आदिवासी जनजाति आयोगका १० प्रतिशत सिफारिस पनि कार्यान्वयन भएनन्ः अध्यक्ष थापामगर

ललितपुर, २१ माघः आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगले विगत पाँच वर्षमा सरकारलाई दिएका सिफारिसमध्ये १० प्रतिशतभन्दा बढी कार्यान्वयन नभएको बताउनुभएको छ ।
आदिवासी जनजाति आयोगको पाँचौँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सङ्घीय र प्रदेश संसद्मा आयोगका प्रतिवेदनमाथि गहन छलफल नहुनु लज्जास्पद भएको बताउनुभयो ।
अध्यक्ष थापामगरले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचान राज्य निर्माण प्रक्रियामा उत्पीडनमा परेको उल्लेख गर्नुभयो । विसं १९१० को मुलुकी ऐनबाट कानुनी रूपमै विभेद गरिएको इतिहास स्मरण गर्दै उहाँले यही पृष्ठभूमिमा संविधानको धारा २६१ अनुसार आदिवासी जनजाति आयोग गठन भएको स्पष्ट पार्नुभयो ।
“आयोगले सातै प्रदेशका ५०० भन्दा बढी पालिकामा भाषिक, सांस्कृतिक र परम्परागत अधिकारसम्बन्धी वकालत, प्रशिक्षण तथा सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ । संविधानको धारा २९४ बमोजिम आयोगले पाँचवटा वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिसकेको छ, जसमा ८४ वटा सिफारिस समावेश छन् । ती प्रतिवेदन प्रदेश प्रमुखहरूसमक्ष पनि पेस भइसकेका छन्”, अध्यक्ष थापामगरले भन्नुभयो ।
उहाँले आयोगमा परेका उजुरीमध्ये ९० प्रतिशतभन्दा बढी राष्ट्रिय गौरवका आयोजना, सडक विस्तार, राष्ट्रिय निकुञ्ज, जलविद्युत् परियोजनाका कारण परम्परागत भूमिमा दखल र जीविकोपार्जनमा परेको असरसम्बन्धी रहेको जानकारी दिनुभयो । स्रोत र समयको सीमाबीच पनि ९५ प्रतिशत उजुरीका सुनुवाइ सम्पन्न गरिएको उहाँको भनाइ थियो ।
कार्यक्रममा निजामती सेवामा ३५ प्रतिशत जनसङ्ख्या भएको आदिवासी जनजातिको प्रतिनिधित्व १६ दशमलव नौ प्रतिशत मात्र रहेको, नीतिनिर्माण तहमा उपस्थिति न्यून र राष्ट्रियसभामा समेत आदिवासी जनजातिको प्रतिनिधित्व १० प्रतिशतमा सीमित रहेको जानकारी दिइयो । संविधानको मर्मअनुसार विशेष कानुन नबनाए प्रतिनिधित्व शून्य हुने जोखिम औँल्याइएको थियो ।




