
‘गोर्खा’ नेपालका जिल्लाहरूमध्ये एक जिल्ला हो र ठाउँको नाम पनि हो । तर, गोर्खा भन्नाले आम रूपमा नेपालबाहिर या नेपालमै भर्ती भएका सैनिकहरूलाई जनाउँछ । तिनै गोर्खा सेनाका श्रीमतीहरूलाई गोर्खा महिला भन्ने गरिन्छ । गोर्खा महिला र गोर्खा सेनाहरूको भूमिका आआफ्नै ठाउँमा महङ्खवपूर्ण र परिपूरक थिए अनि छन् पनि । सैनिकहरूका आमा, श्रीमती या दिदीबहिनीको रूपमा महिलाहरूको पारिवारिक नाता जोडिएको हुन्छ ।
सेनामा कार्यरत गोर्खाहरूलाई लाहुरे पनि भनिन्छ । यसको कारण खोज्ने हो, जुन दिनदेखि नेपाली युवाहरू हालको इन्डिया र लाहोर (पाकिस्तान) का भर्तीकेन्द्रमा गएका थिए, त्यसपछि लाहुरे भनेर चिनिँदै आए ।
गोर्खाका कथाहरूले २०० वर्षभन्दा बढी समय पार गरिसकेको छ । ती कथाहरू पुस्तक, भिडियो, डकुमेन्ट्री, सङ्ग्रहालय आदिमा दस्तावेज गरिँदै आएको पाइन्छ । जसमा इतिहासदेखि वर्तमानसम्मका गोर्खा कथाहरू चित्रण गरिएको छ । तर, दुर्भाग्यको कुरा के भने गोर्खा महिलाको कथा कतै पनि समावेश गरेको पाइँदैन । गोर्खा सैनिकलाई साथ दिने र सहयोग गर्ने महिलाहरूका बारेमा अति न्युन रूपमा मात्रै अनुसन्धान भएको देखिन्छ ।

सन् १८१४– १८१६ को एङ्लो नेपाल युद्धमा पनि महिलाहरू सामेल थिए भन्ने कुरा सुन्न पाइन्छ । यद्यपि तिनीहरूको सङ्ख्या पुरुषहरूको जत्तिकै महङ्खवपूर्ण नहुन सक्छ, तापनि तिनीहरूले खेलेको भूमिकाले नै पुरुषको जित भएको कुरा सत्य थियो ।
एङ्लो– नेपाल युद्धमा गोर्खा महिलाको वीरताको कुरा गर्दा खलङ्गाको युद्धलाई लिन सकिन्छ । यस युद्धमा सहभागी गोर्खा महिलाहरूबारे केही युद्धग्रन्थहरूमा उल्लेख गरेको पनि भेटिन्छ । गोर्खा महिलाहरू पुरुषहरूजत्तिकै बहादुर थिए । तर, पुरुष निर्देशित र पुरुष लिखित युद्ध कथाहरूले उनीहरूको पहिचानलाई प्रकाशमा ल्याउने कार्य गरेनन् । तिनीहरूको वीरताका कथाहरू अकथित छन् र तिनीहरूका अनुभवहरू धेरै हदसम्म अस्पष्ट छन् । गोर्खा सेनाले अन्तिमसम्म लडाईं लडे पनि युद्ध जित्न सकेनन् । परास्त मानसिकता भएका अङ्ग्रेजी सेनाले किल्लामा जाने पानीको मुहानलाई क्षति पु¥याए । त्यसपछि चरम तिर्खा, भोक र थकानका कारण कैयौँ गोर्खा महिलाहरूको पनि आफ्ना श्रीमान् र छोराछोरीसितै ज्यान गयो । गोर्खा महिला योद्धाहरूले आफ्नो देश र परिवारका लागि आफ्नो मृत्यु पनि स्वीकारे । गोर्खा महिलाको दोहोरो भूमिका थियो, तर नेपालको युद्ध इतिहासमा उनीहरूको नाम किन लेखिएको छैन, यो सम्भवत पितृसत्ताका कारण मात्रै भएको हो कि ?
