समाचार

‘सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित’

काठमाडौँ, २८ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी हुनबाट रोक्ने अनेक प्रयास गरिएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले नेम्वाङको अन्त्येष्टि गरेर पशुपति आर्यघाटबाट फर्केपछि आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ । उहाँलाई मैले तपाईं ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ ।”

उहाँले सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आउनुभएको उल्लेख गर्दै भन्नुभएको छ, “उहाँले अलि हडबडाउँदै भन्नुभयो, ‘डरलाग्दो स्थिति छ, ३ गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बर्बाद हुनेछ । यस्तो भयो भने त देश नै सकिन्छ ।’”

दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूलाई भेटन आउँदा सधैँ शान्तरूपमा प्रस्तुत हुने नेता नेम्वाङ त्यो दिन कडारूपमा प्रस्तुत हुनुभएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले संविधान जारी भएपछि नाकाबन्दी भएको भन्दै भन्नुभएको छ, “हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !”

Related Articles

Leave a Reply

Back to top button