लेख

नेतृत्वमा अदृश्य दबाब

निमा काफ्ले/काठमाडौँ, ८ माघ (रासस) : स्वीजरल्याण्डको डाबोसमा वल्ड इकोनोमी फोरमको ५४औँ वार्षिक सम्मेलन भर्खरै सम्पन्न भएको छ । क्लाउस स्वाबको एलिट क्लब मानिने यो फोरममा पछिल्लो केही वर्षहरुमा थोरै नेपालीहरुको उपस्थिति रहेको थियो । सन् २०२४ को आर्थिक र राजनीतिक एजेण्डा तय गर्न डाबोस यो पटक सफल होला या नहोला त्यो समयले बताउने छ । तर त्यहाँ देखिएका केही अप्रत्यासित परिदृश्यले यो फोरमको परम्परागत र बर्चश्वशाली कोरियोग्राफीलाई भने भत्काइदिएको छ । यही सम्मेलनकै बीचमा फ्रान्सबाट अर्का सुखद समाचार आएको छ, प्रधानमन्त्रीकारुपमा गाब्रियल अटलको नियुक्तिको रुपमा, त्यो पनि फ्रान्सकै कान्छो र पहिलो समलिङ्गीको रुपमा । यो खबर यतिखेर विश्वभरिका यौनिक अल्पसङ्ख्यकहरुको लागि गर्व गर्न लायक विषय बनेको छ ।

यस्ता धेरै कोणबाट सन् २०२४ रोचक बन्ने देखिन्छ । विश्वभरिमा सबैभन्दा बढी देशमा निर्वाचन हुने यो वर्ष अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनको चर्चा सबैभन्दा बढी हुने अनुमान गर्न सकिन्छ । यता भारतको उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको उद्घाटन धार्मिकभन्दा राजनीतिक सेन्टर स्टेजमा बन्दै गर्दा नरेन्द्र मोदीको उदयलाई २०२४ ले नवीकरण गर्ने निश्चित प्रायः देखिन्छ । गाब्रीयल, ट्रम्प अथवा मोदीको चर्चा गर्दै गर्दा विभिन्न दृष्टिकोणबाट विश्लेषण गरिरहँदा नेपाली समाजमा नयाँ पुस्ताका लागि भने हामीले के उदाहरण प्रस्तुत गरिरहेका छौ, थोरै चर्चा गरौँ ।

हामी सबैले बुझेको कुरो के हो भने प्राकृतिक हिसाबले हरेक वस्तु, व्यक्ति वा विषयको उत्पत्ति, विकास र हस्तान्तरणको एउटा प्रक्रिया हुन्छ । अझ भनौं चक्र हुन्छ । सन् २०२४ सम्म आएको यस्ता विषयवस्तुहरु नियाल्दा यो नियमित र स्वभाविक देखिन्छ । यसलाई प्राकृतिक सिद्धान्तको रुपमा लिन सकिन्छ । अझ समाज विकासका सन्दर्भमा कुरा गर्नुपर्दा सामाजिक प्रणालीको निर्माण विकास र हस्तान्तरणमा नेतृत्वको सन्दर्भ पनि प्राकृतिक रुपमै श्रृङ्खलाबद्ध भएको हुन्छ । यहाँ चर्चा नेपालको थोरै सामाजिक परिवेशको गरौँ । अहिले सामुदायिक निकायहरु वा सरकारी, गैरसरकारी सङ्घसंस्था वा राजनीतिक दलहरु सबैतिर निर्वाचनका प्रक्रियाहरुमार्फत नेतृत्व चयन भइरहेको देखिन्छ । यस प्रकृयाको आफ्ना विधि विधान, कार्यकाल, कार्यपद्धति वा प्रक्रियाहरुका आफनै सीमा हुन्छन् । यी सबै पक्षहरु समय अनुसार अद्यावधिक, परिमार्जित र समयानुकूल बनाउन खोजिएको हुन्छ । तर हामी आबद्ध सङ्घसंस्थाहरु, पेशागत वा आस्थाका हिसाबले जोेडिएका सङ्गठनहरु अध्ययन गर्ने हो भने पनि एउटा यस्तो स्वरुप हाम्रा अगाडि देखिन्छ कि अघिल्लो नेतृत्वकै छायाँमा नयाँ नेतृत्व अल्मलिइरहेको छ ।

