भाषा-संस्कृति जोगाउन राज्यसँगै मातृभाषी समुदाय पनि सक्रिय हुनुपर्छ: नेता आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालको भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धनलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै नेता आङदेम्बेले मुलुकका सबै भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि प्रभावकारी नीति, पर्याप्त लगानी र दीर्घकालीन कार्यक्रमको आवश्यकता औँल्याएका हुन्।
नेपालको भाषिक विविधता नै मुलुकको सांस्कृतिक पहिचान र सभ्यताको मुख्य आधार भएको उल्लेख गर्दै उनले यसको संरक्षणमा राज्यले दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरे। भाषिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले राष्ट्रिय एकता बलियो बनाउनुका साथै पुस्तान्तरण हुँदै आएको मौलिक पहिचानलाई जोगाउन मद्दत पुग्ने उनको भनाइ छ।
नेता आङदेम्बेले भानु जयन्ती आदिकवि भानुभक्तको योगदानलाई स्मरण गर्ने दिन मात्र नभई नेपाली भाषासँगै देशका सबै मातृभाषा, ती मातृभाषामा सिर्जना हुने साहित्य र भाषिक सम्पदाको विकासका प्रति साझा प्रतिबद्धता नवीकरण गर्ने अवसर भएको बताए।
भाषा र संस्कृतिको संरक्षण राज्यको मात्रै जिम्मेवारी नभएको प्रस्ट पार्दै उनले सम्बन्धित मातृभाषी समुदाय स्वयं पनि आफ्नो भाषा, साहित्य र संस्कृतिको जगेर्ना, अध्ययन, अनुसन्धान तथा पुस्तान्तरणमा उत्तिकै जिम्मेवारी, समर्पण र सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएका छन्।
आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल, शिष्ट र रोचक नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा-साहित्यको सुदृढ आधार निर्माण गरेको नेता आङदेम्बेले स्मरण गरे। घाँसीबाट प्रेरणा लिएर समाजका लागि ऐतिहासिक कार्य गरेका भानुभक्तले नेपाली भाषालाई जनजनको साझा अभिव्यक्तिको माध्यम बनाउँदै राष्ट्रिय एकता र सामाजिक चेतनाको विकासमा पुर्याएको योगदान अतुलनीय रहेको उनको भनाइ छ।