२०० वर्ष पहिले नेपालमा पुरुष महिला दुवैले सानो उमेरमै बिहे गर्ने प्रचलन थियो । सुरुमा छोरा भर्ती लागेपछि आमाले छोराको कुशलताका लागि प्रार्थना गरिरहन्थिन् । केही वर्षपश्चात छोरा छुट्टीमा घर फर्केपछि बिहे गरी पल्टन फर्किन्थे । कहिलेकाहीँ त बिहेपछि एकअर्काको आनीबानी राम्ररी चिन्न नपाउँदै पल्टनमा हाजिर हुन जानुपथ्र्यो । त्यतिबेला अहिलेजस्तो नजिक बनाउने माध्यम पनि थिएन । कैयौँ दिनको यात्रा गर्नुपर्ने अवस्था थियो । यता घरमा श्रीमती नयाँ ठाउँ, नयाँ परिवारसँग बसेर परिवारको चाहनामा काम गर्नुपर्ने थियो । आफ्ना श्रीमान्लाई युद्धमा जान दिनु आफैँमा साहस हो । घरको परिवारले जेजस्तो व्यवहार गरे पनि सहनुसिवाय अर्को विकल्प नै थिएन । गर्भवती अवस्थामा श्रीमान्को पल्टन हाजिर भएकाले श्रीमान्को सहयोगबिना नै बच्चा जन्माएको, बाबुको अनुपस्थितिमा बच्चा हुर्काएको अवस्था त कैयौँ छन् । श्रीमान् पहिलो, दोस्रो युद्धमा परी ज्यान गुमाएका घरमा श्रीमतीलाई बुढा टोकिस् भनी परिवार र समाजबाट नराम्रो आरोपको सामना गर्नुपरेका विषयमा कसले लेखाजोखा राख्ने ?
ब्रिटिस सेनामा करिब पन्ध्र वर्षको सेवामा गोर्खाहरू परिवारसँग जम्मा पाँचवर्ष मात्रै बसे । बिदामा घर फर्किंदा श्रीमती र छोराछोरीका लागि पाहुनाजस्तै बन्थे । श्रीमतीहरू गर्भवती हुँदा पनि पतिहरू टाढाको सेवामै कार्यरत हुन्थे र श्रीमतीहरूले भावना बाँड्न सक्दैनथे । आफ्ना हरेक उतारचढाव कसलाई बाँड्ने ? कतिपय पीडाहरू श्रीमान्बाहेक अरूसँग बाँड्न सकिँदैन । श्रीमतीहरूले हरेक बाधालाई आफैँ पार गर्नुपरेको थियो । तर, उनीहरूले धैर्यलाई अँगाले र आफ्ना छोराछोरीलाई जन्म दिए । योभन्दा बहादुरी के हुन सक्छ ? अधिकाङ्श महिलाहरूले आफ्नो श्रीमान्बिनै महिना र वर्षहरू बिताए । कहिलेकाहीँ बच्चाहरूले आफ्नो बुबालाई चिन्नसम्म सकेनन् ।
परिवारका सबै सदस्यहरूबीच सहकार्य र सद्भाव कायम गर्नु अर्को कर्तव्य थियो । गोर्खा महिलाहरूमा युद्धको प्रभाव असहनीय थियो, तर उनीहरूले आफ्नो हृदयलाई बलियो बनाएर ल्याएका अप्रिय परिणामहरूको सामना गर्न सफल भए । तिनीहरूले आफ्ना पतिको सुरक्षा र युद्धहरूमा विजयका लागि भगवान्सँग प्रार्थना गर्थे । हरेक युद्धमा घाइते, मृत्यु र बेपत्ता भएको सुनिन्थ्यो । गोर्खा महिलाहरू सबै सहन अभिशप्त थिए । पहिलो भिसी कुलवीर थापालगायत १३ जनाले भिक्टोरिया क्रस पाए । यस्तो बज्रपात सहनुपर्ने गोर्खा महिलाका लागि पनि उत्तिकै मर्मस्पर्शी पीडा थियो । यद्यपि उनीहरूले आफ्नो श्रीमान्को चिठी पढ्न पनि सक्ने थिएनन्, जसले गर्दा अरूले पढ्नुपथ्र्यो । आफ्नो पारिवारिक कुरा पनि अरूलाई सुनाउनुपर्ने बाध्यता थियो । यसै प्रसङ्गमा मेरो बाल्यकालको स्मरण गर्छु, गाउँमा दाइहरूले भाउजूहरूलाई पठाएका चिठ्ठीहरू मैले पढ्नुपथ्र्यो । भाउजू, दिदीहरू जसले पढ्न पाउनुभएन, पछि मैले उहाँहरूलाई घरमै बोलाएर पढाएँ, आफ्नो चिठी आफैँ पढ्न सक्ने हुनुभयो । त्यस दिनदेखि मैले उहाँहरूका चिठीहरू पढ्नुपरेन ।
श्रीमानको अनुपस्थितिमा एक्ली महिलालाई बेइमानहरूले नराम्रो दृष्टिकोण लगाउने या व्यवहार पनि गर्ने हुनाले उनीहरूले यी सबैको सामना गर्नुप¥यो । यसबाट उनीहरूले मानसिक यातना भोग्नुप¥यो । कोही कोही त गर्भवती भई समाजको डरले आत्महत्या गर्नसम्म पुगे । यसरी पीडित बनेका महिलाहरूको कथा कसले लेखिदिने ?
एक्लै छोराछोरी हुर्काउनुपर्दा र नानीहरू सही बाटोमा लाग्न नसक्दाका पीडा पनि श्रीमतीहरूले नै भोगे । कुलतमा फसेका नानीहरूलाई सही बाटोमा ल्याउन नसक्दाको मानसिक छटपटीका कारण कति आमाले ज्यानसमेत गुमाए भन्ने सुन्नमा आउँथ्यो ।
छोराले लाहुरबाट ल्याएका सबै सामान र पैसा आमाबाबालाई बुझाइदिन्थे । श्रीमतीले भने एकसरो लुगामा मात्र चित्त बुझाउनुपर्ने अवस्था पनि थियो । लाहुरबाट ल्याएको पैसाले घरपरिवारका आधारभूत आवश्यकता पु¥याउनुपर्दा श्रीमतीले चाहेको कुरा श्रीमान्सँग माग्न मिल्दैनथ्यो । श्रीमतीले यस प्रकारका पीडा पनि भोग्नुपथ्र्यो ।
जब वर्षहरू बित्दै गए र गोर्खाहरूलाई भारतलगायत अन्य टाढाटाढाका मलाया र बर्माजस्ता देशहरूमा पु¥याइयो, महिलाहरूले पनि आफ्नो श्रीमान्सँगै यात्रा गरे । पढ्न नजानेकै कारण श्रीमान् श्रीमतीसँगै रेल चढेर जाँदा ओर्लनुपर्ने ठाउँमा श्रीमान्मात्रै ओर्ले, श्रीमती रेलमै छुटिन् र एक दिन पछिमात्रै भेट भए भन्ने कुरा पनि सुनिन्थे । यस्तो अवस्थामा कति तनाव भयो होला ?
