समाचार

१४ वर्षीया बुहारी माथि बलात्कारको आरोपमा ससुरा पक्राउ

कुटपिट गरी भिडियो सार्वजनिक गरेको आरोपमा छोरा पनि पक्राउ

विराटनगर, ९ मंसिर २०८३ । मोरङको कानेपोखरी गाउँपालिकामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। घटनाबारे बालिकासँग सोधपुछ गर्ने क्रममा उनलाई कुटपिट गरेको र त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले ती पुरुषका २३ वर्षीय छोरालाई पनि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर ९ गते जारी गरेको विज्ञप्तिअनुसार, कात्तिक २९ गते राति बालिकाकै घरमा ससुरा नाता पर्ने पुरुषले उनीमाथि जबरजस्ती करणी गरेको सूचना पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो। जबरजस्ती करणीको कसुरमा अनुसन्धान गर्न अदालतले मंसिर १ गते उनको हिरासतको म्याद थप गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, बालिकाका श्रीमान् भनिएका २३ वर्षीय युवाले घटनाबारे सोधपुछ गर्दै उनलाई कुटपिट गरेको भिडियो आफ्नै सामाजिक सञ्जाल खातामा राखेका थिए। भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई मंसिर ९ गते पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पथरीले ती युवामाथि विद्युतीय अपराध र बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Related Articles

Back to top button