मेलिना राईकी बुवाको निधनपछि ‘सुम्निमा सांगीतिक साँझ २०२६’ स्थगित

लन्डन, ७ अक्टोबर २०२६। बेलायतको अल्डरसटमा ९ अक्टोबरमा आयोजना हुने भनिएको ‘सुम्निमा सांगीतिक साँझ २०२६’ कार्यक्रम स्थगित गरिएको छ। कार्यक्रमकी प्रमुख कलाकार तथा चर्चित गायिका मेलिना राईका बुवाको असामयिक निधन भएपछि आयोजकले कार्यक्रम केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो।
सुम्निमा इभेन्ट्स, लुङ्टो क्रिएसन र इनास यूकेको संयुक्त आयोजनामा अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम आयोजना गर्ने तयारी गरिएको थियो। आयोजकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मेलिना राई तथा उनको शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “यस दुःखद घडीमा मेलिना राई तथा उहाँको शोकसन्तप्त परिवारप्रति आयोजक टिम हार्दिक समवेदना व्यक्त गर्दछ। उहाँको पारिवारिक शोक र भावनालाई सम्मान गर्दै उहाँको अनुपस्थितिमा कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरिएको हो।”
आयोजकका अनुसार कार्यक्रमको मुख्य आकर्षण नै मेलिना राई रहेकाले सम्पूर्ण कलाकार टोलीको सहभागितामा कार्यक्रमलाई अझ भव्य र आत्मीय रूपमा पुनः आयोजना गरिनेछ। कार्यक्रमको नयाँ मिति, समय र स्थान भने पछि सार्वजनिक गरिने जनाइएको छ।
कार्यक्रममा मेलिना राईसहित प्रताप दास, मेनुका राई, सुशील नेपाल, सबिना योङहाङ लिम्बू, रोशन राई, अप्सरा घिमिरे, जानुका राई, पार्वती राई, रजनी गुरुङलगायत कलाकारको प्रस्तुति रहने प्रचार गरिएको थियो।
आयोजकले कार्यक्रम स्थगित हुँदा दर्शक, प्रायोजक, सहयोगकर्ता, कलाकार तथा शुभेच्छुकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै उनीहरूको माया, साथ र धैर्यका लागि धन्यवादसमेत दिएको छ।
“कार्यक्रम स्थगित भएको हो, हाम्रो प्रतिबद्धता होइन। हामी फेरि तपाईंहरूमाझ आउनेछौँ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
संयुक्त आयोजक समितिका तर्फबाट रमेश श्रेष्ठ र सचिन बुढाथोकीले जारी गरेको विज्ञप्तिमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ।




