समाचार

स्वर्णिम साहित्य सम्मान र पुरस्कार वितरण हुँदै

'काेइलाखाद' उपन्यासमाथि परिचर्चा हुने

७ मे, बराहक्षेत्र । स्वर्णिम साहित्य समाज, बराहक्षेत्रले यस वर्ष पनि सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ । स्थापनाकाे १९ ओैँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा दुई सर्जकहरूलाई सम्मानित गर्न लागेको हाे ।

पूर्व सँस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीकाे प्रमुख आतिथ्यमा बैशाख २७ गते शनिबार बराहक्षेत्र नगरपालिकाकाे ५ नम्बर वडा कार्यालयमा एक समारोहबीच पुरस्कार र सम्मान प्रदान गरिने स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्सालीले जनाए । यस वर्ष स्वर्णिम साहित्य पुरस्कार पान्थर मिक्लाजुङ रविनिवासी कवि तथा उत्तरवर्ती साेँचका प्रवर्तक सगुन सुसारालाई प्रदान गरिने समाजले जनाएको छ । पुरस्कारको राशी ५०,१५१ रूपैयाँसहित ट्रफी र सम्मानपत्र रहेको छ ।

त्यस्तै, स्वर्णिम साहित्य सम्मान बराहक्षेत्रनिवासी अग्रज कवि मान बज्राचार्यलाई अर्पण गरिने आयोजकले जनाएको छ । सम्मानको राशी ११,००१ रूपैयाँसहित ट्रफी र सम्मानपत्र रहेको छ । गत वर्ष पुरस्कार राम कुमार तिवारी र सम्मान रुद्र दाहाललाई प्रदान गरिएको सचिव लक्ष्मण कटुवालले जानकारी दिए ।

साेही दिन आख्यानकार श्याम सिङ्गककाे तेस्रो उपन्यास ‘कोइलाखाद’ माथि पनि परिचर्चा गर्ने कार्यक्रम रहेको संयाेजक शारदा निराैला ‘शारु’ ले जनाइन् । परिचर्चामा उपन्यासकार सिङ्गकसँगै कवि देवान किराती र प्राध्यापक रमेश काफ्ले वक्ताका रूपमा उभिनेछन् । प्यानल बहसलाई कवि छविना लुङ्गेली मगरले सहजीकरण गर्नेछिन् । ३५४ पृष्ठकाे उपन्यास फिनिक्स बुक्सले ल्याएको हाे । गत बैशाख १८ गते काठमाडौंमा विमाेचन भएको उपन्यास मेघालयमा काेइला खानीमा काम गर्ने मजदुर र आदिवासीउपर केन्द्रित रहेको छ ।

Related Articles

Back to top button