सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, १ जेठ : सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।
भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राख्नुभएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ ।
त्यस अवसरमा राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





