आदिवासी

आदिवासी जनजातिको संस्कृति प्रवर्द्धन गर्न महोत्सव चितवनमा हुने

मुग्लिन (चितवन), २३ फागुन : आदिवासी जनजातिको समुदायको भाषा, संस्कृति प्रवर्द्धन गर्न चितवनमा ‘आदिवासी जनजाति’ महोत्सव हुने भएको छ । आगामी चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव’ हुने भएको हो ।

महोत्सवस्थलमा सङ्गठित भएका सबै आदिवासी जनजाति समुदायको जातीय पहिचान झल्किने गरी जनजाति परिसर निर्माण गरिने आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला समन्वय परिषद्ले जनाएको छ ।

परिसरबाटै समुदायको सांस्कृतिक पहिचान झल्काउने प्रयास गरिने महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आदिवासी जनजातिको सांस्कृतिक घर तथा जातीय पहिचान झल्किने खालका छुट्टै परिसर निर्माण गर्दैछौँ । त्यही नै महोत्सवको मुख्य आकर्षक हुने विश्वास लिएका छौँ ।”

यहाँका आदिवासी जनजाति समुदायको संस्कृति र पहिचानलाई विश्वव्यापी गराउने उद्देश्यले महोत्सवको तयारी गरिएको उहाँको भनाइ छ । यसका साथै ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई सार्थक तुल्याउन पनि यो महोत्सवले टेवा पु¥याउने आयोजकले दाबी गरेको छ ।

आदिवासी जनजाति समुदायको परिसरसहित करिब तीन सय प्रदर्शनी कक्ष रहने महोत्सव अवधिभरमा चितवनमा बसोबास गर्दै आएका सम्पूर्ण आदिवासी जनजाति समुदायको जातीय पहिचान झल्किने सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसबाहेक हरेक दिन ख्यातिप्राप्त कलाकारमार्फत गीतसङ्गीतको माध्यमबाट मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सवमार्फत जातीय पहिचानसँगै समग्र जिल्लाको आर्थिक तथा पर्यटन प्रवर्द्धन हुने संयोजक दुराले जानकारी दिनुभयो । महोत्सव सम्पन्न गर्नका लागि नौरङ्गेस्थित आदिवासी जनजाति महासङ्घको कार्यालयमा सचिवालय स्थापना गरेर तयारी भइरहेको उहाँको भनाइ छ ।

चितवनमा बसोबास गर्दै आएका उक्त समुदायको जातिगत गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न, यहाँको आर्थिक गतिविधि चलायमान बनाउन, पर्यटन प्रव्रद्धन गर्न महोत्सव महत्पूर्ण हुने महासङ्घका सल्लाहकार एवंं पूर्वअध्यक्ष पदमबहादुर गुरूङले बताउनुभयो । करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने महोत्सव सम्पन्न गर्न रू ८० लाख खर्चको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा करिब रू एक करोडको हाराहारीमा कारोबार हुने लक्ष्य लिइएको छ । महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार चितवनमा ४० जातिका आदिवासी जनजाति समुदाय बसोबास गर्दछन् छन् । तीमध्ये १८ जाति महासङ्घमा सङ्गठित छन् । तीन लाख ३२ हजार भन्दाबढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचानमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको पूर्वअध्यक्ष पदमबहादुर गुरूङले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button