समीक्षासाहित्य सिर्जना

डा सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’ कृति लन्डनमा सार्वजानिक

लन्डन । गत १६ मे २०२६ मा मनोविद् तथा समाजसेवी डा. सुमाया राईको जीवनयात्रामा आधारित कृति ‘जिन्दगी फूल सम्झे फूलै हो’ सार्वजनिक गरिएको छ । नेपाली महिला समाज बेलायतले विशेष कार्यक्रम आयोजना गरी लन्डनको साउथ ह्यारोमा पुस्तक विमोचन तथा विमर्श कार्यक्रममार्फत कृति सार्वजनिक गरेको हो ।

वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले उक्त कृतिको औपचारिक विमोचन गरेका थिए । कार्यक्रममा पुस्तकमाथि बहस तथा समीक्षा समेत गरिएको थियो ।

कृतिमाथि साहित्यकार विजय हितान, समाजसेवी सुमित्रा राई, सञ्चारकर्मी तथा पत्रकार विमला सेने, साहित्यकार विश्वासदीप तिगेला र साहित्यकार डा. रूपक श्रेष्ठले टिप्पणी गरेका थिए । बहसको सहजीकरण कवि तथा साहित्यकार शशी सुब्बा थापाले गरेका थिए ।

डा. राईको यो पाँचौं कृति हो । यसअघि उनका अन्य कृतिहरू पनि प्रकाशित भइसकेका छन् । कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा उद्घाटन तथा शुभकामना मन्तव्य राखिएको थियो । कार्यक्रममा साहित्यकारहरू दुर्गाप्रसाद पोखरेल, राज श्रेष्ठ, देवेन्द्र खेरेस, निर्भीकजंग रायमाझी र खुपेन मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पहिलो चरणको कार्यक्रम नेपाली महिला समाज बेलायतकी सचिव रिना पाम्फुले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा कुमारी निरौलाले कविता वाचन समेत गरेकी थिइन् । कार्यक्रममा पुस्तकको समीक्षा गर्दै अतिथिहरूले प्रसंगगत रूपमा अध्यायहरूलाई अझ समृद्ध बनाउन सुझाव दिएका थिए भने बाँकी लेखन यात्राको सफलताको शुभकामना पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, टिप्पणीकारहरू साहित्यकार विजय हितान, समाजसेवी सुमित्रा राई, सञ्चारकर्मी तथा पत्रकार विमला सेने, समाजसेवी तथा सञ्चारकर्मी विश्वासदीप तिगेला र साहित्यकार डा. रूपक श्रेष्ठलाई दोसल्ला तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । नेपाली महिला समाज बेलायतकी अध्यक्ष विमला कुमारी राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

वि.सं. २०१९ जेठ २४ गते सिरहाको लहानमा जन्मिएकी डा. राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक तथा किरात राई यायोक्खाकी पहिलो महिला अध्यक्ष हुन् । उनले आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका अनुभव समेटेर ‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ कृति सिर्जना गरेकी हुन् ।

साढे पाँच सय पृष्ठमा विस्तारित उक्त कृतिभित्र प्रथम चरण, मध्य चरण र उत्तर चरण गरी १ सय १३ शीर्षकका लेखहरू समेटिएका छन् । साथै, लेखकको वंशवृक्ष, चिनारुहरूको दृष्टिकोण, अनुसूची तथा तस्बिरहरू पनि समावेश गरिएका छन् ।

यसअघि उनका ‘तातो हावा’ (गीति एल्बम, २०७१), ‘अव्यक्त अभिव्यक्ति’ (कविता सङ्ग्रह, २०७२), ‘छाम सुनाखरी’ (गीत सङ्ग्रह, २०७२) र ‘मेरो अन्तिम इच्छापत्र’ (कविता तथा गीत सङ्ग्रह, २०७५) प्रकाशित भइसकेका छन् । यी कृतिहरूले नेपाली भाषा, किराती संस्कृति, किराती इतिहास तथा पहिचानलाई उजागर गरेका छन् ।

Related Articles

Back to top button

This will close in 0 seconds