनेर सर्वत्र हाइहाइ भईरहेका मेयर हर्क साम्पाङको हस्तक्षेपकारी उपस्थितिले झनै यो चुनाव थप रोचक बन्दै गईरहेको छ ।
प्रदेश नम्बर एकको नाम खुल्लाम् खुल्ला गरिने लोकतान्त्रिक विधिबाट नभएर लुकाएर गोप्यण् नामाङकरण गरिएपछि कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने एकबुँदे माग राखेर उदाएको पहिचानको आन्दोलनको कारण पनि एमाले र कांग्रेसको जितको हैकममाथि प्रश्न उठेको छ । एमालेको वर्चस्व कायम होला भनेर भन्न सकिने अवस्था छैन । पहिचानको आन्दोलनले शहिद लाजेहाङ लिम्बुलाई गुमाएको, थुप्रै कार्यकर्ताहरु अंगभंग भएको र अझै सयौं जेलमा मुद्दा खेपिरहेको हुनाले पहिचानको आन्दोलनको औचित्य पुष्टि गर्नलाई पनि यो चुनाव जित्नैपर्ने दबाबमा छन्, पहिचानवादीहरु । एकवर्ष लामो निरन्तर आन्दोलन गर्दै आईरहेको पहिचानवादीहरुको लागि यो चुनाव अवसर पनि हो । यो चुनाव जिते पहिचानको आन्दोलनमा ठूलो उपलब्धि हुनेवाला पनि छ । यो चुनाव सिङगो पहिचानवादीहरुका लागि गेम चेन्जर हुनेवाला पनि छ ।
पहिचान के हो ? राजनीतिक स्वार्थको लागि यो शब्दलाई पहिचान इतरकाहरुले गलत अर्थ लगाउन थालेका छन् । पहिचानको कुरा गर्नेहरुलाई जातिवादी संकीर्णताको अर्थबाट व्याख्या गर्न कोसिस भैरहेको छ । पहिचानवादीहरुका बुझाईमा पहिचान भन्नाले ‘आफू हुनुमा गर्व गरौं’ भन्ने न हो । आफू हुनुमा गर्व गर्दैगर्दा आफूलाई अरुले स्वीकारी दिओस्, र आफूले पनि अरुलाई स्वीकार्छु, भन्ने हो । यसको अन्तरामा सबैले सबैको इतिहास, सबैको संस्कार, संस्कृति, भाषा, जीवनशैली इत्यादिको गर्व पनि गरौं र सम्मान पनि गरौं भन्ने न हो । यो बुझाईको मनोविज्ञान सबैले जित्ने भन्ने छ । तर, राजनीतिक स्वार्थको लागि यति राम्रो र सर्वमान्य विषयलाई संकीर्णतासंग जोडेर अपव्याख्या गरिन्छ । यो गलत संस्कार हो । जानीजानी गरिएको यस्तो अपव्याख्याले केही स्वार्थ समुहलाई फाइदा त पुग्ला, तर अन्ततः द्वन्द्व निम्त्याउछ ।
नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हुने भएपछि सात प्रदेशमा पुनःसंरचना गरिने भयो । खैर ! प्रदेशको संख्या कम भयो । यति संख्याले सम्पूर्ण नेपालीहरुको पहिचान र भावनालाई सम्बोधन गर्न सक्दैन भनेर व्यापक असन्तुष्टि व्यक्त हुदै आइरहेको नै छ । यद्यपि, प्रदेश नम्बर एकको नाम के राख्ने ? कम्तिमा प्रदेशको सभामा व्यापक छलफल गरेर लोकतान्त्रिक अभ्यासबाट नामाङकरण गरेको भए पनि हुनेथियो, सो नगरेर रातारात उक्त प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानको आन्दोलनले ठाँउ पायो । कोशी प्रदेश कायम गरिए पनि यस क्षेत्रको आफ्नो पहिचान यो थिएन र यसको विरुद्धमा पहिचानको