समाचार

राष्ट्रिय कविता महाेत्सवका लागि रचना आह्वान

विमल कृति पुरस्कारमा पनि पुस्तक पठाउन सकिने

३१ जुलाई, विजयपुर । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरान–१८ ले ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ का लागि कृति तथा ३४औं राष्ट्रिय कविता महोत्सव–२०८२ का लागि कविता आह्वान गरेको छ ।

पुस्तकालय सञ्चालक समितिले आगामी २०८२ कात्तिक १९  गते सम्पन्न हुने राष्ट्रिय कविता महोत्सवमा २०८१ सालभरी प्रकाशित नेपाली भाषाका जुनसुकै विधाका कृतिहरू मध्येको उत्कृष्ट एक कृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय गरेको हो । उत्कृष्ट कृतिलाई  नगद दुइ लाख रुपैयाँ ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

३४औं राष्ट्रिय कविता महोत्सवमा प्रथम हुने कविताले नगद २१ हजार र प्रमाणपत्र त्यसैगरी  द्वितीय हुने कविताले नगद १८ हजार र  तृतीय हुने कविताले  नगद १७ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिता स्वदेश र विदेशमा रहेका नेपाली साहित्यकारहरूको लागि पूर्ण रूपमा खुला छ । यसका लागि कविता अन्यत्र प्रकाशित नभएको हुनुपर्ने र आधिकारिक इमेल bimal1234gurung@gmail.com मा पठाउनुपर्ने पर्नेछ । कविताको शब्द संख्या र शैलीमा कुनै बन्देज छैन ।

कविता प्रतियोगितामा सहभागिताका लागि पनि स्वदेश र विदेश बसेका नेपाली साहित्यकारहरू सबैका लागि खुला गरिएको छ । उनीहरूले इमेलमार्फत् कविता पठाउन सक्ने छन् । कविताको शब्द सङ्ख्या यति नै हुनुपर्ने र निश्चित ‘कन्टेन्ट’ मा लेख्नैपर्ने भन्ने बाध्यता छैन ।

त्यस्तै, कृति पुरस्कारका लागि सर्जकले चार प्रति ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय, धरान–१८, बुद्धचोक’ काे ठेगानामा पठाउनुपर्ने छ । विमल कृति पुरस्कार जुनसुकै विधामा लेखिएको नेपाली भाषाको पुस्तकलाई दिन सकिनेगरी खुला गरिएको छ । नेपाली नागरिक नै हुनुपर्ने नभएर विदेशी नागरिकले पनि पाउन सक्ने तर नेपाली भाषामै लेखिएको हुनुपर्ने अहिलेको सामान्य शर्त छ । कविता र कृति दुवै भदौ महिनाभित्र पठाइसक्नु पर्ने पुस्तकालयले जनाएको छ ।

Related Articles

Back to top button

This will close in 0 seconds