गान्तोकमा जीवन थिङ जयन्ती सम्पन्न

गान्तोक,२० दिसम्बर । माटो कवि जीवन थिङलाई सम्झना गर्दै डिसेम्बर १९ दिन चिया कविता समूहले राजधानी गान्तोकको वेलनेस पार्कमा काव्योत्सवको साथमा उनको जन्म जयन्ती पालन गऱ्यो ।
चिया कवितासँग आबद्ध वरिष्ठ एवम् नवोदित कविहरूले कवि जीवन थिङप्रति श्रद्धा अर्पण गर्दै कविता सुनाए। माटो कवि जीवन थिङको तस्वीरमा उपस्थित कविहरूले खदा चढाई श्रद्धा अर्पण गरेपछि काव्योत्सव आरम्भ भएको थियो। यस अवसरमा नवोदित कवि सबिना राईको प्रथम कविता सङ्ग्रह ‘घामको जरा’-को पनि लोकार्पण गरियो। हिउँदे घाम, जैविक सुन्तला र नयाँ कविता नाममा आधारित कार्यक्रममा कवि अमर बानियाँ लोहोरो, उषा शर्मा, रत्न लक्सम सुब्बा, भीम राउत, ताम्लिङ सरोजनी सुब्बा, सप्तिका राई, दावा योञ्जन, सबिना राई, अम्बर लाछिकाठी, प्रवीण खालिङ, राधा पाण्डे र जीविका अश्रुले कविता वाचन गरेका थिए भने कलाकार सेवन राई, पत्रकार सागर छेत्री र अधिवक्ता चेङ्गा भोटियालगायत अन्य साहित्यानुरागीको पनि कार्यक्रममा उपस्थिति थियो ।



