जसपा विवादमा पहिचानवादी माेर्चा तटस्थ बस्ने
कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा पनि पार्टीले वेवास्ता गरेकाे माेर्चाकाे आराेप छ । ‘कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा डेढ वर्षदेखि निरन्तर सडकमा छौं । तर यो आन्दोलन पार्टीको मूल एजेण्डा बन्न सकेन । मूल नेतृत्व पंक्तिको अनिच्छाका कारण सिंगाे पार्टी यो आन्दोलनमा संलग्न हुन सकेन र पहिचानमा आधारित समितिहरु मात्र सहभागी हुनु परेको थियो । कोशी नाम खारेजीका साथै मुक्कुमलुङलगायत सांस्कृतिक अतिक्रमण विरुद्धका आन्दोलनहरु हुँदैआएका छन् तर ती आन्दोलनहरुप्रति पार्टीको स्पष्ट दृष्टिकोणसम्म बन्न सकेन, नैतिक तथा भौतिक समर्थनको कुरा त परै राखौं । विभाजित दुवैतर्फका नेतृत्वहरुको सत्तामोहले पार्टीका एजेण्डाहरु छायाँमा पर्दै गयो र कोशी प्रदेश नाम लगायतका आन्दोलनको मोर्चामा कहीँ कतै देखा परेनन् । त्यसैले विभाजित दुवै खेमाका मूल नेतृत्वहरु पार्टी नीति, विचार, सिद्धान्तप्रति इमान्दार नभएको, लक्ष्य प्राप्तिभन्दा सत्तामोहमा फस्दै गएको र वैचारिक स्खलन आएको घट्नाक्रमले पुष्टि गरिसकेको छ । पहिचानको मुद्दाको आवरणमा नेतृत्वले सच्चा पहिचान पक्षधर नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई भ्रममा पारी लक्ष्य प्राप्ति होइन कि सत्ता प्राप्तिका लागि प्रयोग मात्र गर्ने र उनीहरुको राजनीतिक भविश्य बर्बाद पार्ने राजनीतिक अपराध गरेको प्रष्ट देखिन्छ । त्यसकारण अब जसपा नेपाल वा जसपामध्ये कुनै एकको पक्षमा रहनु भनेको आफ्नो अमूल्य जीवन, समय र घर बर्बाद गर्नु मात्र हो भन्ने निष्कर्षमा पुगेका छौं,’ माेर्चाले भनेकाे छ ।
माेर्चाद्वार जारी विज्ञप्तिमा भनिएकाे छ, ‘जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) बाट २०८१ बैशाख २३ गते विभाजन भई नयाँ दलको रूपमा जनता समाजवादी पार्टी (जसपा) बनेको छ । पहिचानसहितको संघीयता र समुन्नत राष्ट्रनिर्माणको लक्ष्य लिई देशभरबाट पहिचानवादी शक्तिहरु एकीकृत पार्टी निर्माणका लागि जुटिरहेको अवस्थामा दुर्भाग्यवस पार्टी विभाजन हुन गयो । पार्टीका प्रमुख नेताहरु सरकार गिराउने र बनाउने खेलको पछि लागी सत्ता स्वार्थमा लिप्त हुँदै बस्दा पार्टी, पहिचानको मुद्दा र आन्दोलन बिर्सन पुगे । यो विभाजन सैद्धान्तिक र वैचारिक मतभेदको कारण नभई पार्टी नेतृत्वमा पलाएको पदलोलुप्ता, सत्तामोह र संकीर्णताको उपज हो । उपल्लो नेतृत्व वर्गको अलोकतान्त्रिक व्यवहार, सत्तालिप्सा, अप्राकृतिक गठजोड, व्यक्तिवादी चरित्र, एकल निर्णय र निम्नपूँजीवादी चिन्तनका कारण पार्टी दुर्घटनामा परेको हो ।’
जसपा नेपालको नीति, विचार र सिद्धान्तका कुराहरु पार्टी घोषणापत्र र विधानमा सीमित भएकाे तर व्यवहारमा रुपान्तरण हुन नसकेकाे पनि माेर्चाले ठहर गरेकाे छ । ‘पार्टीले लिएको १० प्लस १ को पहिचानसहितको संघीयताको खाका र प्रदेश निर्माणको लक्ष्य केवल भाषणमा कैद भयो । यो लक्ष्य प्राप्तीतर्फ बढ्न नेतृत्व अनिच्छुक मात्र देखिएन एकल जातीय रूपमा आएको सात प्रदेशलाई नै वैधानिकता दिने र संस्थागत गर्ने दिशा तर्फ पार्टीलाई डोर्याउन खोजियो । पहिचानको संरचना र मुद्दालाई ससक्त बनाउन केन्द्रिय समितिमा कहिल्यै छलफलको विषय बनेन । उक्त बैठकमा सदस्यहरुले पहिचानको मुद्दाका बारेमा बारम्बार उठाएका सवालहरुलाई सधैं बेवास्ता गरियो । पहिचान बिरोधी “समाजवादी मोर्चा” बनाइयो तर पहिचानवादी मोर्चा बनाउने कोशिश सम्म गरिएन। मुख्य नेताहरूबाटै चुनावको समयमा गाउँघर पुग्नेक्रममा कहिल्यै पहिचानको मुद्दा उच्चारण गरिएन र अरुलाई पनि पहिचानको मुद्दाको बारेमा नबोल्न भनियो । पहिचानको मुद्दामा आफू प्रतिबद्ध भएको नाटक गरेर आम जनतालाई भ्रममा राखियो । मुलुकमा भ्रष्टाचार, अनियमितता, घुसखोरी, कमिशनतन्त्र लगायतका वेथिति व्याप्त छन् तर नेतृत्व त्यसप्रति मौन रह्यो, त्यसको बिरुद्धमा बोल्न र आवाज उठाउन चाहेन । मूल नेताले आफू, आफ्ना परिवार, नातागोता, गुट, उपगुट र चाकडी चाप्लुसी गर्ने कार्यकर्तालाई च्याप्ने र पार्टीका इमान्दार नेता कार्यकर्तालाई सधैं किनारामा धकेल्ने काम गरियो,’ माेर्चाले उल्लेख गरेकाे छ ।