समाचार

जसपाको बागमती प्रदेश समिति, नेवाः राष्ट्रिय समिति र ताम्सालिङ राष्ट्रिय समितिको पुनर्गठन

काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधनमा हुनसक्ने प्रतिगामी षदयन्त्रलाई चिर्न आफूहरू सरकारमा गएको बताएका छन् । उनले उक्त कुरा जनता समाजवादी पार्टीको बागमती प्रदेश समिति, नेवाः राष्ट्रिय समिति र ताम्सालिङ राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रममा मन्तव्यको क्रममा बताएको हो ।

अध्यक्ष श्रेष्ठले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद हुने व्यवस्था आवश्यक भएको बताउँदै नेपालको संविधानले परिकल्पना गरेको ७६१ वटा सरकारमध्ये ७५३ वटा सरकार प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने पुराना दलहरूले सङ्घ र प्रदेशमा रहेको ८ वटा सरकार प्रत्यक्ष निर्वाचित हुन सक्दैन भन्नु दोहरो मापदण्ड भएको बताए । उनले कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित भए निरङ्कूश हुन्छ भन्ने पुराना पार्टीहरूलाई कटाक्ष गर्दै स्थानीय सरकारहरू निरङ्कूश बनाएको हो त भन्ने प्रश्न तेर्साए ।

हामीले सङ्घीय संरचना राज्यसत्तासँग माग गछौँ, तर आफ्नो पार्टीमा लागू गर्दैनौँ भने त्यो पनि दोहरो मापदण्ड हुने कुरामा जोड दिंदै नेता श्रेष्ठले उपेन्द्र यादव सङ्घीयतामा प्रदेशहरू स्वायत्त र अधिकारसम्पन्न हुनु पर्छ भनेर राज्यसँग माग गर्ने तर पार्टीमा प्रदेशहरू भङ्ग गरी हैकम चलाउने प्रवृत्तिका स्वेच्छाचारी नेता भएको बताए । प्रशासनिक कामका लागि प्रदेश समिति र आफ्नो राजनीतिक गन्तव्य प्राप्तिका लागि राष्ट्रिय समिति गठन गर्ने मान्यताले जनता समाजवादी पार्टीलाई अरु पार्टीभन्दा भिन्न बनाएको कुरा पनि उनले स्पष्ट पारे ।

विशिष्ट अतिथि केन्द्रीय समितिका अध्यक्ष मा. अशोक कुमार राईले हाल पार्टीद्वारा सञ्चालित रूपान्तरण तथा पुनर्गठन अभियानमा सम्पूर्ण केन्द्रिय समिति र केन्द्रिय निकायका सदस्यहरू प्रदेश र राष्ट्रिय समितिको समेत सहभागितामा जिल्ला र पालिकाहरूमा सङ्गठन रूपान्तरण तथा पुनर्गठन गर्दै विस्तार र सुदृढीकरणका लागि खट्नुपर्ने बताए । उनले प्रदेश, राष्ट्रिय समिति र स्थानीय तहका सबै समितिहरूलाई व्यवस्थित गर्नुपर्ने बताउँदै पाार्टीको घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदन र परिपत्रबमोजिम काम गरे केही समयभित्र देशैभरी पार्टी र जनवर्गीय सङ्गठनहरू चुस्त दुरुस्त हुने बताए ।

पहिचानको आन्दोलनको धरोहरको रूपमा परिचित राईले सङ्घीयताले जातीय उत्पीडनबाट मुक्ति र समाजवादले वर्गीय उत्पीडनबाट मुक्ति दिने बताए । पहिचानसहितको सङ्घीयताका लागि भएको सङघर्षको उकालो अरालोमा सहयात्रीहरुको निरन्तरताले जितको सुनिश्चितता गर्छ भन्दै उनले बागमती प्रदेशको सङ्गठनमा पुराना साथीहरूको निरन्तर सक्रियताले आशाको दियो बालिरहेको बताए ।

त्यसरी नै अर्का वक्ता माननीय खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले अदालतको निर्णय आउने बित्तिकै उपेन्द्रको पार्टी ध्वस्त हुने बताउँदै उपेन्द्रजीले पार्टीलाई सँधै आफ्नो स्वार्थअनुरूप प्रयोग मात्र गर्ने गरेकोले अब जसपा नेपाल मधेसमै समाप्त हुने बताए । मन्त्री यादवले उपेन्द्रले महाधिवेशनमा विधान विपरीत कामगरेको भन्दै जसपा नेपालमा आफूखुसी पदाधिकारी चयन गरेका र त्यससम्बन्धी मुद्दा निर्वाचन आयोगमा पुगेकोले महाधिवेशन नै अवैध घोषणा हुने ठोकुवा गरे ।

कार्यक्रमा बागमती प्रदेश इन्चार्ज सुशिला श्रेष्ठले पार्टी सङ्गठनलाई टोल टोलसम्म विस्तार गरेमात्र पार्टीको उद्देश्य पुरा गर्न सकिने बताउँदै त्यसका लागि नयाँ विधानबमोजिम प्रदेश समिति र राष्ट्रिय समितिहरूलाई पुनर्गठन गर्नुपरेको बताए । भेलामा जय गोलेको अध्यक्षतामा बागमती प्रदेश समिति, गणेश आचार्यको अध्यक्षतामा नेवाः राष्ट्रिय समिति र रोज मोक्तान तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठित भएको घोषणा गरिएको छ ।

पार्टीका केन्द्रीय विज्ञ परिषदका अध्यक्ष एबम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा पुस्पराज राजकर्णिकारले पनि शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा बागमती प्रदेशका सहइन्चार्ज लालबहादुर तामाङले ताम्सालिङ राष्ट्रिय समिति र नेवाः प्रदेशका सहइन्चार्ज शोभा वज्राचार्यले नेवाः राष्ट्रिय समिति घोषणा गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका नेता, कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

जय गोलेले अध्यक्षता र मुख्य सचिव अर्जुन कुँवरले सञ्चालन गरेको पुनर्गठन भेलामा प्रवास विशेष प्रदेश समितिका इन्चार्ज आङकाजी शेर्पा, बागमती प्रदेश समितिका सहइन्चार्ज पञ्चलाल महर्जन, राजनीतिक समितिका सदस्यहरू न्हुच्छेलाल महर्जन, देवराज राई, राधाकृष्ण महर्जन तथा केन्द्रीय सदस्यहरू शाक्य सुरेन, योगराज वनेम, सुशीला शाक्य, डिबि सिं तामाङ, सोनाम लामा शाक्य, विमला आचार्य, जीतमान गुरुङ, आङ्गोमा शेर्पा, ज्ञानु आचार्य, केन्द्रीय अनुशासन आयोगका सचिव विनोद श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button