आन्दोलन करिब एकवर्षदेखि निरन्तर जारी छ । इतिहास, संस्कार, संस्कृति, भाषा, रहनसहन सबै दृष्टिकोणले यो क्षेत्रको पहिचान ‘कोशी’ होइन । यो कुरा सबैलाई थाह छ । यो क्षेत्रको ऐतिहासिक पहिचान लिम्बुवान, किरात खम्बुवान, धिमाल, लेप्चा, याख्खा, शेर्पा आदि हो भन्ने कुरा पनि सबैलाई थाह छ । कोशी पक्षधरहरुको एउटै तर्क छ, ती पहिचानहरु थोत्रा भईसके, आधुनिक पहिचानको खोजी गरौं भन्ने हो । पहिचान कहिल्यै थोत्रो हुदैन । यी पहिचानहरुको अस्विकार गर्ने तर्कवितर्क तथा डिस्कोर्स यति आत्मघाती छ कि यसको कुनै आधार छैन । यो डिस्कोर्सको आधार भनेको त्यहि एमाले, कांग्रेस र माओवादीको सत्ताको धङधङी मात्र हो । यी राजनीतिक दलहरु विगठन भएको भोलिदेखि कोशी प्रदेशको आधार पनि सकिन्छ ।
कोशी प्रदेशको गर्तमा यी क्षेत्रका कुनैपनि पहिचानहरु छैनन् । यहाँका सबैखाले पहिचान मन नपराएकाहरुले जबरजस्त कोशी प्रदेशको नामाङकरण गरेर गए, जुन त्यहाँका जनताले आन्दोलन मार्फत अस्विकार गरीदिए । यही आन्दोलनको दौडानमा इलामको उपचुनाव जनताका आगनमा आएको छ । सारा नेपाली जनता योबेला इलामका जनताले कस्तो विवेक प्रकट गर्दछन् भनेर हेरिरहेका छन् ।
इलामेली जनताको काँधमा ऐतिहासिक अभिभारा आएको छ । सारा दुनियाले यतिबेला इलामेली जनताले यो चुनावमा कस्तो अभिमत प्रकट गर्छन् होला । हेर्दा र सुन्दा, यो एउटा क्षेत्र हो, एकजना सांसदले जित्ने हो । तर, अर्को पनि पक्ष छ, यदि इलामेली जनताले सही अभिमत प्रकट गरेको खण्डमा पुरै देशको इतिहास बदल्नेवाला छ । यो क्षेत्रको नाम यहाँको पहिचान झल्कने गरी नामाङकरण गरौं भनेर आन्दोलन गर्दैगर्दा यहाँको जनप्रतिनिधि स्वर्गिय सुवास नेम्बाङको पार्टीको अध्यक्ष केपी ओलीले आतङकारी भन्दै लाठीगोली ठोक्न लगाए र आन्दोलनकर्मी लाजेहाङ लिम्बुले ज्यान गुमाउनु प¥यो । त्यसपछि, यो प्रदेशका जनता आक्रोशित छन् । आफ्नो पहिचानको कुरा गर्दा आफ्नै ऐतिहासिक भुमिमा मारिनुपर्ने राजनीतिक दुष्टता छ । यो स्थितिको निर्माण पनि जनता आफैले गरेका हुन् र यो स्थितिबाट अर्को स्थितिमा परिस्थितिलाई सुधार गर्ने अथवा यो स्थितिबाट मुक्त पनि जनता आफैले हुने हो । अब, यस्ताखाले नीच राजनीतिको घेराहरु तोड्ने शुरुवाती गेट इलामेली जनताले निर्माण गर्न सक्नेछन् । इलामेली जनता त्यो प्रस्थानबिन्दु बन्न सक्नेछन्– सबैको पहिचानको सम्मान गर, सबैले जितेको अनुभूति हुने खालको राजनीति गर, होइनभने बिदा हुनलाई तयार हुनु । इलामेली जनताले बैशाख १५ गते निर्वाचनमार्फत चाहेको व्याक्तिलाई जिताउन पनि सक्नेछन्, बिदा दिन पनि सक्नेछन् । इलामेली जनताको हातमा त्यो शक्ति आएको छ । त्यो परीक्षा पनि आएको छ ।
