लेख

दशैसँग कस्तो छ नौरोजको सम्बन्ध र किन हुदैन दशैको हर्षउल्लास खसानमा – टेक बहादुर थापा/जनक कुमार कटुवाल

दशै पहिला चैत महिनामा मनाइथियो जसलाई अहिले पनि चैते दशै भनिन्छ र त्यस्तो भब्यरुपमा नमनाए पनि सेरेमोनियल रुपमा भएपनि चैते दसैं अहिलेसम्म पनि मनाइदै आएको छ |चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ। नेपाली चाडपर्वमा चैते दसैँको पनि महत्त्वपूर्ण स्थान रहेको छ। नेपाल भरिमा चैते दसैँ विभिन्न ठाउँमा मनाइने गरिन्छ। तीमध्ये बागलुङ जिल्लाको देवीस्थानमा मनाइने चैते दसैँको आफ्नै विशेष स्थान रहेको छ। चैते दसैं बसन्त ऋतुको आगमनलाई स्वागत गर्न मनाइेएको हो त्यसैले नयाँ जीवनको अनुभुती गराउन जमार (सब्बजी) उमार्ने र त्यो दशौ दिनका दिन ठुला – बढाबाट आशिर्वाद सहित जमरा लिने चलन थियो |

जमरा राखेको दशौ दिनमा उक्त जमरा लगाउने वा दसौ दिनका दिन आशिर्वादको रुपमा जमरा लिने भएको हुनाले त्यस दिनलाई दसैं भनिएको हो भन्ने गरिन्छ | यसरी दसैंमा जमरा राख्ने चलन कहाँँबाट शुरु भयो त भनेर खोजी गर्दा यसको जरा मध्य एसिया तिर भेटिन्छ, पर्सियामा मनाइने पर्सिएयनहरुको ७ हजार वर्ष पुरानो नोरुज पर्वमा पनि जमरा राख्ने चलन छ | नौरोज पर्वमा राखेको जमरालाई सब्जी ( सब्जेह ) भनिन्छ। जमरा चाहिँ बसन्त ऋतु आगमनसगै देखिने नयाँ पाउलाहरुको (Rebirth and Renewal of Nature) प्रतिक मानिन्छ र फारसी नयाँ बर्षको पहिलो दिन प्रयोग गरिन्छ |नौरोजमा नेपालमा जस्तो बालुवा वा माटोमा जमरा राख्ने चलन छैन |”सुरुमा जौ वा गहुँलाई भिजाएर एउटा सेतो कपडामा पोको पारिन्छ र केही दिनमा त्यो टुसाउन थाल्छ र डल्लो पर्छ, त्यसलाई एउटा थालमा राख्छन् र त्यही त्यो बढ्न थाल्छ। त्यो जमराको डल्लो नछोपिने हुनाले पहेँलो होइन हरियो देखिन्छ। नौरोजका लागि तयार पारिने सब्जी अर्थात् जमरा पनि नौ दिन राखेर नै तयार पार्ने चलन रहेको छ र दसौ दिनका दिन हाफ्सिन टेबलमा यो जमरा सहित ‘स’बाट नाम उच्चारण हुने सातखाले फलफूलहरु राखिन्छ | अनि आफन्तहरू कहाँ जाने र भोजभतेर गर्ने चलन हुन्छ। दशैँको टीका जस्तै हाफ्सिन टेबल अगाडि गएर आएका आफन्तका नाममा मैनबत्ती बाल्ने र दिर्घायुको कामना गर्दै उपहार तथा पैसा दिने चलन रहेको छ |

