समाचार

चुम्लुङकाे १५ दिने के:लाङ प्रशिक्षण सम्पन्न

लिम्बु संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको सहभागिता

२४ मे, विजयपुर । याक्थुङ लिम्बु समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको १५ दिने केलाङ (च्याब्रुङ नाच) प्रशिक्षण कार्यक्रम जेठ १० गते सम्पन्न भएको छ ।

किराँत याक्थुङ चुम्लुङ धरान–१९ वडा कार्य समितिको आयोजनामा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रम विशेष समारोहबीच समापन गरिएको हो ।

“लिम्बुवानमा स्वायत्तता, हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सञ्चालन गरिएको प्रशिक्षणमा लिम्बू समुदायका युवा–युवतीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। पछिल्लो समय आधुनिकता र प्रविधिको प्रभावसँगै परम्परागत कला तथा संस्कृतिप्रति युवापुस्ताको आकर्षण घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै यस्ता कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।
१५ दिनसम्म सञ्चालन गरिएको प्रशिक्षणमा सहभागीहरूलाई केलाङ (च्याब्रुङ नाच) को इतिहास, सांस्कृतिक महत्व, प्रस्तुति शैली, ताल–लय, अभ्यास विधि तथा यसको सामाजिक र धार्मिक पक्षबारे प्रशिक्षक कुमार लिम्बुले विस्तृत जानकारी दिएका थिए। प्रशिक्षणले युवा पुस्तालाई आफ्नो मौलिक पहिचानबारे थप जानकारी प्राप्त गर्न तथा सांस्कृतिक सम्पदाप्रति जिम्मेवार बन्न प्रेरित गरेको सहभागीहरूको भनाइ छ ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न धरान उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको थियो । स्थानीय सरकारको सहकार्यले समुदायस्तरमा संस्कृति संरक्षण र प्रबर्द्धनमा थप ऊर्जा मिलेको आयोजकको विश्वास रहेको छ ।

समापन कार्यक्रममा वक्ताहरूले लिम्बू समुदायको पहिचान बोकेको के:लाङ (च्याब्रुङ नाच) केवल मनोरञ्जनको माध्यम मात्र नभई समुदायको इतिहास, जीवनशैली र संस्कृतिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण सम्पदा भएको बताएका थिए । उनीहरूले यस्ता प्रशिक्षण कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

के:लाङ नाच्दै धरान उपमहानगरका का.वा. मेयर अइन्द्रविक्रम बेघा (राताे काेटमा) ।

स्थानीय संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा आफ्नो पहिचानप्रति गर्वको भावना जगाउने उद्देश्यले आयोजित यस प्रशिक्षण कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको धारणा रहेको छ। कार्यक्रम धरान उपमहानगरपालिकाका कार्यबहाक मेयर अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्य र कियाचु धरान-१९ अध्यक्ष प्रेम कुमार इधिङ्गोको सभापतित्वामा सम्पन्न भएको थियो । कार्यक्रम वडा सचिव वसन्ती थेवेकाे सञ्चालनमा भएको थियोे ।

Related Articles

Back to top button

This will close in 0 seconds