मुक्कुमलुङ/सेमुक्तुगोक/पाथीभरा केबलकार अतिक्रमण विरुद्ध आन्दोलनमा आपसी दाउपेजमा हुनसक्ने घाटा र दुर्घटना
विश्वास दीप तिगेला
![](https://nepalisamachar.com/wp-content/uploads/2023/12/mukkumlung.jpeg)
अहिले पूवी नेपालको ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्कुमलुङ अर्थात पाथीभरामा केबलकार बनाउने वा नबनाउने भन्ने विवाद चर्किएको छ । त्यहाका स्थानीय समुदायको आस्था र विश्वासको ठाँउ, शक्तिपीठ नेचुरल हुनुपर्छ, आस्थाको ठाँउलाई आर्थिक लाभको दृष्टिकोणले हेर्नुहुदैन भनेर अहिले असाधारण आन्दोलन चलिरहेको छ ।
आन्दोलनमा स्वतःस्फूर्त जनताहरु सहभागी हुनेक्रम बढ्दो छ । केबलकार बनाउन तम्सिएका एकजना ब्यापारी चन्द्र ढकालको पक्षबाट शसस्त्र प्रहरीबल अनेक बहानामा दमनमा उत्रिएको छ । राज्यको दायित्व मुक्कुमलुङ जस्ता मूर्तअमूर्त सम्पदाहरुको संरक्षण गर्नुपर्ने हो तर ब्यापारीको प्रभावमा सिंगो सरकार नै मुक्कुमलुङ अतिक्रमण गरि, पवित्रस्थलमा फोहर मैला हुने गरि धार्मिकस्थललाई डेटिङस्पटको रुपमा परिवर्तन गर्न उद्द्धेलित देखिन्छ, त्यसैले स्थानीय जनता आन्दोलित छन् । मुक्कुमलुङमा चलेको जस्तो आन्दोलन अन्य मुलुकहरुमा पनि आदिवासी र सरकार पक्षबीच, प्राईभेट कम्पनी बीच भएको विवादमा न्यायलय सम्म पुगेर अन्ततः आदिवासीहरुको पक्षमा फैसला भएको कैयौ उद्धाहरण पाईन्छन् । भारत उडिसाको नियामगिरी पहाडलाई डोंगरिया कोन्ध आदिवासीहरुले आफ्नो पवित्रस्थाल र शक्ति पीठको रुपमा मान्दथे तर आल्मुनियम बनाउने धातुको खानी उत्खनन गर्नेक्रममा उत्खनन गर्ने कम्पनीलाई आदिवासीहरुले रोके र प्रहरीसंग झडप पटकपटक भयो अन्ततः भारतको सर्वोच्च अदालतले आदिवासीहरुको पक्षमा सन् २०१३ मा फैसला गरेपछि सो योजना स्थगित/बन्द भयो ।
अष्ट्रेलियाको उलुरु पहाड (Uluru, Ayers Rock, Australia) मा पर्यटकलाई रक क्लाम्बिङ गर्न दिदै आएको कारण आदिवासी उलुरुहरुले आफ्नो आस्थाको पहाडको अपमान गरेको भनी विद्रोह गरेपछि केहीबर्ष अघि सन् २०१९ देखि चढन बन्द गरियो । हिन्दुहरुको पबित्रस्थल कैलाश पर्वतमा केबलकार बनाउने त के आरोहण गर्न पनि दिइन्न । एक अमेरिकन हवाई राज्यको मौना कई पहाडमा खगोलिय अन्वेषणको लागि दुरवीन राखेको कारण हवाईन आदिवासीहरु आफ्नो आस्थाको पहाडको पबित्रता बचाउन सघर्षरत छन् । यसरी जातिको, धर्मको आस्थाको केन्द्र कसैले अतिक्रमण गरेको खण्डमा ज्यानै दिएर रक्षाको लागि लड्ने विश्व प्रचलन देखिन्छ ।
मुक्कुमलुङ अतिक्रमण विरुद्धको आन्दोलनको आयाम पनि घत लाग्दा छन् । मुक्कुमलुङमा नो केबलकार आन्दोलन अघि नो कोशी आन्दोलन अर्थात प्रदेश न १ को नाम भारतीय विरासत बोक्ने कोशी नामाकरण अस्वीकार गरि किरात–लिम्बुवान नामाकरण हुनुपर्ने मागको आन्दोलन चलिरहेको थियो र छ । नो कोशीको आन्दोलनले लिम्बु, खम्बु लगायत सबै समुदायलाई एकैठाँउमा उभिन बाँध्य पारेसँगै मुक्कुमलुङमा नो केबलकार आन्दोलन पनि शसक्त बन्न पुग्यो । नो केबलकार आन्दोलनका नेतृत्वहरुको योगदान प्रसंसनीय छ तथापी आलोचना गर्ने ठाँउहरु पनि भेटिन्छन ।