नौरोज पर्सियन नयाँवर्ष हो। यसलाई ठाउँ र परिवेस अनुसार विभिन्न नामले उच्चारण गरिन्छ। जस्तै नोरुज, नौरोज, नुरुज आदि। यो “नयाँ वर्ष मान्ने तरिका नेपालको दशैँसँग समान देखिन्छ। ” खोज अनुसन्धान कर्ता जनक कुमार कटुवालले ‘पर्सियनहरूको नाउरूज र नेपालीहरुको नौरथ’ भन्ने लेखमा लेख्नु भएको छ |नोरोज जोरोअस्ट्रियन (Zoroastrianism) धर्मको पर्ब हो |नोरुज पर्व मार्च २१, बसन्तऋतु शुरुहुने समयको दिन र रात बराबर भएको दिनबाट सुरु हुन्छ र दुई हप्तासम्म मनाइन्छ। हामी स्मरण गरौं मार्च २१ भनेको नेपालको चैत्र महिनामा पर्दछ र कुनै बेला दशैँ पनि चैत्रमा मानिन्थ्यो भन्ने प्रचलन अझै जीवित नै छ। यो दुई हप्ताको समयमा विभिन्न क्रियाकलापहरु गरेर नोरुज पर्व मान्ने गरेको पाइन्छ, बिशेष गरेर नयाँ बस्त्रहरु लगाउने, मीठोमसिनो खाने, जमघट गर्ने तथा दुई हप्ता (१३ दिन) सम्म आफ्ना नातेदारहरु, पुराना साथीभाईहरुकोमा भ्रमण गर्न जाने, भेट गर्न जाने यो पर्वको मुख्य विशेषता हो । नौरोज भन्ने शब्दको अर्थ नयाँ दिन भन्ने लाग्दछ।

पर्सियन क्यालेन्डरको नयाँ दिन वा नयाँ वर्षको सुरुवातको दिन भनेर नाउरुज वा नोरुज़ पर्वलाई मनाउने गरिन्छ। इरानमा नरोजको समयमा लगभग १५ दिन स्कुल, विद्यालय, बिश्वबिद्यालयहरु बन्द रहने गर्दछन्। वा भनौं नोरुजको समयमा सरकारी स्तरबाटै १३ देखि १५ दिनसम्म सार्वजनिक विदा दिने गरिन्छ।यो पर्वको प्रचलन चाहिँ तिन हजार देखि सातहजार वर्ष पुरानो रहेको मानिन्छ। नौरोज वसन्त ऋतुको पहिलो र इरानियन पात्रोको सुरुको दिनबाट सुरु हुन्छ। नौरोज इरानसहित युरेशियन र मध्य एशियाली देशहरूमा पनि मनाइन्छ। दक्षिण एशियाका अफगानिस्तान, पाकिस्तान, भारत र बाङ्ग्लादेशका केही स्थानमा पनि नौरोज मनाइने गरिन्छ |

यो नयाँ बर्षको सूरुवातीसँगै नोरुज पर्वलाई स्वागत गर्नको लागी घरहरु सफा गर्ने, बिशेष गरेर मरेर गएका आफन्तहरुको आत्मा फर्केर आउँछ भन्ने विश्वासका साथ घरहरु सफा गर्ने गरिन्छ। उनीहरु नरोज पर्व सुरु हुनु एक महिना अगाडिदेखि नै घरमा काम नलाग्ने पुराना वस्तुहरु बाहिर फाल्ने र घर सरसफाइहरु गर्ने काममा लाग्ने गर्दछन्। भाँडाकुडा, लुगा, पर्दा, कार्पेटहरु धुने अनि भित्ताहरु सरसफाई गर्ने काम गर्दछन |यो पर्वमा कम्तीमा पनि एक सेट नयाँ लुगाफाटो किन्ने चलन रहेको छ | नौरोजमा राखेको जमरा चाँही १३ दिनका दिन नजिकैको नदीमा लगेर हामीले कोजाग्रत पूर्णिमामा गरेको विसर्जनजस्तै विसर्जन गर्ने चलन रहेकोछ|

