समाचार

पालुङवादेन ताङ्सेप चुम्भोको पहिलो परियोजना सम्पन्न

३ जुलाई, ताप्लेजुङ ।  २०८० माघमा स्थापित पालुङ्वादेन ताङ्सेप चुम्भो (पालुङवादेन संरक्षण समिति) ले पालुङवा याक्थुङ पूर्खाहरुद्वारा निर्मित सम्पदाहरुको संरक्षण गर्ने उद्देश्य राखेर अभियान चलाएको छ । सो बमोजिम पहिलो चरणको परियाेजना सम्पन्न गरेको छ ।

परियोजनाअन्तर्गत ताप्लेजुङ फुङलिङ नगरपालिका-३ स्थित सुम्वुकमा रहेको चुम्मालुङ र शिकारी डाँडा या थेमाङलुङमाअवस्थित थेमाङलुङको वरिपरि बारबेर र बाेर्ड लाउने कार्य सम्पन्न भएको छ । दुवै सम्पदाहरू करिब करिब बेवारिसे अवस्थामा रहेको र सडक निर्माणले फुटाउने अवस्थामा रहेकोले यी दुई सम्पदाको संरक्षण वार्डलाई भनिएता पनि वार्डले ध्यान नदिएपछि  पालुङवा दाजुभाईहरुले पालुङवादेन संरक्षण समिति निर्माण गरी आर्थिक संकलन गरेर कार्य गरिएको थियो । यसको प्रमुख योजनाकार तथा आर्थिक संकलन संयोजक दिल पालुङ्वा याक्थुङले गरेका थिए । उनीलगायत धेरै पालुङवा दाजुभाई तथा चेलीहरुले आर्थिक सहयोग गरेका थिए । समितिका अध्यक्ष भवानी प्रसाद पालुङवाको प्रत्यक्ष सहभागिता रहेको उक्त दुईवटा लुङ(ढुंगा) हरुको बारबेर र बाेर्ड राख्ने कार्य भएको छ ।

पालुङवा पूर्खाहरुको राज्य काल १३-१४ ओैँ शताब्दीमा  स्थापना विश्वास गरिएको चुम्मालुङमा सभा बसिन्थ्यो । कुनै विषय पारित गर्दा चुम्मालुङ र दुबाे छोएर सपथ खाइन्थ्यो । यो कार्य याक्थुङलाजे गोर्खामा सह-राज्य हुन अगाडि हुन्थ्यो भने कचहरी सभा वि.सं. २०४० अगाडिसम्म बसिन्थ्यो ।

माङ(ईश्वर) प्रकट भएको वा देखिएको ठाउ जहाँ कुनै पालुङवा पूर्खाहरुले देखेपछि सो ठाउमा ढुंगा गाडी गाईको कोरली बाच्छी बली दिएर पूजा गरिन्थ्यो । जुन पूजालाई थेमाङ पनि भनिन्थ्यो । वि.सं. १८४३ मा पालुङवादेन राज्य पनि थाङ्वा यक (तमर थुम)सँगै गोर्खामा सह-राज्यमा प्रवेशपछि गाई गोरु काट्न नपाईने हिन्दू गोरखा सरकारको कारण थेमाङ पूजा पूर्ण रूपमा प्रतिबन्धित भयो ।

यी दुईटा गाडिएका लुङ (ढुंगा)हरू बेवारिसे भएकोले र यस्ता धेरै सम्पदाहरू बेवारिसे अवस्थामा रहेकोले यिनीहरूको संरक्षण गर्न नितान्त आवश्यक भएको कुरा प्रमुख योजनाकार दिल पालुङवा याक्थुङले बताए ।

यो पहिलो परियोजना सम्पन्न भएपछि क्रमश: अन्य बेवारिसे हुन लागेका ऐतिहासिक पालुङ्वादेन सम्पदाहरुको संरक्षण गर्दै जाने योजना रहेको समितिका अध्यक्ष भवानी प्रसाद पालुङवा बताए ।

Related Articles

Back to top button