सिक्किमे जनतालाई पटक-पटक भ्रममा यसरी पारियो – युवराज घलेभाइ
गत २०१९ मा ठूलो परिवर्तनको नाम दिएर सिक्किमे जनतालाई पटक-पटक भ्रममा पारिएको छ । परिवर्तन भएको छ भन्दै खालीखुट्टे जनतालाई उफ्री-उफ्री प्रश्न गरिन्छ कि प्राचीनकालमा रुखको बोक्राको लुगा लगाइन्थ्यो, परिवर्तनपछि सुविधायुक्त लुगाहरु लगाइन्छ । के यो परिवर्तन होइन ? कसले यसलाई परिवर्तन भन्दैन ? पहिले-पहिले गोरेटो र गल्लीहरु पनि थिएनन्, परिवर्तनपछि बाटोघाटो तथा सबै सुविधाजनक भएको छ । पहिले-पहिले राजा थिए,पछिल्लोकालमा छैन । के यो पनि परिवर्तन होइन र ? राजतन्त्रपछि प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र कति हो कति । परिवर्तन नभएको कहाँ छ र ? परिवर्तनको ‘प’ पनि नस्वीकार्नेहरु त प्रतिक्रियावादी हुन् । यस्तै यस्तै । वास्तवमा,आजसम्म सिक्किममा कति परिवर्तन भयो अथवा यहाँ कतिखाले राजनीतिक व्यवस्था परिवर्तन भए भन्ने कुरा सबैसामु जगजाहेर छ । शायद भनिरहन पर्दैन । जति भएका छन् नाम मात्रका छन् । क्रमको भङ्गता होइन,क्रमको निरन्तरता मात्र भएको छ । जनताले ‘बोतल नयाँ र रक्सी पुरानै – जस्तै परिवर्तन चाहेको होइन,बोतलमा जुस परिवर्तन सरकार चाहेको हो । अझै पनि सिक्किममा आम जनता भित्रभित्रै असन्तुष्ट छन् । पिरोलिएका छन् । रिसाएका छन् । गरिबीको कारण कतै भोकमरीको सामना गर्न बाध्य छन् ।
कोही राज्यबाटै,कोही पार्टीबाटै हरेक निकायमा अपमानितको अपमानित,तिरस्कृतको-तिरस्कृत भएर बाँच्न विवश छन् । षड्यन्त्रमा परेका परेकै छन् । हो,केही मुठ्ठीभरका विभेदकारी, विशेषाधिकारी, भ्रष्टाचारी बाहेकका आमजनता रोएरै हिँडिरहेको छ । रुँदा-रुँदै रिसाएर हिँडेको छ। रुवाई र रिसाइको चित्कार मिश्रित छ । क्रान्तिकारी योद्धाभित्र परिवर्तन हुनसकेको छैन । सिक्किमको जनता खुशी हुनुमा,मुख्यमन्त्री स्वयं खुशी हुनसकेको छैन । सत्तारूढ दल SKM PARTY सिक्किम क्रान्तिकारी मोर्चा,मर्चा दलको अफिसियली सामाजिक संजाल पेजमा भनाइ र गराइमा डायलग स्लोगन ‘मन हाम्रो खुशी छ,गोलेको सरकारमा’_ गीत गाएता पनि अहिलेसम्म कुनै जनता खुशी हुन सकेको छैन। भन्नुको अर्थ मान्छे मान्छे भएर जिउन पाएकै छैन ।
तैपनि यो सरकारमा असफल शासक र तिनलाई सहयोग गर्न प्रतिनिधि चम्चे,झोलेहरु निरन्तर मोजमस्तीमा रमिरहेका छन् । उनीहरू सरकार परिवर्तन भन्दै जसलाई जे आवश्यक छ,त्यसले त्यो पाउँछ र पाएको पनि छ भन्दै आफ्नो प्रयासलाई परिष्कृत ढङ्गले बढाइरहेका छन् , परिवर्तन सरकारको खोक्रो नाम बेच्दै । परिवर्तित हुनुपर्ने ठाउँमा नजानिँदो पाराले परिमार्जित मात्र भएका छन् । परिमार्जित भनेको परिवर्तन होइन,परिमार्जित – परिमार्जित नै मात्र हो । राजनीतिक व्यवस्था नौलो देखाइन्छ तर प्रशासन प्रक्रियामा पुरानोलाई नै स्थायी गरिन्छ । चुनौतीहरु नयाँ देखाइन्छन् तर समाधान गर्ने शक्ति पुरानै हुन्छ । कसैलाई थाहा छैन र । विज्ञानको आधारमा जे पनि स्वत:विगतमा भन्दा वर्तमानमा केही त परिवर्तन हुन्छ तर यसैलाई नयाँ सोच,नयाँ सरकार र परिवर्तित सिक्किम भन्नु छलकपट हो । शतप्रतिशत जनताको टाउकोमा करोडौं,अरबौ ऋणको बोझ थोपरिएको छ। केही केही समय,पहिले हाम्रा बाजे/हजुरबाजेहरुको पालामा सिक्किमलाई एक रुपियाँ पनि ऋणको बोझ थिएन ।
