समाचार

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

न्यूयोर्क (अमेरिका), ५ वैशाखः नेपालले प्रस्ताव गरेअनुसार पारित भएको अन्तरराष्ट्रिय आरोग्य दिवस शुक्रबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

सो कार्यक्रममा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले आरोग्यताले गरिबी निवारण दिगो विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । राजदूत थापाले आरोग्यताको अन्तरसम्बन्ध मानसिक स्वास्थ्य र सार्वजनिक स्वास्थ्यसँग समेत हुने भएकाले यसलाई विश्वव्यापी रूपमा लैजान बल पु¥याएको बताउनुभयो । राष्ट्र सङ्घीय सामाजिक तथा आर्थिक मामिलासम्बन्धी उपमहासचिव ली जुन हुवाले मानव जीवनमा आरोग्यताले सामाजिक आर्थिकलगायतका विषयमा प्रभाव पार्ने भएकाले यो महत्त्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा गुरु एलपी भानु शर्माले आरोग्यताले बहुआयामिक आयामिक पाटोहरूलाई सम्बोधन गर्ने भएकाले यसलाई निरन्तर रुपमा अपनाउन अपिल गर्नुभयो । कार्यक्रममा हार्डवर्ड युनिभर्सिटीका प्रोफेसर टेलरले योग्यता र मानव जीवनको प्रभावको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा विभिन्न देशका कूटनीतिज्ञहरूले नेपालले संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरेको अन्तरराष्ट्रिय आरोग्य दिवसको प्रशंसा गरेका थिए । यसरी प्रशंसा गर्नेहरूमा पोर्चुगल, डोमिनिकन रिपब्लिक, अर्मेनिया, भारत, भुटान, श्रीलङ्का, बङ्गलादेशलगायतका कूटनीतिज्ञहरू उपस्थित थियो ।

राष्ट्रसङ्घले नेपालको प्रस्तावमा हालै पारित गरेको प्रस्तावअनुसार हरेक वर्षको अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसको रुपमा मनाइने भएको छ ।

Related Articles

Back to top button