लेख

फाल्गुनन्द लिङ्देनकाे व्यक्तित्वलाई आलोचनात्मक चस्माले हेर्दा

✍️ उदय पूर्वेली चोङवाङक्याक याक्थुङ

फलामसिङ लिङदेन वा नरध्वज उर्फ फाल्गुनन्द वि.सं. १९६४ मा अङ्ग्रेज गोर्खा पल्टनमा भर्ती भएपश्चात उनी वर्मा (हालको म्यानमार) मा रहँदाको बखतदेखि नै जोसमनी ( जोसमुनीबाट अपभ्रंश भएको ) निर्गुण भक्तिवादी मतका भारतीय साधु भुरेबाबाद्वारा दीक्षित शशीधर स्वामीसँगको भेटले उनमा जोसमनी मोह जागृत भइसकेको थियोे । यिनै शशीधर स्वामीले उनको नाम फाल्गुनन्द राखिदिए ।  करिब १२ वर्षसम्म फौजमा काम गरिसकेपछि उनलेे निवेदन पेश गरी सेनाको लिस्टबाट आफ्नो नाम हटाएर तिनै शशीधर स्वामीका हातबाट मनुस्मृति, सत्यार्थ प्रकाशलगायतका केही हिन्दु ग्रन्थहरुका साथै हिन्दु सन्निकटस्थ जोसमनी सँस्कृतिको बीज लिएर नेपालको लिम्बुवान भूमिमा फर्किएका थिए ।

नेपालमा आएपछि फाल्गुनन्द दयानन्दका शिष्य मधुनन्दका चेला भए । प्रेमदिल, श्यामदिल, ज्ञानदिल दास, गोविन्द दास यी नामहरुको अन्त्यमा ‘दिल’ र ‘दास’ उपनाम जोडिएझैँ यसै जोसमनी परम्पराद्वारा नै उनका गुरुहरुको दयानन्द र मधुनन्दको ‘नन्द’ उपनाम धारण गरेर नरध्वजले पनि फाल्गुनन्द छद्मनाम ग्रहण गरेको तथ्य कतै छिपिदैन । वास्तवमा भन्नुपर्दा तत्कालीन अवस्थामा बर्मामा रहँदै उनको मथिङ्गलमा हिन्दुत्वको जोसमनी पन्थी डक्ट्रिन घुसिसकेको पनि सहजै अनुमान गर्न सकिन्छ ।

लेखक याक्थुङ ।

त्यसपछि उनी ध्यानी, ज्ञानी, सेपसिफ्टर, तान्त्रिक शक्ति सम्पन्न भएकाले प्रख्यात बौद्धमार्गी लामाहरुलाई तान्त्रिक शक्तिको दुरुपयोगमा उछिनेको, थुप्रै ठाउँमा तान्त्रिक विधिमार्फत पानी उमारेको, बर्माको युद्धमा दुुवै पक्षले चलाएको गोली र बमबारुद थुन्सेमा खिच्न सफल भएको, उनको हातमा प्रहरीले लगाएको हतकडी अकारण टुक्राटुक्रामा विभाजन भई भुइँमा खसेको आदिजस्ता अत्यन्तै काल्पनिक तथा भ्रामक अफवाहहरु उनका अनुयायीहरुले चौतर्फी फैलाए ।

त्यसपछि सबैभन्दा पहिले उनलेे याक्थुङ लिम्बु संस्कार र रीतिरिवाजमा कहिल्यै समाहित नभएका गुरुआश्रम वा कुटी, यज्ञकुण्ड, होमादी, शङ्ख फुक्ने, त्रिशूल धारण, बिगुत/खरानी घस्ने, कमण्डलु बोक्ने सन्त/साधु सँस्कृति अँगाले । काशी, मथुरा, द्वारिका, रामेश्वर, जगन्नाथ, अयोध्या र हरिद्वारजस्ता प्रसिद्ध हिन्दुधाम तथा तीर्थस्थलहरुको भ्रमण गरे । सर्वप्रथम वि.सं. १४४१ मा लिम्बूवान सङ्घ अन्तर्गत मोरोङ राज्यका पुङलाइङ लिम्बुले अमर ‘राय’ नाम परिवर्तन गरी हिन्दु धर्मद्वारा दीक्षित भए । तत्पश्चात विजयपुर र चतरामा हिन्दू मन्दिरहरु निर्माण गरे । यद्यपि मुकुन्दसेनका कान्छा छोरा लोहाङसेन (वि.सं १६६६-१६९८) को लिम्बुवान भूमिमा प्रवेश भएपछि मात्रै हिन्दु आर्य सँस्कृतिको तीव्र रुपमा विकासको सुरुवात भएको पाइन्छ ।