असोजको दशै

चैत महिनामा मनाइने दशै (ऋतु पर्ब ) लाई सारेर असोज महिनामा पुर्याइयो | चैतबाट असोजमा किन सारियो भन्ने बारेमा कुनै आधिकारिक तथ्य, प्रमाण केही भेटिदैन त्यसैले कहिलेबाट चैतको दशै असोजमा सरोहोला भनेर भन्ने सक्ने आधार छैन तर गोर्खा दरबारबाट फूलपाती हनुमानढोका दरबार ( नुच्छे दरबार ) मा ल्याउने परम्परा भएबाट असोजको दशै प्रिथ्बी नारायण शाहले गोर्खाबाट नेपालभरी बिस्तार गरेको अनुमान गर्न भने सकिन्छ | भारतमा हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल पक्षको दशमी तिथीका दिन दसहरा पर्ब मनाउदछन | दशहराको काहानी र नेपालमा असोज शुक्ल पक्षमा मनाइने दशैको कथा एउटै छ | दुबैको कथामा रामले रावणलाई बध गरेको दिन र देबी दुर्गाले नौ रात्रि एवं दस दिनका दिन युद्ध द्वारा महिषासुर माथि विजय प्राप्त गरेको बताइन्छ | यसै दिनलाई ‘विजयादशमी’ पनि भन्ने चलन भारतमा छ |यही भारतीय मिथकसँग सामिप्यता ल्याउन चैतको दशैलाई आश्बिन शुक्ल पक्षमा ल्याएको हुन सक्छ किनभने चैत्रको दशैसँग नौरोज पर्बको सम्बन्ध रहेको देखिए पछि आश्बिनमा सारेर हिन्दूकरण गरेको देखिन्छ |असोज ‘विजयादशमी’सँग बौद्धहरुको पनि एउटा कथा जोडिएको छ |

अशोक बिजय दशमी

“अशोक विजयदशमी” प्रियदर्शी सम्राट अशोक को कलिंग युद्ध मा विजयी प्राप्ति भएको दशौँ दिन सम्म मनाउँदै जाने भएको कारण यसलाई अशोक विजयदशमी भन्ने गरिएको बताइन्छ | यसै दिन सम्राट अशोकले बौद्ध धम्मको दीक्षा लिएर बौद्ध धर्ममा शरणागत हुनु भएको थियो। ऐतिहासिक सत्यता छ कि महाराजा अशोक ले कलिंग युद्ध को बाद हिंसा को मार्ग परित्याग गरेर बौद्ध धम्म अपनाउने बिषय लाई घोषणा गर्नु भएको थियो। बौद्ध बने पश्चात् वहाँ बौद्ध स्थलहरु को यात्रामा भ्रमण गर्न थाल्नु भयो। तथागत गौतम बुद्ध को जीवन लाई चरितार्थ गर्न तथा आफ्नो जीवन लाई कृतार्थ गर्नुका निमित्त हजारौ स्तूपहरु, शिला लेखहरु अथवा धम्म स्तम्भहरु को निर्माण गराउँनु भयो। सम्राट अशोकको त्यसतो धार्मिक कार्यबाट खुशी, हर्षित, प्रफुल्ल भएर देशका जनताहरुले त्यस सम्पूर्ण स्मारहरु लाई सजाएर सुव्यवस्थित सजावट तथा त्यस प्रति दीपोत्सव गरे। यस्तो आयोजना हर्षोलासको साथ १० दिन सम्म चल्दै रह्यो, दशौ दिन महाराजाले राजपरिवार को साथ पूज्य भन्ते मोग्गिलिपुत्त तिष्य द्वारा धम्म दीक्षा ग्रहण गरे। धम्म दीक्षाको उपरान्त महाराजाले प्रतिज्ञा गरे, कि आजबाट म शस्त्रहरुले होइन बल्कि शांति र अहिंसा ले प्राणी मात्र को हृदयमा विजय प्राप्त गर्दछु। त्यसैले सम्पूर्ण बौद्ध जगतले यसदिनलाई अशोक विजयदशमीको रूपमा मनाउदै आएकाछन | साेहि दिनबाट विजयदशमी मनाउन शुरु गरिएको बौद्धहरुको भनाइछ |

