भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा

बाँके । भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगनहरू सुनसान बनेका छन्।
हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउने यस गाउँमा मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने सङ्गीतका भाकाहरूले सधैँ गुञ्जायमान बनाउँथ्यो। यो वर्ष भने थपुवाको आकाश अर्कै शोकले ढाकेको छ। मादलका तालहरू थमिएका छन् अनि खुसीका भाकाहरू गहिरो रोदनमा परिणत भएका छन्।
भदौ १० गते भोटेकोशी बाढीले गाउँका पाँच जना सदस्यलाई एकाएक बेपत्ता बनाएपछि सिङ्गो थपुवा शोकको भुमरीमा छ। रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा पसिना बगाउँदै आएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएका हुन्।
बुढेसकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्र बाँकी छ। ढोकाको सङ्घारमा आँखा ओछ्याएर कतै फर्किहाल्छन् कि भन्ने झिनो आशा र मनभित्रको असह्य पीडाबीच अनलालको परिवार विछोडको भारी थाम्न विवश छ।
अर्कोतर्फ रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि बाढीमा परी बेपत्ता भएपछि उनीहरूको घरको दियो नै निभेझैँ भएको छ। १६ वर्षीय सुभाष नेपाली, ११ वर्षीय भाइ अश्विन र ९ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमा–बुबा फर्किने बाटो हेरिरहन्छन्। तीजको यो उज्यालो मौसममा यी अबोध बालबालिकाको कलिलो जीवन रातारात अँध्यारो सुरुङभित्र खसेको छ।
अकल्पनीय शोकले गाउँका कसैको पनि मनमा चाडपर्वको उमङ्ग नछाएको स्थानीयवासी टेकराज जैसीले बताए। ‘गाउँका पाँच-पाँच जना सदस्य बेपत्ता हुँदा सिङ्गो गाउँ नै असह्य पीडामा छ,’ जैसीले भने, ‘यस्तो बेला तीज कसरी मनाउनु?’ गाउँलेले यतिबेला पर्वको तडकभडक त्यागेर पीडित परिवारको घाउमा मलम लगाउने प्रयास गरिरहेको उनले जानकारी दिए।
नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजी जारी राख्न र पीडित परिवार, विशेष गरी सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ‘यसपालिको तीजमा थपुवागाउँले गीत र नृत्य होइन, वियोग र प्रार्थना रोजेको छ,’ बुढाले भने, ‘हराएका ती प्यारा अनुहारहरू कतैबाट सकुशल फर्किऊन् भन्ने आशामा छौँ।’