बाहिर-बाहिर जे भनिए पनि भित्रभित्र केही पनि परिवर्तन भएको छैन,बरु नेताहरूको चाहिँ भनेको जस्तो परिवर्तन भयो,सत्तापरिवर्तन छ त उल्टो । हो,कहिले परिवर्तन हुन नसकेको सत्ता र यसका आसेपासे भत्ता खानेहरुबाट आफैंलाई टिकाउन र थप बलियो बनाउन मात्र परिवर्तनहरु भएका छन् “ठूलो घाउ दुख्दैन तर त्यसले ज्यान लिने लिन्छ-भनेजस्तै परिवर्तित सिक्किमको नाम नदुख्ने ठूलो घाउ जस्तो छ । सिक्किम इतिहासका घाउहरु । जबर्जस्त परिवर्तनको अनुभव गराउन उपस्थित छद्म शासकहरुले के गरेका छन् भन्नुभन्दा पनि के गरेका छैनन् र । शैक्षिक पाठयक्रमलाई समेत गलत प्रयोग गरेका छन् । असफल र अन्तर्राष्ट्रिय नेताहरूलाई परिवर्तनका संवाहक भनेर चिनाएका छन् । पालैपालो सत्ताभोग गर्नेहरुको प्रतिबद्धता र घोषणापत्र त सत्तामा जाने भर्याङ मात्र भएको छ । सत्तामा पुगेपछि जनतालाई धोका दिएका छन् , स्वाभिमान बेचेर आफूलाई नै कमजोर बनाइएका छन् ,तर यो नौलो कुरा भने होइन। आधुनिक सिक्किमको राजनीतिमा कथित भ्रष्टाचार प्रशासनिक दमनको अभियान प्रारम्भदेखि नै हो । परिवर्तनको नयाँ-नयाँ शब्दले भरिएका नामहरु हामीले सुनेका छौं,जुन नामहरु मुखमै झुन्डिएको पनि छ । परिवर्तनको नाम त के के हो,केके । यसरी परिवर्तनको नाम बाँढिरहँदा जनताले कति दु:ख झेल्नु परयो,थाहा भएकै कुरा हो । आङ सिरिङ हुन्छ । कहिलेसम्म सिक्किमको जनताले यस्तो काइते र भ्रामक परिवर्तनको शिकार हुने ? गम्भीर प्रश्न हामीसामु छ । नयाँ राजनीतिक कालखण्डको जन्म भयो भनेर जबर्जस्ती सरकारको मनगढन्ते पुस्तकमा लेखिएको छ तर उही क्रूर तानाशाही,असफल र साम्प्रदायिक नीतिलाई बलियो बनाउने प्रयास गरिरहेका छन् ।
तिनका हंस,वंशलाई छद्म पाराले सत्ता दिने पारा गर्दैछन् । सिक्किम राजनीतिमा पछिल्लो राजनीतिक कालखण्डको विधानसभा,लोकसभा चुनाउ एउटा प्रमुख विपक्षी पार्टीले चुनाव लडयो भन्नु भ्रम हो । एउटै विधानसभा सीट नजित्नु बडो दु:खलाग्दो कुरो हो । प्रमुख विपक्षी राजनैतिक दलको कमी,कमजोरी रहेको यहाँ बुझ्न सकिन्छ । नेतृत्वको कमी। आजसम्म,त्यसपछि पनि कुरा उस्तै छ । उही पुरानै पार्टी र सत्ता जातिभेदी,धर्मभेदी र क्षेत्रभेदी नीतिबाटै चलाएका छन् । जनताले चाहेको त्यो निरन्तरताको भङ्ग हो । नदी त बग्छ-बग्छ । यदि उसको बाटोलाई थुनियो भने अवश्यै अर्कोबाटो लिन्छ । त्यो बाटो लिँदा नदी भेल बन्छ,र विनाशकारी हुन्छ । हो,जनता नदी हो । नदीलाई थुन्ने प्रयास नगरिएको होस् । बरु नहर बनाइएको होस् । यदि नदी पनि थुन्ने र नहर पनि नबनाउने हो भने त त्यसको परिणाम स्वाभाविक र प्राकृतिक हुन्छ । बुझ्नुपर्ने यो छ कि वास्तवमा शासक आफैं र बाहिरबाट सहयोग गर्ने तिनका प्रतिनिधि पात्रहरुका लागि परिवर्तन आवश्यक हुँदैन र थिएन पनि । निरन्तर हालीमुहाली गर्दै आएका शासकवर्गलाई स्वाभाविक रुपमा आफ्नो भाग जाने डर हुन्छ । परिवर्तन त स्वत:घाँडो हुन्छ तर उनीहरू नै परिवर्तनको विश्वासिलो संवाहक भएका छन् । यो कुरा सुन्नुपर्दा निक्कै अप्ठ्यारो हुन्छ । आखिर कसलाई परिवर्तनको खाँचो छ ?
