लण्डनमा छानिए यस बर्षको प्रतिभा नक्षत्र
इभाना भट्टराई प्रथम, मनसुना सारु मगर दोस्रो र डायमण्ड सारु मगर तेस्रो

लण्डन, गत १७ अगष्टका दिन ईस्ट लण्डनस्थित यस वर्षको प्रतिभा नक्षत्र २०२५ छानिएका छन् ।
उल्विइजको सेन्ट जर्ज ग्यारिजन ओपन ग्राउण्डमा आयोजित कार्यक्रममा दर्जनभन्दा बढी प्रतिभावान युवा प्रतिस्पर्धीहरूबीचबाट यस वर्षको प्रतिभा नक्षत्र २०२५ चयन गरिएको हो । दुई क्याटगोरीमा आयोजित प्रतिस्पर्धामा युवा ट्यालेन्टतर्फ इभाना भट्टराई प्रथम, मनसुना सारु मगर दोस्रो र डायमण्ड सारु मगर तेस्रो बने । विजयी प्रथम, दोस्रो र तेस्रोले क्रमशः नगद ७ सय, ६ सय र ५ सय पाउण्ड जित्न सफल भए । कसैले नृत्य, कसैले गायन, त कसैले चित्र कोरेर सहभागिता जनाएका थिए । पहिलो चरणमा परिचयात्मक, दोस्रोमा कला प्रस्तुती र तेस्रोमा प्रश्नोत्तर चरण रहेका थिए । यही तीनै चरणको प्रस्तुतीका आधारमा प्रथम, दोस्रो र तेस्रो घोषणा गरिएको हो । निर्णायक मण्डलीमा डा. रक्षा थापा, शुशिल प्रजापति, टंक धमला, डा. किरण प्रधान र एलिना गुरुङ रहेका थिए ।
बाल क्याटगोरीमा सुरज्ञा केसी, आर्शिया भट्टराई र सुमिना इस्बो लिम्बु क्रमशः प्रथम, दोस्रो र तेस्रो बने । विजयी सबैलाई शिल्ड र सहभागी सबैलाई प्रोत्साहनस्वरूप मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सुरुवात विभिन्न जातीय झाँकीहरूबाट भएको थियो । नेवारी, थारु, लिम्बु, मगर, खस र आर्य समुदायले आफ्नै भेषभूषामा मौलिक झाँकी प्रस्तुत गरेका थिए । युकेको नौमति बाजा, किरात याक्थुङ चुम्लुङ युकेको च्याब्रुङ झाँकी, लिम्बु कलाकारहरूको संगठन सेवारो कलाकार संघको धाननाच, नेवारी गाईजात्रा, थारुहरूको सांस्कृतिक नृत्य र खस समुदायको जातीय नृत्य विशेष आकर्षण बने ।
कार्यक्रमको उद्घाटन युकेको लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गर्नुभयो । उहाँले युकेमा जन्मिएका वा नेपालबाट बाल्यकालमै युके आइ हुर्किरहेका बालबालिका तथा युवाहरूको सर्वाङ्गीण विकास र उनीहरूमा नेपाली भाषा, साहित्य र संस्कृतिप्रति शिक्षा दिनु अभिभावकहरूको मुख्य जिम्मेवारी हुने भएकाले ‘प्रतिभा नक्षत्र’ जस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । नेपालबाट आमन्त्रित पत्रकार टिकाराम यात्रीले युकेमा सयौँ संघसंस्थाहरू रहे पनि ‘प्रतिभा नक्षत्र’ले गरेको कार्य सबैभन्दा महत्वपूर्ण लागेको बताए ।
प्रतिभा नक्षत्र गाँउ बनाईएको थियो । सो गाँउ भित्र थारु घर, नेवारी गाँउ, खस घर, साहित्य घर, जमैकन पसल, कोदोको रक्सी, विविध बिक्रि घर करिब ३ दर्जन स्टलहरु रहेका थिए । धिमे बाँजा, बाँसुरी लगायत थप आकर्षण रहेका थिए ।
कुमारबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पहिलो चरणको सञ्चालन लक्ष्मण गुरुङले गरेका थिए भने दोस्रो चरण समिरा लामा र राजेश बर्देवाले सञ्चालन गरेका थिए । सहभागीहरूलाई मनिष श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा नेपालबाट घरेलु तथा साना उद्योग महासंघ काठमाडौंकी अध्यक्ष डोल्मा शेर्पा, ईश्वर गुरुङ, महासचिव जितेन्द्र श्रेष्ठ, पत्रकार टिकाराम यात्री, किताब जात्राका रिषीराम अधिकारी, गुठी संस्थानका शैलेशराज कुवरसहितको उपस्थिति रहेको थियो ।
युकेमा जन्मिएका र हुर्किरहेका नेपाली बालबालिकालाई आफ्नो भाषा, संस्कार र संस्कृतिमा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१७ देखि निरन्तर हुँदै आएको ‘प्रतिभा नक्षत्र’ कार्यक्रमको परिकल्पना राजेन्द्र खस, सन्तोष कार्कीलगायतले गरेका थिए । यस वर्ष यो कार्यक्रम छैटौँ संस्करणका रूपमा सम्पन्न भएको हो । सहभागीहरू युकेबाहिर बेल्जियम र पोर्तुगलबाट पनि आएका थिए । आयोजकहरूले आगामी दशौँ संस्करणलाई विश्वव्यापी सहभागितासहित नेपालमा आयोजना गर्ने जानकारी दिएका छन् ।




