खेलकुद

धनकुटेली धावकले जिते पोर्चुगलमा अन्तर्राष्ट्रिय दौड, विराटनगर जोरपाटी लक्ष्य

मदिरा, पोर्चुगल,
गत २ सेप्टेम्बर २०२६ को मध्येरात शुरु भएको ९५ किलोमिटरको अल्टा मदिरा ट्रायल दौडमा डेभिड खेवा (देविन्द्र बहादुर लिम्बु) भ्याटरनमा प्रथम भएका छन । देशविदेशबाट ९३ जना सहभागी भएको उक्त ठूलो दौड प्रतियोगितामा खेवा खुल्लामा चौथो र भ्याटरन क्याटगोरीमा प्रथम भएका हुन ।

मध्येरातीबाट शुरु भएको दौडमा भोलीपल्ट दिउसो साढे १ बजे पुरा गरेका थिए । उनलाई सो दुरी पुरा गर्न जम्मा साढे १३ घण्टा लागेको थियो ।

लामो दुरीको दौड सिद्धिएकै भोलीपल्ट पुनः आइताबार १० किलोमिटरको मिनि ट्रायल दौडमा उनी दोस्रो भएका थिए । उनले ३९ मिनेटमा पुरा गरेका थिए । पोर्चुगलमा नेपालको प्रतिनिधित्व गर्दै खेवाले दौड प्रतियोगिताहरुमा नियमित सहभागिता जनाउदै आएका छन ।

उनले काठमाडौ दशरथ रंगशालाबाट शुरुगरि धनकुटा टुडिखेल करिब ५०० किमीको दुरी ५६ घण्टा, ४७ मिनेटमा पुरा गरि सकेका छन । उनले सन् २०२२ मा सो दौड पुरा गरेका हुन । त्यस्तै काठमाडौ वरपरिको डाँडामा दौडने बाटो रहेको मन्जुलश्री ट्रायल रेस १९२ किमी दुरीको दौडमा समेत सहभागीता जनाईसकेका छन । विश्वमै प्रसिद्ध ११८.५ किमी दुरीको म्युट ट्रायल रेसमा पनि १४ सय सहभागी मध्ये ९औ स्थानमा आउन सफल खेवालाई सो दुरी पुरा गर्न १६ घण्टा १४ मिनेट लागेको थियो । सो दौडमा उनले सन् २०२४ मा सहभागिता जनाएका थिए ।

धनकुटाको छथर जोरपाटी १, हातिखर्कमा जन्मिएका खेवा केही बर्ष नेपाल शसस्त्र प्रहरीमा सेवा गरेपश्चात बहराईन पुगे, त्यहा पनि दौडिए । त्यस्तैगरि पोर्चुगल पुगेको ३ बर्ष पुग्दा आधा दर्जन अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाई सकेका छन ।

उनको सपना केही महिना भित्र विराटनगर प्रदेश सभाभवनबाट बेलुकी शुरु गरि आफ्‌नो गाँउ पालिका छथरजोरपाटीको भवन सम्म दौडिएर करिब १२० किलो मिटरको दुरी पुरा गर्ने लक्ष्य राखेका छन । त्यसको निमित्त सहयोग तथा समन्वयको निमित्त गाँउपालिकालाई अनुरोध गर्ने योजना बनाएका छन । त्यसपछि उनी १०० किमी भन्दा लामो दुरीको दौडको निमित्त युरोपको विभिन्न मुलुकमा सहभागिता जनाउने बताएका छन । ४२ बर्षिय खेवा नेपालको दौड क्षेत्रमा चिरपरिचित नाम हुन । उनलाई शुभ कामना ।

Related Articles

Back to top button