समाचारसाहित्य सिर्जना

साहित्यकार धरावासी र स्मृतिलाई अमर नेम्वाङ साहित्य सम्मान

०८ फेब्रुअरी, फेदेन । मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी र युवा कवि स्वप्निल स्मृति यस वर्षको अमर नेम्बाङ साहित्य सम्मानबाट सम्मानित भएका छन् ।

शनिबार पान्थरको फेदेनस्थित मनश्वी होटलको सभहलमा अमर नेम्बाङ लिम्बुको छैटाैँ स्मृति दिवशको अवसरमा अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानद्वारा आयोजित समारोहमा साहित्यकार धरावासी र कवि स्मृतिलाई सम्मानपत्र सहित जनही नगद ५० हजार रुपैंयाँ राशीको सम्मान प्रदान गरिएको थियोे ।

अमर नेम्बाङ साहित्य सम्मानबाट यसअघि २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मा, २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७९ मा श्रवण मुकारुङ र प्रेम ओझा त्यस्तै २०८० मा विमला तुम्खेवा र गिरिराज बाँस्कोटा सम्मानित भइसकेका छन् ।

कार्यक्रममा प्रतिष्ठानले फाल्गुनन्द गाउँपालिका–५ फाक्तेप कोल्बुङस्थित जनकल्याण मावि, कक्षा–११ मा अध्ययनरत छात्रा अञ्जना चेम्जोङलाई नगद १५ हजार रुपैंयाँ छात्रवृत्ति प्रदान गरेकाे थियो । त्यस्तै गत बर्खामा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका र बेपत्ता बनेका जिल्लाका १६ परिवार र फालेलुङ गाउँपालिकामा वेवारिसे वम विष्फोट हुँदा ज्यान गुमाएका र घाइते भएका बालबालिकाको परिवारलाई जनही दश हजार रुपैंयाँका दरले राहत हस्तान्तरण गर्‍याे । प्रतिष्ठानले बाढीपहिरोको समयमा उद्धारकार्य र मानवीय सहायतामा सक्रियतापूर्वक काम गर्ने हाम्रो सहारा पाँचथरलाई नगद ५० हजार रुपैंयाँ सहितकाे राशीले सम्मानित गरेको थियोे ।

पर्यावरणीय साहित्य लेखनका अभियन्ता अमर नेम्बाङ फाल्गुनन्द गाउँपालिकाका पूर्व जननिर्वाचित अध्यक्ष एवम् कवि, साहित्यकार हुन् । उनको ‘सम्झनाका तरेलीहरु’ (संस्मरण), ‘अमेरिका भ्रमणका केही सम्झनाहरु’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ (कविता कृति) प्रकाशित छन् । नेम्बाङ राजनीतिज्ञ, समाजसेवी एवम् पाश्चात्य साहित्यका व्याख्याता थिए ।

वि.सं.१९९८ साउन २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवा गाउँमा जन्मिएका अमर नेम्बाङको वि.सं.२०७५ माघ २६ गते फाल्गुनन्द गाउँपालिकाको जननिर्वाचित अध्यक्ष रहेकै समयमा निधन भएको थियो ।

Related Articles

Back to top button