तर हाङ वुद्धिकर्ण रायको निधन र उनको राजकाज पतन भएलगत्तै वि.सं १८३१ साउन २२ गतेको गोर्खा-लिम्बुवानको सन्धिपत्र लालमोहर सम्पन्न भएपछि लिम्बुवानमा सम्पूर्ण सरकारी संयन्त्रको दुरुपयोग गरी राज्यसत्ताकै प्रत्यक्ष हस्तक्षेप र संलग्नतामै जबर्जस्त हिन्दू धर्मको समृद्धिको स्वर्णिम युग नै आरम्भ गरिएको थियो । वि.सं १८९७ आसपासमा जोसमनी सम्प्रदायले पनि लिम्बूवानका केही स्थानहरुमा हिन्दू मन्दिर निर्माण गरे । वि.सं १९८० ताका गोपालदास योङहाङका चेला गंगादिल तुम्बापो ताप्लेजुङ साप्लाखु -१ स्थित काबेली माङहिममा जोसमनी पन्थी माङसेवासाबा थिए ।  त्यतिबेला फाल्गुनन्दले आफू सत्यहाङमा भएको दाबी गर्दथे । जब वि.सं. १९८६ मा जोसमनी पन्थी र सत्यहाङमा धर्मका लिम्बुबीच जोसमनी सम्प्रदायले लिम्बु लिपि र भाषा प्रयोग गर्ने, सत्यहाङमाले हिन्दू संस्कार अपनाउने भद्र सहमति भयो, तब काबेली र लोब्रेका हिन्दू मन्दिरहरु सत्यहाङमा माङहिममा रुपान्तरण भए ।

फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्युसंस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, सिरिजङ्गा लिपि प्रचलनमा ल्याउनुपर्ने जस्ता झट्ट सुन्दा आकर्षक र सामाजिक एवम साँस्कृतिक सुधारका लागि उचित झैँ लाग्ने बुँदाहरु समावेश गरेर वि.सं १९८८ वैशाख २४ गते सात बुँदे “सत्य धर्म मुचुल्का” जारी गरे ।

तत्कालीन अवस्थामा याक्थुङ समुदायले यसको दीर्घकालीन असर र षड्यन्त्रको अन्तर्य बोध र अनुमान गर्न सकेनन् । सत्यहाङहरुले पनि याक्थुङ भाषा र लिपिको टुल्स प्रयोग गरेर केही याक्थुङ लिम्बुहरुलाई मोहित र आकर्षित पनि तुल्याउन सफल पनि भए । समयक्रमसँगै सत्यहाङमा(फाल्गुनन्द) को कुटिल नियत थाहा पाएर याक्थुङ लिम्बु संस्कार र सँस्कृति नष्ट गर्न उद्यत भएको आरोपमा वि.सं १९९०/९१ तिर लिम्बुवानका मौलिक संस्कार र संस्कृतिप्रेमी ३०० जनाको संयुक्त हस्ताक्षर सहितको निवेदनसमेत तत्कालीन नेपाल सरकारसमक्ष बुझाइएको थियोे । तर लगातार पाँचदिन पाँचरातसम्मको अनुसन्धानका क्रममा हिन्दू धर्म(जोसमनी मत) कै पक्षपोषण गरिरहेको खुलेपछि उनलाई कुनै कारबाही गरिएन । किनभने, तत्कालीन राज्यसत्ता नै हिन्दु धर्मको पक्षपाती थियोे । त्यसबखत फाल्गुनन्दले गोप्य तवरले हिन्दू सम्प्रदायकै आज्ञा र अनुकूलताबमोजिमको गतिविधि आजीवन सञ्चालन गर्ने प्रतिबद्धता जनाएको पनि हुनसक्छ । फलत: उल्टै उनलाई त्रिभुवनको भेटदर्शनका लागि राजदरबार लगिएको थियोे । यसो हुनुमा नजरानाका लागि उनकै बिन्तीभाउका बलमा पनि सम्भव भएको हुनसक्छ । यदि उनी साँच्चिकै याक्थुङ लिम्बू समुदायलाई सामाजिक तथा साँस्कृतिक रुपमा सुधारका सवालमा उनमा वास्तवमै अद्भुत इच्छाशक्ति र दूरदर्शीता रहेको भए, तत्कालीन राज्यव्यवस्थाको रवैया र समयको प्रतिकूलतालाई उजागर गर्न इच्छापत्रसम्म छोडेर जान सक्थे ।  तसर्थ, उनको लक्ष्य जोसमनी मतको विकास र हिन्दू संस्कारको पक्षपोषणका लागि नै थियोे भन्ने सहजै पुष्टि हुन्छ ।

