समाचार

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौँ, ११ जेठ : हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी रुपमा बिजुली आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतसम्भारको कामलाई तीव्र पारिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतको काम तीव्र पारिएको हो ।

प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिइ मर्मत तथा पुनःसञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेका छन् ।



ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल मर्मतको काम अगाडि बढाउन प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

विवरणअनुसार पिलुवा–पथलैया–चन्द्रनिगाहपुर खण्डको टावर नं १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएकामा उक्त रुख हटाउने कार्य सम्पन्न भइसकेको छ । हाल सर्किट चार्ज गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

यस्तै सोही खण्डको (टावर नं १३६–१३७) मा तीन वटा रुख हटाइएको छ तथा लाइन पुनःसञ्चालनका लागि आवश्यक प्राविधिक कार्य जारी रहेको छ ।

अमलेखगञ्ज–कामाने खण्डको

टावर नं ४६–४७ बीच एक रुखका कारण प्रसारण लाइनको कन्डक्टरमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ र ‘स्ट्रिङिङ’ कार्य सुरु गरिएको छ । आइतबार दिउँसोको हुरीले देशका विभिन्न स्थानमा बिजुली आपूर्तिमा समस्या आएको थियो । सोमबार बिहानसम्म सहज रूपमा बिजुली आपूर्ति गराउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

Related Articles

Back to top button

This will close in 0 seconds