सङ्घसंस्थाहरुमा नेतृत्वका सन्दर्भमा लिएर जुन किसिमको निराशाहरु अहिले देखिन्छ त्यसको एउटा कारण पुस्तान्तरणको सवाल र नेतृत्व विकास र हस्तान्तरणमा देखिएको गतिरोध नै हो । हरेक ठाउँमा सिकाइ र विज्ञताका क्षमताका आधारमा भन्दा नेतृत्वको पुस्ताका आधारमा मोर्चाबन्दी भइरहेको देखिन्छ । नयाँ पुस्ताले कुनै नवीनतम् ज्ञान वा सिकाइका आधारमा अवधारणा वा योजनाहरु अगाडि सारेको खण्डमा पुरानाले अपमानित महसुस गर्ने वा आफूलाई बाहिर राख्न खोजेको महसुस गर्ने खालको अवस्था छ भने पुरानाहरुले आफ्नै समयका विधिहरु, तौरतरिका र इतिहास सुनाउँदा नयाँले समय अनुसार हिँड्न नसकेको महसुस गर्ने अवस्थाहरु निर्माण भइरहेको छ । यसरी हेर्दा नयाँले अग्रजको इतिहास र सिकाइलाई पनि नस्वीकारेको अनि पुरानाले नयाँको नवीनतम् ज्ञान र प्रविधिसहितको क्षमतालाई पनि नस्वीकारेको स्पष्टै देखिन्छ ।

यस्ता सङ्घसंस्थाको नेतृत्वमा पितृसत्तात्मक सोचले काम गरेको देखिन्छ । यो सोचमा संस्थागत संस्कार, काम गर्ने क्षमता, सोच, बल, सक्रियता आदिका आधारमा बलियोले निर्धोलाई दबाइरहेको छ । अझ भनौं यही सोचका उपज पुरुषहरुबाट महिलाहरु धेरै हिसाबले दबित छन् । उत्पीडित र प्रभावित छन् । अझ नेतृत्व विकासका उल्लेखित समस्याहरु महिलाहरुले सञ्चालन गर्ने अभियानहरुमा देखिएको पाइन्छ । पुरुषले नेतृत्व गरेका संस्थाहरुमा पुस्ताका आधारमा कार्यशैलीमा समस्या सिर्जना भए विद्रोह वा विभाजनकै अवस्था निर्माण पनि भएका छन् तर महिलाहरुले सञ्चालन गरेका संस्थाहरुमा पुस्ताका प्रभावले संस्थाहरु काम गर्न न विघटन हुनुको अवस्थामा छन् । विभाजन वा विघटन हुन पनि नसक्ने र सिर्जनशील हुन पनि नसक्ने अवस्थामा अल्झिरहेको अवस्था छ ।

महिलाहरुद्वारा स्थापित र सञ्चालित संस्थाहरुमा संस्थापकहरु सक्रिय छउञ्जेल उनीहरुको निरन्तर निर्देशन लिइरहनुपर्ने नयाँ पुस्ताको बाध्यता जस्तै देखिन्छ । १८औँदेखि १९औँ शताब्दीको बीचमा युरोप र उत्तर अमेरिकामा महिलाहरुका लागि शैक्षिक विकासका लागि भएका प्रयत्न आधुनिक मानव समाजमा महिला केन्द्रित सामाजिक विकासका प्रयासहरु हुन् । बेलायतमा सन् १८४८ मा स्थापना भएको क्विन्स कलेजको स्थापना सन्दर्भ र योगदानले महिलाहरुको सामाजिक विकासमा भएको इतिहास झल्काउँछ । तर यो इतिहासको निरन्तरता र हस्तान्तरण समयअनुकूल भयो त ? यो गम्भीर प्रश्न छ । यो विकासको अवरोध पुरुष सत्ता मात्रै भयो कि महिलाहरुबीचमा हुनुपर्ने एकता, रुपान्तरण र नयाँ निर्माणको अभिरुची पनि जिम्मेवार छ ।

महिलाहरुका लागि निर्माण भएका भनिएका विधि वा संरचनाहरुको संरक्षण विकासमा महिलाहरुकै पहल पनि अपेक्षित हुन नसक्नुको कारणहरु पनि खोज्दै गर्दा महिलाहरुकै पुस्तान्तरणका समस्या पनि देखिन्छन् । अग्रज नेतृत्वको समयअनुसारका शैलीमै नयाँ चल्नुपरेको अवस्था पनि यो विकासको गतिरोधको कारण हो भन्न सकिन्छ । तथ्याङ्कमै मापन गर्न सकिने अवस्था नभए पनि आफैंभित्रका समस्याहरुलाई पनि हेर्ने अभ्यास गर्नुपर्छ ।