चन्द्रगुप्त मौर्यबाट शुरु भएर बृहद्रथ मौर्यसम्म भारतमा मौर्यहरुले दश पुस्ता राज्य गरेका थिए |अंतिम मौर्य सम्राट बृहद्रथ मौर्य लाई उनकै सेनापति पुष्यमित्र शुंगले हत्या गरेर आफ्नो “शुंग वंश” को स्थापना गरे। “शुंग वंश” को शासन स्थापना गरेको उक्त दिन पनि अशोक विजयदशमीकै दिन थियो |पुष्यमित्र शुंगले उक्त दिन पूर्व दश मौर्य सम्राटहरुको एउटै दश टाउके पुत्ला बनाएर दहन गर्न लगाएका थिए र आजसम्म पनि भारतमा त्यसरिनै असोज शुक्ल पक्षको दशमीका दिन दश टाउके पुत्ला बनाएर दहन गरिन्छ |जुन मौर्य बंशको शासन अन्त्य गरी “शुंग वंश”को शासन स्थापना गरेको दिनलाई बुझिन्छ |

खसान क्षेत्रमा दशै

कुनै बेला पुर्वमा त्रिसुली र पश्चिममा केदार मण्डलसम्म फैलिएको खसान राज्यमा आज भन्दा तिस, पैतिस बर्ष अघिसम्म दशैको कुनै प्रभाब नरहेको खस जाती र मष्टधर्मका अभियन्ता रघुबिर सिंह ठगुन्नाले बताउनु भएको छ |जुम्ला तिर दशैलाई ‘गोर्खालीहरुको’ पर्ब भन्ने चलन धेरै पछिसम्म रहेको भनाइ अझैसम्म जुम्ला तिर सुन्न पाईन्छ | हुन पनि जुम्ला जिल्लाको चौधबिस क्षेत्रमा दशैलाई ‘पिठा’ भन्ने गरिन्छ र पिठाको बेला बेसारमा भिजाएको पहेलो रङको टिका लगाउने चलन छ जसलाई ‘दहिचल’ भनिन्छ| दशै भन्ने शब्द धेरै पछि मात्र जुम्लाको पाबै खसहरुको बस्तिमा पुगेको देखिन्छ | जुम्ला भन्दा बाहिर दशैको जस्तो रौनक हुन्छ त्यस्तो रौनक जुम्लाको चौधबिस क्षेत्रमा हुँदैन भन्ने भनाइ चौधबिस क्षेत्रका बासिन्दा एकराज रावतको छ| त्यसैगरी अछामका सुबर्ण बिष्टका अनुसार अछाम जिल्लाका कतिपय ठाउँहरुमा असोज शुक्लपक्षमा दशै मनाउने चलन छैन, उनका अनुसार कार्तिकको शुक्लपक्षमा मात्र दशै मनाउने गरिन्छ | खसान क्षेत्रका अधिकांस पहाडी र हिमाली जिल्ला हरुमा २०३२ सालभन्दा पहिले दशै भन्ने थाहानै थिएन | २०३२ सालको टिङ्कर काण्ड पछि खलंगामा शाही नेपाली सेना बसेपछि उनिहरुबाट नै दशैका बारेमा थाहा पाएको सुदुरपश्चिम क्षेत्रका बासिन्दाहरुको भनाइ छ |त्यो भन्दा पहिला त रेडियो नेपालबाट मात्र सुन्ने गरिन्थियो भन्ने भनाइ रघुबिर सिंह ठगुन्नाको छ |हिजो आज पनि खसान क्षेत्रका सबै घरमा जमरा राख्ने चलन छैन किनकी दशैको रौनक अहिले पनि त्यता तिर खासै हुँदैन |

लेखकद्धयः
टेक बहादुर थापा/जनक कुमार कटुवाल

Related Articles

Leave a Reply

Back to top button