नो कोशी र मुक्कुमलुङमा नो केबलकारमा कुमार लिङदेन ’मिराक’ नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद अग्रमोर्चामा खटिए र सयुक्त पहलमा मोर्चाले एउटा आकार लियो अफसोच त्यस लगतै पहिचानवादी मोर्चा भनी अर्कैले स्वामित्व लिए । लिङदेन बोल्नसक्ने कला भएका र लेख्न सक्ने क्षमता भएका तथापी कार्यकर्ता जोगाउन नसक्ने डिफेन्सिफ अवस्थाका नेता हुन तथापी आन्दोलन गम्भिर मोडमा पुगेको बेला उनैले नेतृत्व गरेको पार्टीबाट धेरैले अपेक्षा गरेको भेटियो । लिङदेनको पार्टीबाट ३ जना शहिद बनि सकेको कारण पनि उनको पार्टी संस्थागत भईसकेको पार्टीको रुपमा लिनुपर्ने हुन्छ । अर्का नेता किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रध्यापक प्रेम एक्तेन जो त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र विषय नै पढाउछन, उनको नेतृत्व पनि लोभलाग्दो छ । नेतृत्वकै अग्रपक्तिमा आउने नाम हुन चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापो, प्रोफेसर महेन्द्र लावती, डकेन्द्रसिं थेगिम, जेन्टल लावती, राम मादेन, नन्द कन्दङवा, शंकर लिम्बु लगायत दर्जनौ छन् ।
ताप्लेजुङमा विभिन्न सघर्ष समितिहरु बनेका छन् त्यसमध्ये मुक्कुमलुंग संयुक्त सघर्ष समितिका अध्यक्ष सिरी लिङखिम, केबलकार खारेजी सघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बू, मुक्कुमलुङ फासिङ ताङसिङ प्रतिनीधि सरु सिंगक लगायत रहेको पाइन्छ । तिनै स्थानीय नेतृत्वहरुले नै नो केबलकारको आन्दोलनलाई सार्थक बनाई रहेका छन । आन्दोलनमा स्थानीयबासीहरुको पनि साथसमर्थन रहेको प्रष्ट छ कारण केबलकार निर्माण भएको खण्डमा ताप्लेजुङ बजार, तल्लो फेदी, माथिल्लो फेदी खण्डहरमा रुपान्तरण हुनेछ । पहिलो कारण तिर्थालु, दर्शनार्थीहरु धरान विर्तामोडबाट शिधै गाडीमा आउछन त्यहि दिन फर्कन्छन, उनीहरु ताप्लेजुङमा एकरात बस्नुको त के कुरा एककप चिया पनि किनेर खाने छैनन । दोस्रो धरान, विर्तामोड र ताप्लेजुङ बजारबाटै केबलकारको आफ्नै वसले शिधै तिर्थालु टिप्छन र सिधै केबलकारमा पुरयाउछन र फर्काउछन । गोर्खाको मनकामना दर्शनको लागि काठमाडौंबाटै आफ्नै वसमा लैजाने गरेका छन । मुक्कुमलुङमा पनि त्यसै गर्नेछन त्यसैले ताप्लेजुङ बजारबाट तल्लोफेदीसम्म यातायात चलाएर जिविका चलाएकाहरुको गाँस समेत खोसिने छ । भरिया र ताप्लेजुङ बजारको ब्यापारीहरुको कन्त बिजोग नै हुनसक्छ । सम्भवतः पहाडी क्षेत्रका शहरहरु मध्ये अहिलेको ताप्लेजुङ बजार भरिभराउ, चहलपहल भएको बजार हो, केबलकार निर्माण पछि सम्भवतः धनकुटा बजार जस्तै सुनसान, मृत शहरमा रुपान्तरण हुन सक्दछ ।
सामान्यतयाः आस्था र विश्वासको शक्तिपीठहरुमा भौतिक संरचना बनाईन्दैन र बनाउन दिईन्न मुक्कुमलुङ जस्तै बद्री केदारनाथमा समय लगाएर हिडेरै वा भरिया मार्फत दर्शनको जानुपर्दछ । धार्मिक दर्शनमा दुःख कष्ट गरेर पुग्नुपर्दछ भन्ने पनि मान्यता रहेको छ । त्यति मात्र होइन जाति समुदायको आस्थाको केन्द्रमा कुनै अतिक्रमण हुनुहुदैन भन्ने विश्व मान्यता रहेको छ । गोर्खा जिल्लाको मनोकामना मन्दिर नियमित जाने तिर्थालुहरु केबलकार बनेपछि जान छोडेको पनि पाईयो, सुविधाले शक्तिपीठको प्रभावमा समेत असर गरेको पनि मान्न सकिने देखिन्छ ।
स्थानीयवासीहरु, मुक्कुमलुङलाई आस्था र विश्वासको केन्द्र (Sacred Site) को रुपमा लिनेहरु केबलकार निर्माण जस्ता अतिक्रमण रोकिनुपर्छ भनीरहेको बखत किन केही संगठनहरु चाहि मौन छन त? कुन कुराहरुमा नेतृत्वहरु चुकिरहेका छन?