गोर्खाका श्रीमतीहरू गाउँमा हुँदा रक्सी पारी बेचेर, कसैको खेताला गएर पेवा बढाउने गर्थे भने ब्रुनाई र हङकङका पल्टनमा बस्दा समय पाउने भएकाले पढाइलेखाइ नभए पनि सिलाइबुनाइ सिकेर नेपाल फर्केपछि सिलाइबुनाइका काम गरेर आर्थिक उपार्जनतिर लागे । यसो गर्दा आफू र बच्चाहरूको आवश्यकता पूरा गर्न सक्षम भए । पल्टनदेखि बुनेको स्विटर, गलबन्दी, मोजा, पञ्जा उपहार या कोसेलीको रूपमा नेपाल लाने गर्थे । उतिबेला बुनेको ऊनको झोला अहिले पनि उत्तिकै प्रचलित छ ।
महिलाहरूले पनि विस्तारै स्कुल जान र पढ्न पाए । शिक्षाले आँखा खोल्छ भनेजस्तै छोरीलाई अनिवार्य स्कुल पठाउने, सिलाइबुनाइ, सिपमुलक तालिमदेखि नर्स, शिक्षिका बनाई आत्मनिर्भर बनाउनेजस्ता सिप र तालिम दिनमा जोड दिए ।
समय बित्दै जाँदा दिदीबहिनीहरूले नर्स, मिडवाइफ शिक्षिकाको काम पाउने भए । सन् १९६० पछि रेडियो बिएफबिएसमा समेत काम पाए । सन् १९९२ तिर श्रीमान् सार्जन (क्भचनभबलत) पद पाइसकेकाका श्रीमतीले काम गर्ने अनुमति थिएन, खाली स्वयम्सेविका मात्र गर्ने अनुमति थियो । कारण के थियो भन्ने थाहा भएन, सिपाहीको तलबभन्दा अलि धेरै हुन्छ भनेर पो हो कि ?
त्यति बेला नियम निकै कडा भएकाले लुगा पनि लुङ्गी अथवा सारी मात्र लाउन पाइन्थ्यो । सानो बच्चासँग बजारमा किनमेल गर्न जाँदा होस् या कतै घुम्न जाँदा सारी लगाउनुपथ्र्यो । कति दिदीबहिनीले त पल्टनमा गएर मात्र सिकेका थिए । सारीमा बच्चासँग किनमेल जाँदा साह्रै गाह्रो हुन्थ्यो । कसैले यसो सजिलो कुर्था सुरुवाल लगाएको आरपी कर्पोरलले भेटेमा भोलिपल्ट श्रीमान्ले टोकाइ भेटिहाल्थे । अर्थात्, यो कुरा सुन्दा अहिलेका बहिनीहरूलाई पत्यार पनि नलाग्न सक्छ, समयले धेरै फड्को मारिसकेको कुरा सत्य हो ।
पल्टनमा फेमिलीवाला हुँदा श्रीमान् जङ्गल अभ्यास वा अपरेशन टुरमा जाँदा एक्लै बालबच्चासँग बस्दा होस् या पल्टनबाट फर्केपछि नेपालमा हँुदा होस्, नानीहरूले बाबुको माया र गाइड नपाउँदा बच्चाले मेरो बाबा किन सँगै हुनुहुन्न भन्दा आमाको मन न हो, खिन्न हुने स्वाभाविकै थियो । कतिपय नानीहरूले समयमा शिक्षा नलिँदा उनीहरूको भविष्य नै बिग्रेको र अझ आमालाई नै राम्रोसँग नहेरेको भनी गालगलौजले गर्दा मन अत्यन्तै सानो हुन्थ्यो । यस्तै पीडाले होला, लिला सेलिङ माबोको ‘लाहुरेनी पीडा’ भन्ने भावुक कवितासङ्ग्रहको जन्म भएको ।