जनमत सङ्ग्रहको दौडानमा २०३६ माघ ७ गते निर्दलीय पञ्चायत पक्षधर लिम्बुहरुले किरात धर्म तथा साहित्य उत्थान संघ स्थापना गरे । यसले मुन्धुमी परम्परामा आधारित अध्यात्म र दर्शनलाई सदियौँदेखि आफ्नो संस्कृतिका रुपमा अङ्गीकार गर्दै आएका याक्थुङ लिम्बु समुदायलाई किरातकरण गर्ने विधिवत अभियानको प्रारम्भ  गर्‍यो । पहिलोपटक सन् १९९१ को राष्ट्रिय जनगणना धर्मको महलमा सत्यहाङमा सम्प्रदायमध्ये  फाल्गुनन्दका चेलाभूलाले सत्यहाङमा र आत्मनन्दका अनुयायीहरुले किरात लेखे । यसकै असरका कारण केही सत्यहाङमा माङहिमहरुलाई किरात माङहिममा परिणत गरियो । किरात धर्मको आवरणमा हिन्दू वेदको पहिलो अक्षर मानिने ॐ (Polysemous symbol) मन्त्र लाई व्यापक प्रयोगमा ल्याउने र ॐ कार परिवारको घेरा वा दायराभित्र रहन स्वीकार गर्ने धार्मिक दासकर्म पनि भयाे ।

अद्यापि, फाल्गुनन्दले अवलम्बन गरेका हिन्दुकृत कर्मकाण्डलाई झनै मलजल गर्ने र निरन्तरता प्रदान गर्ने काम गुरु आत्मनन्दले गरे, गरिरहेकै छन् । जसको कारणले गर्दा आज सामाजिक,धार्मिक र साँस्कृतिक रुपमा याक्थुङ समुदाय कहिल्यै एकता नहुनेगरी विपरीत दुई ध्रुवमा विभाजित भएका छन् । जुन समुदायले उसलाई समाज सुधारक, राष्ट्रिय विभूति वा आदर्श व्यक्तित्व स्वीकार्नै पर्छ भन्ने कुनै बाध्यता छैन । त्यसकारण फाल्गुनन्दद्वारा उत्पादित, आत्मनन्द संरक्षित र ॐ कार परिवारको पक्षपोषणमा मौलाएको ज‍ोसमनी पन्थीय ऐझेरुको उचित शल्यक्रिया नगरेसम्म समग्र याक्थुङ लिम्बू जातिको साँस्कृतिक तथा धार्मिक द्वन्द्वको निदान, समाधान र एकता निर्माण गर्न असम्भव छ ।

द्रष्टव्य: याक्थुङ लिम्बु जातिको मौलिक संस्कार, संस्कृति, भाषा, लिपि र मुन्धुमको क्रमिक विकास र समृद्धिमा आँच पुर्‍याउने कार्य पुङलाइङ (अमर राय; बीस १४४१), लोहाङसेन (विसं १६६६-१६९८),  लिम्बुवान-गोर्खा सन्धि/नूनपानी सन्धि / लालमोहर/ताम्रपत्र (वि.सं. १८३१ साउन २२), जोसमनी पन्थ, फाल्गुनन्द (जोसमनी पन्थी सत्यहाङमा), आत्मनन्द (सत्यहाङमा किरात) साथै साँस्कृतिक विचलन कर्तालाई साँढे छोड्नु वा मूकदर्शक भएर टुलुटुलु हेरिरहनु वा अझ कतिपय अवस्थामा याक्थुङ सिरिजङ्गा लिपिलाई ‘किरातकरण’ गर्नुमा किरात याक्थुङ चुम्लुङले समेत जोसमनी पन्थी सत्यहाङमा किरात अनुकूलताकै भूमिका निभाएको वास्तविकता सतहमै छाएको छ ।

(लेखक चाेङवाङ क्याक युमासाम्यो महासभा मलेसियाका पूर्व अध्यक्ष हुन् । उपर्युक्त विचार लेखकका निजी धारणा हुन् । सम्पादक)

Related Articles

Back to top button