आन्दोलनका नेतृत्वहरुले ख्यालगर्नुपर्ने कुरा –सरकारको नीतिगत बेईमानी अर्थात भ्रष्टाचार सिंहदरबार भित्रै देखिन्छ । एक ब्यापारीको फाइदाको निमित्त बन्न लागेको पाथीभरा केबलकार प्रदेशको गौरवको आयोजना कसरी हुनसक्छ? र एक ब्यापारीले कसरी राज्यको करबाट जागिर खाने शसस्त्रप्रहरीलाई दुरुपयोग गरिरहेको छ? प्रष्ट कुरा यो पाथीभरामा केबलकार निर्माण नेपाल सरकारले गर्नेहोइन, नेपाल सरकारको बार्षिक तथा बहूबर्षिय योजना अन्तर्गतको बजेटले निर्माण हुने होइन र ब्यापारी चन्द्र ढकालको प्राईभेट प्रहरी, शसस्त्र प्रहरी होइनन भने किन तिनै प्रहरीको जागिरको निमित्त जसले कर तिरीरहेका छन उनीहरुले आफ्नो आस्थाको केन्द्र जोगाऔ भन्दा किन गोली हानीरहेका छन?
केबलकार निर्माण विकासको निमित्त भन्ने हो भने सुकेटारबाट तल्लो फेदीसम्म जाने रोड किन ग्याबल वा पीच नगरेको? सामान्यतया शिक्षा, स्वास्थ्य, यातायातसँग जोडिएको संरचना विकास हो तर त्यो केबलकार ती कुराहरुसँग जोडिन्न । विद्यालय जान वा स्वास्थ्य चौकी जानको निमित्त बनाईएको भए विकास मान्न सकिन्थ्यो तर त्यसो होइन त्यसैले यो विकास होइन अतिक्रमण हो । कसैको घरको घुर्यानमा तैले साग सपार्न सकिनस त्यसैले मैले रोप्छु र खान्छु भन्नुजस्तै हो । अर्काको घुर्यान मिच्नु जस्तै हो, घुर्यानको मालिक त्यहि घरधनी हुन्छ, हुनुपर्छ । अर्काको घुर्यानमा आम्दानी देख्ने बित्तिकै हडप्ने कार्य सर्वाधिक गलत हो ।
आन्तरिकद्धन्द्धः मुक्कुमलुङ नजिक बसोबास गर्नेहरुमा सबै जातिहरु छन तथापी संख्यात्मक र ऐतिहासिक हिसाबबाट याक्थुङ/लिम्बुहरुको विरासत र घनत्व बढि छ । लिम्बुहरुमा लारुम्बा नजिकका सत्यहाँड प्रवृति र युमा प्रवृति अर्थात युमा साम्यो महासभा र याक्थुङ चुम्लुङ छ । युमा प्रवृतिलाई मुक्कुमलुङमा माङहिम खडा गरेको, महागुरु फाल्गुनन्द र च्याब्रुङको प्रतिमा खडा गरेकोमा विमति छ तर माङहिम र प्रतिमाले ओगटेको भन्दा धेरै जग्गा ओगटेको आधा दर्जन एनजीओ भवनहरु र करिब एक किमी दुरीको बाटोको छानोको चाहि खासै चर्चा र विरोध गर्दैनन् । त्यसले के देखाउछ भने सत्यहाँङले बनाएको संरचनाको चाहि विरोध गरेको तर अरुले बनाएको संरचनाको चाहि विरोध नगरेको देखिन्छ । आन्दोलनकर्मीहरु मुक्कुमलुङ नामाकरण गरि अगाडी बढेको अवस्था छ भने युमा पक्षधर चाहि सेमुक्तुगोक, मुक्तिफोमाङ, साङसिङ मुक्तिकोक्मा नामाकरण गरिनुपर्छ भन्ने माग गरेको देखिन्छ । मुक्कुमलुङ नामबाट केन्द्रीत आन्दोलनकर्मीहरु एकजना ब्यापारीको शक्तिसँग पराजित हुने अवस्थामा पुग्नै लाग्दा