NRNA Special

एनआरएनएको पहिलो विश्व महिला सम्मेलन काठमाडौंमा, ९० देशका नेपाली महिला एउटै मञ्चमा

काठमाडौं, ३ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका नेपाली महिलाको नेतृत्व, उद्यमशीलता र आर्थिक सशक्तिकरणलाई केन्द्रमा राख्दै आगामी पुस २० गते अर्थात् ४ जनवरी २०२७ मा काठमाडौंमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गर्ने भएको छ।

‘महिला सशक्तिकरणको आधार रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ नेपाल सरकारसँगको सहकार्यमा आयोजना हुन लागेको सम्मेलन एनआरएनएको दुई दशकभन्दा लामो इतिहासमा महिला केन्द्रित पहिलो विश्वस्तरीय सम्मेलन हो। विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा स्वदेशका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई एउटै मञ्चमा जोडेर अनुभव, ज्ञान, सीप र सफलताका कथा आदानप्रदान गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको एनआरएनएले जनाएको छ।

एनआरएनएले बिहीबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको उद्देश्य, तयारी र प्राथमिकताबारे जानकारी दिएको हो। सम्मेलनमा महिला सशक्तिकरणसँग प्रत्यक्ष सरोकार राख्ने चार प्रमुख विषयगत क्षेत्रमा कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा बृहत् छलफल सञ्चालन गरिनेछ।

एनआरएनए महिला उपाध्यक्ष टीका गुरुङले विश्वभर एनआरएनएमा महिलाको सहभागिता र नेतृत्व बढ्दै गएको अवस्थामा महिलाका साझा सवाललाई विश्वव्यापी मञ्चमा उठाउन सम्मेलन आयोजना गर्न लागिएको बताइन्।

उनका अनुसार एनआरएनएको विभिन्न तहमा महिलाको सहभागिता बढ्नु सकारात्मक भए पनि अब त्यसलाई रोजगारी, उद्यम, व्यापार, लगानी, सीप, प्रविधि र बजारसँग जोडेर परिणाममुखी बनाउन आवश्यक छ। विश्वभर रहेका नेपाली महिलाको ज्ञान, अनुभव, सीप र स्रोतलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्ने उद्देश्य सम्मेलनको रहेको गुरुङको भनाइ छ।

‘एनआरएनएमा महिलाको सहभागिता र नेतृत्व धेरै बढिसकेको छ। अब महिलाको सहभागितालाई निर्णय प्रक्रियामा मात्र सीमित नराखी आर्थिक सशक्तिकरणसँग जोड्नुपर्छ। रोजगारी, उद्यम र व्यापारमार्फत महिलालाई आत्मनिर्भर बनाउने दिशामा सम्मेलनले ठोस आधार तयार गर्नेछ,’ गुरुङले बताइन्।

सम्मेलनमा महिलासँग सम्बन्धित विद्यमान ऐन, निर्देशिका, नीति तथा संस्थागत संरचनाको समीक्षा गर्दै आवश्यक सुधारका क्षेत्र पहिचान गरिनेछ। विशेषगरी डायस्पोरामा रहेका नेपाली महिलाका अधिकार, अवसर तथा आवश्यक कानुनी सुधारका विषयलाई प्राथमिकताका साथ उठाइनेछ।

वैदेशिक रोजगारीमा जाने नेपाली महिलाका लागि प्रस्थानपूर्व तयारी, गन्तव्य मुलुकमा सुरक्षा, अधिकार र मानसिक स्वास्थ्यदेखि स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणसम्मका विषयमा समेत छलफल हुनेछ। यस क्रममा महिलाको सुरक्षित वैदेशिक रोजगारीका लागि एनआरएनएको भूमिका र आवश्यक सहकार्यका क्षेत्र पहिचान गरिनेछ।

त्यसैगरी स्वदेश तथा विदेशमा रहेका नेपाली महिला उद्यमीबीच व्यावसायिक साझेदारी विस्तार, वित्तीय स्रोत तथा प्रविधिमा पहुँच अभिवृद्धि, नेपाली मौलिक उत्पादनको प्रवर्द्धन, बजारीकरण र अन्तर्राष्ट्रिय निर्यातमा महिलाको सहभागिता बढाउने विषय सम्मेलनका महत्वपूर्ण एजेन्डा बन्नेछन्।

प्राकृतिक विपद् र जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पारेको प्रभावलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। रसुवा–भोटेकोशी बाढीलगायतका विपद्, जलवायु न्याय, विपद् व्यवस्थापनमा महिलाको भूमिका तथा लैङ्गिक हिंसा र मानव बेचबिखनविरुद्ध महिला तथा बालबालिकाको सुरक्षा र संरक्षणका विषयमा समेत बहस हुनेछ।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले सम्मेलनमा विश्वभर रहेका गैरआवासीय नेपालीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। उनले एनआरएनएले महिला सम्मेलनसँगै दोस्रो पुस्तासम्बन्धी सम्मेलन, स्वास्थ्य सम्मेलन तथा अन्य क्षेत्रीय कार्यक्रमलाई समेत अघि बढाइरहेको जानकारी दिए।

एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले विश्वभर रहेका नेपाली महिलालाई सम्मेलनमा सहभागी हुन आग्रह गर्दै यसलाई अनुभव आदानप्रदानसँगै विश्वभरका नेपाली महिलाबीच सहकार्य, नेटवर्किङ र नयाँ सम्भावनाको खोजी गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएकी छन्।

महिला सशक्तिकरणबिना दिगो र समावेशी समृद्धि सम्भव नहुने निष्कर्षसहित आयोजना हुन लागेको सम्मेलनले नेपालका सातै प्रदेश तथा स्थानीय तहमा क्रियाशील महिला उद्यमीलाई पुँजी, सीप, प्रविधि र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सेतुका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा महिला उपाध्यक्ष टीका गुरुङ, उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष गंगा खडिवडा, महिला संयोजक रश्मि थापालगायतको उपस्थिति थियो।

Related Articles

Back to top button