जेष्ठ नागरिक माथि पैसा ठगी भएको गम्भीर घटना
अल्डर्शट बेलायतमा २९ जुन २०२६ सोमबारका दिनमा जेष्ठ नागरिक एक महिला माथि गम्भीर घटना भएको जानकारी आएको छ ।
अल्डर्शटको लोयड्स बैंकमा एक बृद्ध महिला एटिएम मेसिनबाट पैसा निकाल्दै गर्दा पछाडी उभिएको एक अपरिचित ब्यक्ती नजिकै आएर अङ्ग्रेजीमा कुरा गर्दै उनको ध्यान भंग गरेको वृद्ध महिला बताउछन् । महिला अलमल्ल परेर उनको कार्ड मेसिनले खाएको सोचेर कार्ड नै नलिइ त्यहांबाट हिडिन् तर वास्तवमा कार्ड त्यहीँ मेसिनमा नै थियो र पछाडीको त्यो अपरिचित व्यक्तिले महिलाले पिन नम्बर टाइप गरेको हेरिरहेकोले महिला गएपछि त्यो ब्यक्तिले महिलाको कार्डबाट दुई पटक पैसा निकालेर र पसलमा समेत प्रयोग गरेर महिलाको खाताबाट करिब £१.८०० (१८०० पाउन्ड) चोरी गरेको समाचार जिआरएनसीको श्रोतबाट प्राप्त भएको छ। यस्तो खालको ठगी घटना पहिलो नभई बेला बेलामा भइ रहने श्रोतले जनाएको छ।
कृपया सुरक्षित रहन यी नियमहरू पालना गर्नुहोस्:
- वरिपरि हेर्नुहोस्: एटीएम प्रयोग गरिसकेपछि फर्केर हेर्नुहोस्।
- कोही शङ्कास्पद व्यक्ति नजिक त छैन भन्ने सुनिश्चित गर्नुहोस्।
- आफ्नो पिन गोप्य राख्नुहोस्: पिन टाइप गर्दा अर्को हातले किप्याड छोप्नुहोस्। कसैलाई पनि पिन देख्न नदिनुहोस्।
- ध्यान भङ्ग हुन नदिनुहोस्: मेसिनमा हुँदा अपरिचित व्यक्तिसँग अनावश्यक कुरा नगर्नुहोस्।
- कसैले कुरा गर्न खोजे पनि सावधान रहनुहोस्।
- कार्ड नलिई नहिँड्नुहोस्: सधैं आफ्नो कार्ड एटीएमबाट बाहिर नआएसम्म पर्खनुहोस्।
- कार्ड हातमा नलिई त्यहाँबाट नहिँड्नुहोस्।
- यदि कार्ड अड्कियो भने: यदि मेसिनले कार्ड निल्यो जस्तो लाग्यो भने त्यहाँबाट नहिँड्नुहोस्।
- तुरुन्तै बैंकभित्र गएर कर्मचारीलाई जानकारी दिनुहोस् वा बैंकको आपतकालीन नम्बरमा फोन गर्नुहोस्।
बैंकका कर्मचारीले ती महिलालाई प्रहरीमा उजुरी गर्न सल्लाह दिएका छन्। बैंकको फ्रड (ठगी) टोलीले पनि घटनाको छानबिन गरिरहेको छ। कृपया यो सन्देश आफ्ना साथीभाइ र परिवारसँग पनि सुसूचित रहन आग्रह गरेको जानकारमा आएको छ।