समेत युमा साम्यो महासभा चाहि आन्दोलनकर्मीहरुलाई कमजोर बनाउने, असहयोग गर्ने अर्थात तठस्थ रहेको सवाल खण्डनयोग्य छ । एक ब्यापारीको शक्तिले पटकपटक करिब आधा दर्जन आन्दोलनकर्मीहरुलाई गोली हानेको यो संगीनघडिमा युमासाम्यो महासभा पनि आन्दोलनको अग्रमोर्चाका आएर महासभाको औचित्य देखाउनु पथ्र्यो, किरात शब्द बाहेकको याक्थुङ चुम्लुङ दर्ता छ त्यसले पनि औचित्य देखाउन पथ्र्यो, यो अवसर पनि थियो, हो ।
उता आन्दोलनका नेतृत्वहरुले मुक्कुमलुङसंगसँगै सेमुक्तुगोक, मुक्तिफोमाङ, साङसिङ मुक्तिकोक्मा भनीदिए के बिग्रन्छ? एमाले, काँग्रेसका लिम्बु नेतृत्वहरुलाई गाली नगरि के आन्दोलन नै हुदैन त? काँग्रेस एमालेकालाई आन्दोलनमा सहभागी गराउन के कस्ता पहलहरु भए? राजनीतिमा लबिङलाई ठूलो महत्वका साथ लिइन्छ त्यसो भए सरकारमा पहूच राख्नेहरु कसकसकहाँ लबिङ गरियो? ताप्लेजुङकै केही लिम्बुहरुलाई आर्थिक लाभ हुनेगरि निर्माणको ठेक्का दिईएको देखिन्छ, आर्थिक प्रलोभन, युवाहरुलाई मोटरबाईक किन्न आउने पैसा दिने लोभ देखाई उल्टै जाईलाग्ने बनाएको सन्दर्भमा गम्भिर विमर्श गरि उनीहरुलाई सकारात्मक तवरबाट सम्झाउने कति कोसिस गरियो । अहिले ब्यक्तिब्यक्ति बीच इगोको रुपमा पनि घटना विकसित हुनु सर्वाधिक दुःखद कुरा हो यसलाई कम गराउन स्थानीय बुद्धिजीबि तथा नेतृत्वहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्दछ ।
यो आस्था र विश्वाससँग जोडिएकोले आन्दोलन स्वतः उठ्छ नै तर निर्णायक हुन्छ हुदैन चिन्ता गर्नुपर्ने विषय हो । एमाले जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फेले केबलकारको पक्षमा ताप्लेजुङवासी र सिंगो एमाले पार्टी छ ढुक्क साथ निर्माण थाल्नुहोस भनेको केहीदिनमा पक्षघातले थलिए, ब्यापारी चन्द्र ढकालले जब मुक्कुमलुङमा हात हाले तब उनको अर्को अर्बौको ब्यापार चन्द्रागिरी हिल रिसोर्ट थलिएको बुझिन्छ र उता चन्द्रागिरी केबलकारबाट मान्छे लडेर मर्नु, पटक पटक केबलकार अड्किएर आपतकालिन उद्धार गर्नुपरेको कुरालाई मुक्कुमलुङले अनिष्ट देखाएको, केबलकार बन्नु हुदैन भनिएको हिसाबले बुझ्नेहरु पनि भेटिन्छन । त्यसैले यसमा हेलचेक्याई र बलमिच्याई नगर्नु बुद्धिमता हुन्छ । मुक्कुमलुङ/सेमुक्तुगोक/पाथीभरा केबलकार अतिक्रमण विरुद्धको आन्दोलनमा एक हुन आवश्यक छ । अन्यथा आपसी दाउपेजमा घाटा र दुर्घटना दुवै नजिकिएको छ । मनकुटावका सानोतिनो कुराहरुलाई भुलेर मुख्य लक्ष्य मुक्कुमलुङ अतिक्रमण विरुद्ध शसक्तरुपबाट जुटौ, त्यसैमा जित छ, कल्याण छ ।
धरान
२७ जनवरी २०२५