नेपाली सन्दर्भमा हेनुपर्दा महिलाका सवालमा स्थापना भएका सङ्घसंस्थाहरुको स्वरुप, संरचना उद्देश्य र कार्यशैलीमा देखिन नसकेको नवीनता र पृथकताको कारण खोज्न जरुरी भइसकेको छ । सामाजिक विद्रोहमा योगमायाले सुरु गरेको अभियानदेखि साहना प्रधान, साधना प्रधान र मंगलादेवीहरुले संस्थागत गरेको राजनीतिक एजेण्डा नै आजका दिनसम्म पनि निरन्तर उही शैलीमै गइरहनु पनि हाम्रो महिला आन्दोलन विकासको एउटा अवरोध हो । नयाँ पुस्ताले भोगेका समस्या, प्राप्त गरेका ज्ञान र उपलब्धिहरुलाई किन संस्थागत गर्न सकिएको छैन ? किन सिङ्गै आन्दोलनले यो नयाँ सोचलाई स्वामित्व ग्रहण गर्न सकेको छैन ? के आजका राजनीतिक मुद्दाहरु भिन्न ढङ्गले उठ्दै राजनीतिको मूल प्रभाहमा स्थापित भए त ? यो गम्भीर प्रश्न छ ।

यस्तै नेपाली पत्रकारितामा कुमारी कामाक्षदेवी र साधना प्रधानले सुरु गरेर पत्रकारिता तथा महिला पत्रकारहरुको सङ्गठनको निर्माण हुँदै गर्दाका एजेण्डा र अवस्थाहरु नै आज पनि त्यसकै निरन्तरताले धान्न सक्छ ? यी विषयहरु पत्रकारितामा अझ महिला पत्रकारहरुले सोच्नुपर्ने विषय हो । उदाहरणका लागि, टाइम म्यागजिनले सन् २०२४ को ‘पर्सन अफ द इयर’मा टेलर स्वीफ्टलाई कभर पेजमा राखेर मेन स्ट्रीम बहसमामा एक महिला गायिकालाई स्थान दिने र परम्परागत पत्रकारिताको अवधारणालाई भत्काउने साहस नेपाली पत्रकारिताले देखाउन सक्छ ? के हामीले तीन दशकमा जुन पत्रकारिताको साहित्य बोक्यौँ अब त्यसलाई मात्र निरन्तरता दिने कि बदलिँदो विश्व व्यवस्थालाई हेर्दै समयसापेक्ष बनाउने ?

गौरी रायमाझीले सुरु गरेको महिला उद्यमशीलता र आत्मनिर्भरताको एजेण्डा आजका महिला उद्यमशीलता अभियानका नेतृत्वहरुसम्म आइपुग्दा पर्याप्त छन् त ? हरेक इतिहास निर्माणमा देखिएका पात्रहरु पनि प्रभाव पहुँचका आधारमा नै स्थापित भएको पनि त भन्न सकिन्छ । देशका कुनाकुना, दूरदराजमा भएका प्रयासहरु पनि त इतिहासमा संस्थागत हुन सकेका छैनन् । अझ अहिले पनि अघिल्लो पुस्ताकै निरन्तरता र निर्देशनमा सीमित रहने हो भने नयाँ खोजी र दस्तावेजीकरणको काम अलपत्र हुने देखिन्छ ।

राजनीति, पत्रकारिता, सामाजिक सङ्घसंस्था वा उद्यमशीलता प्रवद्र्धनका हरेक क्षेत्रमा देखिएको अग्रजको ‘लिडरसीप ह्याङओभर’ले महिला आन्दोलनको समग्रतामा पनि अग्रजहरुको पुरातन शैलीको ‘फेमिनिज्म’ मात्रै संस्थागत गर्ने कि सिर्जनात्मकता र क्षमताका आधारमा नयाँ इतिहास निर्माण गर्ने ? आफ्नो विचार वा नवप्रवद्र्धन लागु गर्न नसक्ने अवस्था हो भने पहिलेकै व्यक्तिहरुले देखाएको आधारमा मात्रै हस्तान्तरण भयो भने इतिहासकै निरन्तरता त हुन्छ त्यहाँ नयाँ निर्माण भएको मान्न सकिँदैन । यही अवस्थाकै कारण सिर्जनात्मक क्षमता भएकाहरु विस्थापित वा पलायन हुने र पहिलेकै आधारमा स्थापित भएकाहरुले गर्न नसक्ने भएका कारण अझै दशकसम्म यही सोच रहिरहन्छ । तसर्थ नयाँ पुस्ताका महिला अधिकारकर्मीहरुमा नजानिँदो प्रभाव (अननोइङ ह्याङओभर) ले पुरानाहरुबाट सिक्दै र अनुभव लिँदै आफ्नो नवीन सोचलाई नेतृत्व तहमा ल्याउन सकेमा मात्र नव ‘फेमिनिज्म’को बदलिदो स्वरुपमा आफ्नोपन वा आफ्नो अवधारणा कायम गर्न सक्नुपर्छ । पुरानो ‘फेमिनिज्म’को सोचमा मात्र रुमलिए भने बदलिँदै गएको महिलावादी अवधारणामा आफूलाई स्थापित गर्न सक्दैनन् । (लेखक पत्रकार हुनुहुन्छ)

Related Articles

Leave a Reply

Back to top button