सन् २००० पछि भने दिदीबहिनीहरूले सीमित ठाउँमा आत्मनिर्भरमात्र होइन कि संसारका विभिन्न देशमा व्यापारव्यवसाय, शैक्षिक, राजनीतिकलगायत अन्य क्षेत्रमा आफ्नो पहिचान बढाउँदै जान थाले । लाहुरे श्रीमान्को काँधमा काँध मिलाई आर्थिक, नैतिक र सामाजिक रूपमा आफ्नो, परिवार र समाजकै स्तरोन्नतिमा ठूलो टेवा पु¥याउन सक्ने भए ।
सन् २००६ देखि अवकाशप्राप्त गोर्खालीहरूले बेलायत बस्ने आवासीय भिसा पाइसकेपछि धेरै गोर्खालीहरूको बेलायत आगमनपश्चात् जनघनत्व पनि बढ्दै गयो । सुरुसुरुमा व्यवस्थित सेटलमेन्ट हुन गाह्रो भयो तर विस्तारै जागिर र घर भइसकेपछि दिदीबहिनीहरू पनि आत्मनिर्भर बन्न थाले । यति हुँदाहुँदै गाडी चलाउन नजानेकाले काम जान, बच्चा स्कुल पु¥याउन, किनमेल जान श्रीमान्लाई नै पर्खिनुपर्ने भयो । भाषाको अर्को समस्या, जब भाषा जानिँदैन तब कुराकानीको ठूलो खाडल बन्छ अर्थात् कम्युनिकेशन नभएपछि सुसूचित हुन सकिन्न । यसका कारण महङ्खवपूर्ण सूचनाको जानकारी पनि हुँदैन । कतिपय दिदीबहिनी नेपालमा नै जागिर गरी स्थापित भइसके तापनि बेलायत आएपछि आफूले सक्ने काम नपाएर फेरि सुरुदेखि गर्नुपरेको र नसकेर काम छोडेका अनेकौँ सङ्घर्षका अवस्था थिए ।
पछिल्लो समयमा परिवर्तनसँगै दिदीबहिनीहरूको चेतनाको विकास र शैक्षिकबृद्धिले गर्दा हरेक क्षेत्रमा स्वतन्त्र रूपले काम गर्न सक्ने भएका छन् । लाहुरेहरूलाई पल्टने जीवनमा अपरेशन टुरदेखि अन्य अभ्यासमा चुनौती हुन्छ, राम्रो गरेमा पदोन्नति हुन्छ भने दिदीबहिनीहरू पनि घरका सबै चाँजोपाँजो बन्दोबस्त गरी आफ्नो भविष्यका लागि पढाइदेखि जागिरमा सङ्घर्ष गरिरहेका छन् । घरको सहयोग हुँदाहुँदै पनि म महिला भएकै कारण र मेरो अनुभवअनुसार महिलाले सफलता हासिल गर्न नेतृत्वतहमा काम गर्न अलिक बढी नै सङ्घर्ष गर्नुपर्छ । अझै पनि कहीँ न कहीँ हामी नेपालीको मानसिकतामा महिलाको काम छुट्याइएको हुन्छ ।
पछिल्लो समयमा महिलाहरूले विभिन्न सङ्घसंस्था, जस्तै मगर सङ्घ, गैरआवासीय नेपाली सङ्घ, नेपाल पत्रकार महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घलगायत अन्य विभिन्न सङ्घसंस्थामा नेतृत्व गरिरहेका छन् । त्यस्तै गोर्खा महिलाहरू हरेक क्षेत्र, जस्तै व्यवसाय, पत्रकारिता, समाजसेवा, शिक्षा, चिकित्सा, राजनीति, साहित्यलगायत अन्य विविध क्षेत्रमा पनि स्थापित भएका छन् । बेलायतमै पहिलो गोर्खा महिला निना गुरुङ मेयर पनि भइसकेकी छन् ।
