पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू चयन

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिको अध्यक्षमा सुरेश लिम्बू चयन हुनुभएको छ ।
गत जेठ २९ गते सम्पन्न समितिको साधारणसभामा आवश्यक बहुमत सदस्य उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको थियो। त्यसपछि तय गरिएको कार्यतालिका अनुसार सम्पन्न दोस्रो चरणको सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा संगठनात्मक संरचनामा वरिष्ठ उपाध्यक्ष र सहकोषाध्यक्ष पद थप गरिएको छ। वरिष्ठ उपाध्यक्षमा नारायण थापा चयन हुनुभएको छ। ताप्लेजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहनुभएका थापा यसअघि समितिको उपाध्यक्ष हुनुहुन्थ्यो।
त्यसैगरी उपाध्यक्षमा शान्ति मादेन चयन हुनुभएको छ। उहाँ उद्योग वाणिज्य संघकी प्रथम उपाध्यक्ष हुनुहुन्छ। सचिवमा लक्ष्मीप्रसाद काफ्ले, कोषाध्यक्षमा मात्रिकाप्रसाद नेपाल र सहसचिवमा दिनेश खवास पुनः चयन हुनुभएको छ।
नवगठित संरचनाअनुसार सहकोषाध्यक्षको जिम्मेवारी तेजबहादुर खत्री भट्टराईले पाउनुभएको छ।
निर्वाचन प्रक्रिया सञ्चालनका लागि समिति सदस्य आनन्द गौतमको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्षसमेत रहनुभएका गौतमले विधानअनुसार प्रक्रिया अघि बढाई सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी दिनुभयो।
नागरिकस्तरबाट पाथीभरा क्षेत्रको संरक्षण र विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको यो संस्था २०४८ सालदेखि सक्रिय रहँदै आएको छ। समितिले पाथीभरा क्षेत्रको धार्मिक, पर्यटन तथा सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्दै समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।




