समाचार

घटनाको प्रतिवादी आदेशले होइन प्रमाणले बनाउनुस्: गृहमन्त्री लामिछाने

काठमाडौँ, २७ फागुनः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन पनि प्रहरीलाई आग्रह गर्नुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभइ प्रमाणका आधारमा बनाउन पनि उहाँ निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछानेले भन्नुभयो, “कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान हुँदै गर्दाको प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस्, अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानुनको नजरमा सबै बराबर हुनुपर्दछ ।”

उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।

उहाँले सङ्गठन निर्माण र उच्च छवि बनाउन योगदान दिनुहुने सम्पूर्ण पूर्वप्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूप्रति सम्मान समेत प्रकट गर्नुभयो । कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रही निर्वाह गर्नुपर्ने तथा उनीहरूको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्ने बताउँदै गृहमन्त्री लामिछानेले कर्मचारीको सरूवा, बढुवा तथा वृत्ति विकासका लागि आवश्यक नीति र योजना बनाएर ल्याउन आग्रह गर्नुभयो ।

गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्षजनशक्तिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, अपाङ्गता भएकाहरुको न्यायका लागि अझ बढी सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उहाँले निर्देशन दिनुभयो ।

मिटरब्याजपीडित, सहकारीपीडितको समस्या ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उहाँले आर्थिक अपराध, ठगी, साइबर अपराध, लागुऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रणमा जुट्न पनि आग्रह गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीबाट भएको निर्देशन कार्यान्वयनका लागि सङ्गठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button