पत्रकार महासङ्घकाे कार्यालयअगाडि फोनिजको प्रदर्शन

२२ अप्रिल, विजयपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीले पत्रकार महासंघसँग सम्बन्धित विवादित विषयहरूमा निष्पक्ष छानबिनको माग गर्दै धरानमा कालो ब्यानरसहित प्रदर्शन गरेको छ ।
धरानस्थित पत्रकार महासंघको कार्यालयअगाडि बुधबार भएको प्रदर्शनमा फोनिजले संस्थापकसँग जोडिएका बहस र विवादहरूलाई सत्यतथ्यका आधारमा छानबिन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गर्नुपर्ने माग राखेको हो ।
प्रदर्शनमा सहभागी सञ्चारकर्मीहरूले “सत्य बाहिर ल्याऊ, पारदर्शिता कायम गर” जस्ता नाराहरू लगाउँदै पत्रकारिता क्षेत्रमा स्पष्टता र विश्वास पुनःस्थापित गर्नुपर्ने बताएका थिए ।
फोनिज सुनसरीका प्रतिनिधिहरूको सक्रिय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अन्य सञ्चारकर्मी तथा सरोकारवालाहरूले पनि नैतिक समर्थन जनाएका थिए । कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
फोनिजले आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ, जसले आगामी दिनमा पत्रकारिता क्षेत्रमा थप बहस र दबाब सिर्जना गर्ने संकेत देखिएको छ ।




