समाचार

जसपा निकट कानुन व्यवसायी सङ्घको केन्द्रीय समिति पुनर्गठन

ललितपुर (गोदावरी), १७ फागुनः जनता समाजवादी पार्टी (जसपा), नेपाल निकट सङ्घीय कानुन व्यवसायी सङ्घ (एफएलए) को केन्द्रीय कार्यसमिति पुनर्गठन भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज आयोजित कानुन व्यवसायीको भेलाले वरिष्ठ अधिवक्ता वीरेन्द्रकुमार ठाकुरको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो ।

सङ्घको उपाध्यक्षमा अधिवक्ता दीपनारायण यादव, भगवती सुवेदी र किरणकुमारी साह चयन हुनुभएको छभने महासचिवमा अधिवक्ता प्रिती रमण र सचिवमा साया खड्का चुनिनुभएको पार्टी अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको सदस्यमा विमला विश्वकर्मा, उमाशङ्कर देव, अस्मिता थापा, रसना यादव, रामचन्द्र महतो, मोहम्मद समिम, सुरेन्द्र कुर्मी र घनश्याम शर्मा चयन हुनुभएको छ । साथै केन्द्रीय सल्लाहकारमा वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंहलाई चयन गरिएको उहाँले बताउनुभयो ।

भेलाले आगामी चैत २३ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा अन्य दलसँग सम्बद्ध कानुन व्यवसायीको सङ्गठनहरूसँग वार्ता, छलफल र सहकार्य गरी उम्मेदवारी दिने निर्णय गरेको चौरसियाले बताउनुभयो । सोका लागि बैठकले मिथिलेशकुमार सिंह, विमला विश्वकर्मा, आशा राई र वीरेन्द्रकुमार ठाकुरलाई जिम्मेवारी तोकेको छ । यसअघि सङ्घको केन्द्रीय अध्यक्ष रहनुभएका अधिवक्ता दीपक राई अन्य पार्टी निकटको सङ्गठनमा आबद्ध भइसकेकाले साधारण सदस्यसमेत नरहने गरी बैठकले निजलाई निष्कासन गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, जसपाले समाजवादी खेलकुद महासङ्घ केन्द्रीय तदर्थ समिति गठन गरेको छ । अध्यक्ष यादवका स्वकीय सचिव चौरसियाका अनुसार युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विन्देश्वर यादव ‘विक्की’ को अध्यक्षतामा आजै बसेको बैठकले श्याम शिल्पकारको अध्यक्षतामा १५ सदस्यीय समाजवादी खेलकुद महासङ्घ गठन गरेको छ । महासङ्घको उपाध्यक्षमा दिनेश महतो, महासचिवमा राजेश गुप्ता र सचिवमा दीपेन्द्र गोइत चयन हुनुभएको छ ।

यसैगरी, सन्तोष दास, जितेन्द्र यादव, रवीन्द्र श्रेष्ठ, कृति साह, विक्रम पौडेल, सनोजराज वैद्य, मृगेन्द्रविक्रम साह, अनिल यादव, धर्मदेव साह, रोमा राई, कर्मा महर्जन र दीपेन्द्रकुमार यादव महासङ्घको सदस्यमा चयन हुनुभएको उहाँले बताउनुभयो ।

Related Articles

Back to top button