यदि इलामेली जनताले पहिचानको पक्षमा मत प्रकट गरे, बैशाख १६ गतेबाट पहिचानको राजनीतिले कोल्टे फेर्नेवाला छ । पहिचानको राजनीतिले पूर्वबाट पश्चिमसम्म आफ्नो दायरा बढाउदै लग्नेवाला छ । पुरै देशको इतिहास नयाँ ढङगले कोरिनेवाला छ । तसर्थ, यो उपचुनाव केवल एकजना सांसद जिताउन उद्वत छैन । इलामेली जनताले पुरै देशको इतिहास बदल्न सक्ने सामथ्र्य पनि राख्दछन् भनेर प्रमाणित गर्ने अवसर पनि हो । त्यसो त ! राजनीतिमा ऐतिहासिक योगदान गर्दै आईरहेको राजनीतिले उर्वर भूमि हो, इलाम । पहिचानको सन्दर्भमा झनै सशक्त र बलिदानी राजनीतिक भूमिका निर्वाह गरिएको क्षेत्र हो, इलाम । ऐतिहासिक पहिचान तथा लिम्बुवान पहिचानको लागि जीवन आहुति दिने बिजयबहादुर लिम्बुको क्षेत्र हो, इलाम । पछिल्लो पटक लिम्बुवानको आन्दोलनमा मारिएका राजकुमार आङदेम्बे ‘माङतोक’ को क्षेत्र हो, इलाम ।
त्यसैगरी, भाषाप्रति असाध्यै मोह भएका युवा नेता देउमाइको किनारामा मारिएका रत्नकुमार वान्तवाको पनि क्षेत्र इलाम भएकोले यहाँका जनताले पहिचानको बोध असाध्यै मजाले गरेको हुनुपर्दछ । ती शहिद वान्तवाको सहादतलाई बेचेर खानेहरुले उनको पहिचान र पहिचानप्रतिको उनको मोहलाई मात्र एउटा मूर्ति इलाम बजारको फेदमा ठड्याए र उनको जीवन आहुतिलाई सिधै उडाए । उनको साच्चिकै सम्मान चाँहि त्योबेला हुन्छ, जब पहिचानको राजनीतिले दायरा बढाउदै जानेछ र सबैले जित्ने राजनीतिक व्यवस्थाको प्रारम्भ हुन्छ । नत्र, किन रत्नकुमार वान्तवाले वान्तवा भाषामा गीत लेख्थे । उनको पहिचानप्रतिको मोहलाई लुकाएर, कम्युनिष्टहरुले उनको नाममा राजनीतिक व्यापार गरे र खाए । यसको पनि हिसाबकिताब गर्ने अवसर हो, यो चुनाव ।
जदाजादै, यो उपनिर्वाचन चौरासीमा हुने आमचुनावको अन्दाज पनि हो । रैथाने पहिचानलाई सिन्को नगन्ने राजनीतिक दल र तिनका नेताहरुलाई नराम्ररी जिल्याउदै इलामेली जनता आतङकारी हुन् कि पहिचानवादी हुन् प्रमाणित गरेर देखाउनु पर्दछ । अब आउने चौरासीको चुनावले कस्तो राजनीतिक विचारलाई स्वागत गर्ने रहेछ भन्ने प्रष्ट अन्दाज दिन सक्नुपर्दछ । सबैले जित्ने र सबैले गर्व गर्ने राजनीतिक निर्णयहरु गरेर जाउ भन्ने आदेश इलामेली जनताले दिन सक्नुपर्दछ । पहिचान संकीर्णता होइन, यो गर्वको कुरा हो भन्ने मनोविज्ञान स्थापित गर्नुपर्दछ । इलामेली जनताले आफ्नो अमूल्य मतको माध्यमबाट पहिचानको आन्दोलनलाई न्याय गर्नुपर्दछ । कथंकदाचित् भौतिक लोभ र लालचमा फसेर अमूल्य मतको दुरुपयोेग हुन गए, इलामेली जनता पनि पहिचान आन्दोलनको ओरालो यात्राको एक भागीदार हुनेवाला छन् । अमूल्य मतको दुरुपयोग होइन, विवेकले सुन्दर इतिहास लेखौं ।