इतिहासदेखि वर्तमानसम्म आइपुग्दा गोर्खा महिलाहरूको जीवनमा घटेका अनगिन्ती सङ्घर्षहरू छन् । श्रीमान् र परिवारदेखि समाज बनाउनमा उनीहरूको ठूलो भूमिका रहँदै आए तापनि इतिहास लेख्नमा भने कन्जुस्याइँ हुँदै आयो । कुनै कुरालाई उजागर गरिएन । विगतमा आफ्ना श्रीमान्हरू घाइते हुनु, मर्नु वा युद्धमा बेपत्ता हुनु सबैभन्दा ठूलो क्षति थियो । कैयौँका पतिहरू नराम्ररी घाइते बन्न पुग्दा र जीवनभर अशक्त भएकाले उनीहरूलाई हेरचाह गर्न आवश्यक थियो । जसको जीवन पनि युद्धले ध्वस्त पारेको थियो, जसका पुरुषहरू जिउँदै फर्केका तर अपाङ्ग भएका थिए । कैयौँ महिलाहरूले अशक्त र असहाय श्रीमान्हरूको हेरचाह गर्दै आफ्नो जीवन बिताए । घरको अर्थतन्त्रको एउटै स्रोत भएका गोर्खा सैनिकका परिवारले आफ्ना श्रीमान् गुमाएपछि छोराछोरीको शिक्षा, खाना, स्वास्थ्य, लुगाका लागि कसले कमाउने ? यस्तो अवस्थामा पनि साहस र धैर्यले आफ्नो चाहनालाई त्यागेर आफूले सक्ने जीविकोपार्जन गर्दै छोराछोरीको भविष्य बनाउन अग्रसर भए ।
घाइतेहरूलाई तलब, निवृत्तिभरण र क्षतिपूर्तिबिना घर फिर्ता पठाइएका घटनाहरू धेरै थिए । त्यसरी खाली हात घर पठाइएको थियो । मृतक र बेपत्ता गोर्खा सैनिकका परिवारले क्षतिपूर्ति पाएनन् । गोर्खा महिलाहरू गोर्खा सैनिकहरू अर्थात् आफ्नो पतिमाथि बेलायती अख्तियारले लगाएको ‘रिडन्डन्सी नीति’बाट पीडित हुनुपरेको थियो । त्यसपछि उनीहरूले आफ्ना श्रीमती र छोराछोरीका लागि पैसा कसरी व्यवस्थापन गर्न सक्थे र ? गोर्खा महिलाहरूले धैर्य कायम राखे र साहसका साथ यस्ता समस्याहरूको सामना गरे । तिनीहरूसँग धैर्यबाहेक अरू कुनै विकल्प थिएन ।
गोर्खा महिलाको सहभागिता, घरमा सफल व्यवस्थापनको भूमिका र परिवारमा सबै भार वहन गर्ने धैर्यले गर्दा उनीहरू पनि बहादुर थिए भन्ने प्रमाणित गर्छ तर उनीहरूको साहस, वीरता र भक्तिलाई कहिल्यै जोड दिइएन ।
२०० वर्षपछि सुजाना श्रीस, जो क्रिएटिभ आट्र्स इनिसिएटिभ (SHCAI) का संस्थापक छिन् । उनले गोर्खा महिलाहरूको अनुसन्धान गरिरहेकी छन् ।
सुजानाले आफ्नो प्रदर्शनीमा ७० वर्षभन्दा माथिका गोर्खा विधवाहरूसहित आमाहरूको अन्तर्वार्ता लिँदै पोट्रेट स्केच, भिजुअल आर्ट, कलाकृतिहरू र गोर्खा महिलाहरूको जीवनमा बहुआयामिक झलक प्रदान गर्ने बृहत् अनुसन्धानपत्र समावेश गरेकी छन् ।
हामीले गोर्खा महिलाहरूको इतिहास खोज्नु जरुरी छ र हामीले जेजति सुनेका, देखेका र भोगेका छौँ, ती सबै कुराहरूलाई उतार्नु अत्यन्तै जरुरी छ । अनि मात्रै गोर्खा महिलाहरूको बहादुरी, इमान्दारीको सही र निष्पक्ष मूल्याङ्कन हुने छ ।
(लेखिका राना नेपाल पत्रकार महासङ्घ युके समितिको सदस्य तथा– नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) युकेको निवर्तमान अध्यक्ष हुन ।)