समाचारसाहित्य सिर्जना

स्वर्णिम साहित्य समाजकाे पाँचौ साधारणसभा हुँदै

२० सेप्टेम्बर, भराैल । स्वर्णिम साहित्य समाज सुनसरीको पाँचौ साधारणसभा शनिबार हुने भएको छ । कवि गाेष्ठीसहित विविध कार्यक्रम बीच साधारणसभा हुने भएको हाे ।

बराहक्षेत्र नगरपालिकाकाे वडा नम्बर ३ काे सभाहलमा हुने कार्यक्रममा मातृभाषा साहित्य वाचन कार्यक्रम पनि हुनेछ । जसमा, थारू भाषामा छविलाल चाैधरी, याक्थुङ(लिम्बु) भाषामा शुक्र आङ्देम्बे ‘आँसु’, बान्तावा भाषामा मित्रराज राई र खस नेपालीमा पुष्पा बाेगटीले सिर्जना सुनाउनेछन् । मातृभाषा कवि र कविताहरू सेसनमा पत्रकार देवेन्द्र खापुङ सुर्केली र प्रल्हाद पहरेदारले बाेल्नेछन् । जसकाे सहजीकरण कवि छविना लुङ्गेली मगरले गर्नेछिन् ।

वडा अध्यक्ष राजदीप लामाकाे प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सर्जक दीपा मग्रातीलाई ‘आन्तरिक स्वर्णिम साहित्य सम्मान-२०८१’ले समेत सम्मानित गरिने समाजका अध्यक्ष प्रकाश दिप्सालीले जानकारी दिए । मग्राती समाजकी सदस्य साथै चतरा साहित्यिक मञ्चकी अध्यक्ष समेत हुन् । उनी प्रस्तरकलाकी कलाकार पनि हुन् ।

सभामा बाल कलाकार राजेश परियार र दीपशिखा दर्नालले समेत प्रस्तुति दिनेछन् । साेही अवसरमा पुस्तक प्रदर्शनी पनि राखिएको समाजका सचिव लक्ष्मण कटुवालले बताए । बराहक्षेत्र नगरपालिकाकाे साहित्यिक गतिविधि सञ्चालनमा उल्लेख्य याेगदान दिइरहेको समाजको स्थापना १७ वर्षअघि भएको हाे ।

Related Articles

Back to top button