नेपाल पत्रकार महासंघ यूकेले १५ औ स्थापना दिवसमा मेजर शेर्पा, डा.बुढ़ा मगर र डा.श्रेष्ठलाई सम्मान गर्दै भव्यताका साथ संपन्न

नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेले १५औँ स्थापना दिवस शुक्रबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ मनाएको छ।
संस्थाकी अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा वरिष्ठ पत्रकार भगिरथ योगी प्रमुख अतिथि रहेका थिए।

एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङ, नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई, फोनिज यूकेका अध्यक्ष बम थापा सूर्यवंशी, पूर्व मेयर तथा काउन्सिलर विष्णु गुरुङ र पूर्व डीएसपी शिवजी श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमलदेवी गुरुङ, पूर्व अध्यक्ष ज्ञाम गुरुंग, मगर संघ यूकेका उपाध्यक्ष गुमानसिंह थापा, जीआरएनसीकी अध्यक्ष लीला सेलिङ मावोलगायत बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
स्थापना दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा अनुकरणीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको थियो । जसअन्तर्गत वरिष्ठ पत्रकार मेजर सोनाम शेर्पालाई ‘वर्ष पत्रकारिता सम्मान २०२६’ प्रदान गरियो । त्यस्तै, देश र समाजमा अदम्य साहस, दृढ इच्छाशक्ति र प्रेरणादायी योगदान पुर्याएबापत प्रतिष्ठित पर्वतारोही, उत्प्रेरक वक्ता एवं अपाङ्गता अधिकार अभियन्ता डा. हरि बुढा मगर एनबिई लाई विशेष सम्मान गरियो।

नेपाली कला, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनका साथै साहित्यिक सिर्जना र अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत युनिभर्सल पिस फेडेरेसन यूकेकी अध्यक्ष एवं साहित्यकार डा.संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई पनि सम्मानित गरियो । समारोहमा पत्रकारहरू गोमा रानामगर, उपाध्यक्ष प्रमिला लाबुङ राई र सचिव मञ्जु भण्डारी खरेलले क्रमशः सम्मानित व्यक्तित्वहरू मेजर सोनाम शेर्पा, डा. हरि बुढा मगर MBE र डा. संगीता स्वेच्छा श्रेष्ठको व्यक्तित्व माथि प्रकाश पारेका थिए।
सोही अवसरमा संस्थाका तर्फबाट थप उपलब्धि हासिल गर्ने कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पनि बधाईसहित सम्मान गरिएको थियो। विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेबापत साहित्यकार, समाजसेवी एवं एफएनजे यूकेका केन्द्रीय प्रतिनिधि डा. दूत पुन (चिम्खोले काइँला) सम्मानित भए । एनआरएनए आईसीसीको उपाध्यक्षमा निर्वाचित भएबापत संस्थाका सचिव विश्वास दीप तिगेला र गुल्मी समाज यूकेको अध्यक्षमा निर्वाचित भए बापत सचिव मञ्जु भण्डारी खरेललाई अध्यक्ष सेनेले खादा ओढाएर सम्मान गरेकी थिइन्।
कार्यक्रमलाई आर्थिक एवं भौतिक रूपमा सहयोग पुर्याउने प्रायोजकहरू तथा नेपालबाट बेलायत आएका आमन्त्रित कलाकारहरू शिवदास गुरुङ, अस्मिता रानामगर र राजेन्द्र केरुङलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो।
प्रमुख अतिथि भगिरथ योगीले संस्थामा रहेका असन्तुष्ट पत्रकारहरूलाई समेत समेटेर र मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए। एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङले आगामी दिनमा स्थापना दिवसको कार्यक्रम लन्डन स्थित नेपाली दूतावासमा आयोजना गर्न सल्लाह दिए।
नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठले पत्रकारिताको गरिमा जोगाउन वास्तविक र व्यावसायिक पत्रकारहरूलाई मात्र सदस्यता वितरण गरिनुपर्ने धारणा राखे । सम्मानित व्यक्तित्व डा. दूत पुन (चिम्खोले काइँला) ले बेलायतमा कार्यरत पत्रकारहरूलाई व्यावसायिक बनाउनका लागि उपस्थित विभिन्न संघसंस्थाका अगुवाहरूलाई सहयोगका लागि अपिल गरेका थिए भने सम्मानित व्यक्तित्व मेजर सोनम शेर्पा र संगीता श्रेष्ठले पनि सम्मान पाएकोमा ख़ुशी व्यक्त गदै अझ प्रोत्साहित बनेको भनि आ-आफनों भनाई राखेका थिए।
अन्त्यमा शाखाका अध्यक्ष सेनेले अमुल्य सल्लाह र सुझाब दिने महानुभावहरुलाई धन्यवाद दिँदै कार्यान्वयन गर्ने वाचा गरेकी थिइन्। उनले कार्यक्रम सफल बनाउन उपस्थित हुने सबैलाई धन्यवाद दिइन्।
संस्थाका उपाध्यक्ष प्रमिला लाबुंग राईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव खेमराज रानाभाटले गरेका थिए भने सचिव विश्वास दीप तिगेलाले देश–विदेशबाट प्राप्त भएका शुभकामना सन्देशहरू वाचन गरेर सुनाएका थिए।
औपचारिक शुभकामना आदानप्रदानका बीच–बीचमा नेपालका चर्चित कलाकारहरू शिवदास गुरुङ, अस्मिता रानामगर र राजेंद्र केरुङले आ–आफ्ना उत्कृष्ट सांगीतिक एवं नृत्य प्रस्तुतिमार्फत हलमा उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्दै कार्यक्रमलाई सङ्गीतमय र रोचक बनाएका थिए।