आज सिक्किममा पूर्व सरकारको तानाशाही सत्ताबाट विमुख भएका जाति,समुदायलाई हो। उल्टो यो समस्या समाधान त हामी आफैं गर्दछौं भन्दै उही असफल शासक र तिनका प्रतिनिधिहरुले राजनीतिभित्रको नेतृत्व परिवर्तन गरेका छन् त । उनीहरूले यो जनताको जड समस्याको समाधान गर्ने भए त २५ वर्ष सरकार चलाएको खालीखुट्टे जनताले केही राहत अनुभव गर्नुपर्ने हो। कायापलट गर्नुपर्ने हो। अझ राम्रो काम गर्नको लागि भन्दै दुई तिहाई मत हासिल गरेर भएपनि लामो समयसम्म सत्ता हाँक्ने मेरो सिक्किमको सपना देख्छन् , सिक्किमका भ्रष्टाचारी शोषकले,तिनकै वंशावलीहरु । सिक्किममा के को लागि परिवर्तन,हामीले परिवर्तन गरिहाल्यौं भन्दै ढोल पिट्दै भ्रष्टाचारी,शोषकले विश्लेषण गर्छन् । के २५ वर्ष सरकार चलाएको भन्दा बढी कार्यकाल पनि थोरै हुन्छ र ?? – हो,यहाँ झेली कुरो गरिएको छ । सिक्किम इतिहासका घाउ माथि जानि बुझिकन सधैं सङ्कटमा पार्ने खेल खेलिएको छ । आजसम्म जनताले दुई तिहाइ मत पनि दिएकै हुन् । हो, अब तिनीहरू नयाँ प्रतिनिधि पात्र बनेर गम्भीर भएको र सिक्किमे भूमिको नाममा गोहीको आँशु झार्दै वा भाषणमा विद्रोह ओकल्दै गरेको देखिएका अब खालीखुट्टे जनता गलल हाँस्न थालिसकेको छ । त्यसैले त राजनीतिमा अर्को टुसा पलाउनु पर्दछ । सधैं भ्रामक परिवर्तनको शिकार हुनबाट जनता मुक्त हुनुपर्दछ । सन् २००९ देखि २०१४ साल,काल वास्तवमा निकै अनौठो र छलकपटपूर्ण रहेकामा दुईमत छैन ।
००००० हुन त लामो राजनीतिक कालखण्डदेखि नै सिक्किमेले आजपर्यन्तसम्म ढुक्कले श्वास फेर्न पाएको छैन । शान्तिको राहत अनुभव गर्न पाएको छैन । सिक्किमभित्र राजनैतिक विपक्षी पार्टीका नाइके सरकार बनाउन असफल, २०१४ – को विधानसभा चुनाव क्षेत्रबाट पराजित हुनपुगे । पार्टी,सरकार,संगठन,नेतृत्व,नेता कुन चरीको नाम हो, थाहै थिएन। असंख्य पार्टी गठनले विपक्षी हारले यो कुरा आफै प्रमाणित गरयो। सिक्किममा पुरानो कानुनको धज्जी उडाइयो । हो न हो, त्यसबेला कसैले केही गर्न सकेनन् । त्यसपछि त झन पुरानाहरुकै वर्चस्व रहयो तर पुरानाको बिँडो थाम्ने राजनीतिक संगठनहरु निर्वाचनको पानी छर्केर नयाँ र शुद्ध हुँदैनन् आखिर भएनन् पनि। निर्वाचनले त पुरानालाई “सर्विसिङ” गर्ने त हो,गरिदियो । तथापि जनताको चाहना पुरानो फेरेर नयाँ ल्याउने हो,पुरानालाई नै “सर्विसिङ”- गर्ने मात्र होइन। नयाँको नाममा घुमाउने पाराले उही पुराना सत्ताकै भ्रष्टाचारीहरु नै आए परिवर्तन सरकारमा । यसलाई उही घुमाउरे पाराले नै बुझ्दा मात्र थाहा लाग्छ र अब जनता झसङ्ग हुनुपर्छ । ओहो कुरा यस्तो पो ।
