आदिवासी

नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको पाँचौँ महाधिवेशन वाटफोर्डमा हुँदै

लन्डन, नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको पाँचौँ महाधिवेशन आगामी १९ सेप्टेम्बर २०२६, शनिबार वाटफोर्डमा आयोजना हुने भएको छ।

महासंघका अध्यक्ष नेत्रकला लिम्बू र महासचिव मनिकला राई गुरुङद्वारा जारी निमन्त्रणा पत्रअनुसार महाधिवेशन वाटफोर्डस्थित सालामास्टरको हलमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

‘बेलायतमा नेपाल आदिवासी जनजाति महिलाहरूको एकता, पूर्ण समानुपातिक, समावेशी र पहिचानसहितको संघीयताको अपरिहार्यता’ भन्ने नाराका साथ महाधिवेशन आयोजना गर्न लागिएको महासंघले जनाएको छ।

महाधिवेशनका अवसरमा महासंघको सांगठनिक अवस्था, बेलायतमा रहेका नेपाली आदिवासी जनजाति महिलाहरूको सहभागिता, नेतृत्व विकास, प्रतिनिधित्व, अधिकार तथा भावी कार्यदिशालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व तथा कार्यसमितिसमेत चयन गर्ने बताइएको छ।

सन् २०१२ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतले बेलायतमा रहेका नेपाली आदिवासी जनजाति महिलाहरूलाई संगठित गर्दै उनीहरूको हकहित, पहिचान, समानुपातिक समावेशिता र नेतृत्व विकासका क्षेत्रमा काम गर्दै आएको छ।

महासंघले पाँचौँ महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, शुभेच्छुक तथा समुदायका सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

Related Articles

Back to top button