आदिवासीमहत्वपूर्ण दस्तावेज

प्रेस विज्ञप्ति – पहिचानको आन्दोलन एमाले, काङ्ग्रेस, माओवादी केन्द्र विरुद्ध होइन

प्रेस विज्ञप्ति

पहिचानको आन्दोलन एमाले, काङ्ग्रेस, माओवादी केन्द्र विरुद्ध होइन। पहिचानको आधारमा पुन: नामकरण आम जनताको माग हो। यो कुरा पुन: दोहोर्‍याउँदै मङ्सिर २६ गतेदेखि हुने मध्य–पहाडी मार्ग ‘घुर्मी–लेगुवा सडक अनिश्चितकालीन बन्द’ प्रभावकारी बनाउन थप सक्रिय बन्न आह्वान गर्दछौँ।

२०८० मङ्सिर १९ गते हामीले अनुरोध गर्दागर्दै मुख्यमन्त्री केदार कार्की, नेपाली काङ्ग्रेसको संसदीय दलका नेता (पूर्व मुख्यमन्त्री) उद्धव थापा, प्रदेश सांसद प्रदीपकुमार सुनुवार, रामकुमार खत्री (उदयपुर) ओखलढुङ्गा पुगेपछि कालो झण्डासहित विरोध प्रदर्शन भयो। प्रदर्शनको क्रममा ९ जना पहिचानवादी योद्धा प्रहरीले पक्रेर चार घण्टापछि छाडेको विदितै छ।

हामीले मङ्सिर १४ गते विज्ञप्ति प्रकाशन गरेर एमाले पार्टीलाई ‘झुलाघाट–चिवाभञ्ज्याङ’ अभियान प्रदेश नं. १ मा आइपुग्दा ‘कोशी’ नाममा हस्ताक्षर गर्ने ८२ मध्येका प्रदेश सांसद र राई, लिम्बू, शेर्पा, तामाङ, मगर, गुरुङ, नेवार, थारु, आदिवासी जनजातिलाई साम्प्रदायिक हिवासले अपराधी भन्ने र पहिचान पक्षधर खस/आर्य, दलित, मधेशीहरूलाई आतङ्ककारी भनी बारम्बार गाली गर्दै आएका पूर्व प्रधानमन्त्री केपी ओली, योगेश भट्टराई, महेश बस्नेत (तीन भाइ) विरुद्ध कालो झण्डासहितको विरोध प्रदर्शन गर्दै आएका छौँ।

तीन भाइले आत्मा आलोचना गरेर ‘कोशी’ प्रदेश नाम पुन: नामकरण गर्ने प्रतिबद्धता गरेमा स्थिति हेरेर आन्दोलनको रूप परिवर्तन गर्न सकिने सबैमा प्रष्ट पार्न चाहन्छौँ। तीन भाइ बाहेकलाई हाम्रो कुनै अवरोध नहुने विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ।

एमाले विरुद्धको आन्दोलन नभएको कारण ८२ मध्येका प्रदेश सांसदहरू र तीन भाइलाई यात्रामा सहभागी नगराउने सुनिश्चित भएको अवस्थामा पनि सडक बन्द लगायतको कार्यक्रममा पुन: विचार गर्न सकिने सबैमा प्रष्ट पार्दछौँ।

तीन भाइ आम जनताको माग सम्बोधन गरेर जनताको खुसी र सुखको पक्षमा लाग्नुको साटो पहिचानवादीहरूलाई अपराधी र आतङ्कारीको आरोप लगाउँदै सके उनीहरू बिच विभाजनको कुत्सित प्रयास गर्ने, नसके साम्प्रदायिक द्वन्द्व गराउन उद्धत रहिरहेमा प्रदेशको शान्ति, समृद्धि, समाजवाद र राष्ट्रिय एकताको लागि भइरहेको पहिचानको आन्दोलन एकपछि अर्को सशक्त बन्दै जानेछ। एमाले, काङ्ग्रेस, माओवादी केन्द्र सम्बद्ध आदिवासी जनजाति नेता कार्यकर्ताहरूलाई प्रश्न गर्न चाहन्छौँ कि ‘कोशी’ र ‘कोसी’को भेद के हो? कौशिक (‘कोशी’) मान्नु पर्ने किन? पहिचानको आधारमा नाम राख्दा कसलाई के घाटा हुन्छ? एमाले लगायतका पार्टीहरूलाई के घाटा हुन्छ?

त्यसैले एमाले, काङ्ग्रेस लगायतका पार्टीका पहिचान विरोधी नेताहरूलाई प्रश्न गर्न, बहस चलाउन आग्रह गर्दै जनताको माग विरुद्ध जबरजस्ती गरिएमा हुने प्रतिरोध विरुद्ध डटेर अघि बढ्न सम्पूर्ण प्रदेशवासी समुदायमा हार्दिक आह्वान गर्दछौँ।

प्रदेश नाम ‘कोशी’ – खारेज गर!
प्रदेश नाम ‘कोशी’ – मुर्दावाद!
सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून्!
पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर!

२०८० मङ्सिर २२ गते

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button