सिक्किममा यो कस्तो राजनीतिक परम्परा हो । सत्ताको शक्ति हुन्जेल उसकै डम्फू बजाउने परम्परा यहाँ स्मृतिमा नरबहादुर भण्डारी शासनभन्दा अघिदेखि रहेको हो र अझै पखालिएको छैन । जनता भन्नु नै राज्य हो र राज्य भन्नु नै जनता हो । वास्तवमा जनताबिनाको राज्य के राज्य ? यस्ता अमिल्दो र झेली बहाना सिर्जना गरिए । परिवर्तनको नाममा परिवर्तन नभइ दिएपछि अब जनताले नयाँ विकल्प युवा नेतृत्व खोज्न थालेको छ । यो चेतनाको उपलब्धि हो । हामीलाई थाहा छ कि जनतालाई झुक्याएर,धोका दिएर,कानुनी मुद्दा,जेल हालेर,झेल गरेर तह लगाउँछु भन्नेहरु जनताकै सामुन्ने सुलीमा चढनु परेको दु:खलाग्दो घटना छ । परिवर्तनको सस्तो नाम बेचेर,लोकप्रियताको सस्तो खोल ओढेर जनता र शिक्षित बेरोजगार युवाहरूको आत्मा-मनोबललाई डुबाइरहें,डुबाइरहेका छन् । जनवाद परिवर्तनको भर्याङमा सत्ता प्राप्त गर्ने अनि धनवादतिर लाग्ने संस्कार विकास भइरहयो,यधपी यसको परिणाम हामीले नसोचेको हुन बाँकी छ भन्ने लाग्छ।
सिक्किम कसको हो ? सिक्किम कसको हातमा छ ? सिक्किम कसले चलाइरहेको छ ? अब सिक्किम कस्तो हुनुपर्ने हो ? सरकार परिवर्तन वास्तवमा अन्योलमा गुज्रियो । सिक्किमको राजनीतिमा यो कस्तो-कस्तो उदेकलाग्दो खेल । हो, बाहिर सुनेका कुरा त सब झुटा भइदिन्छन् । जे गरेपनि,आखिर टिक्नुपर्ने त उही विभेदकारी र साम्प्रदायिककारी पुरानै सत्ताकै परम्परा टिकिरहेको छ। आज सिक्किममा जति भ्रष्टाचार गरेर ब्रहमालुट गरयो । यसलाई अबको तेस्रो पुस्ताका युवाहरुले मान्नेवाला छैनन् । अब धारणा गरिएको नीति,प्रवृति तथा वाद फेरिनु पर्दछ। उल्लेखित झेली र काइते राजनीतिक घटनाक्रम र व्यवस्था हेर्दा हामी आफै अनुमान गर्न सक्छौं कि पुराना-पुराना परिवर्तन कस्ता थिए र केका लागि थिए भनेर अब नेता-नेतामा मात्र होइन,परिवर्तन भन्ने कुरा जन-जनमा पुग्नुपर्छ । आज सिक्किममा यस्ता परिवर्तन त कति हो कति सबैलाई दृष्टि भ्रममा पारिएको छ ।
– गान्तोक सिक्किम (भारत)
(लेखक सिक्किममा सक्रिय पत्रकार तथा कवि हुन् । सामाजिक रूपान्तरणको पक्षमा कलम चलाउने घलेभाइ साहित्यमा पनि सक्रिय छन् ।)