स्थानीय

चेपाङ बालबालिकाले पाए दिवा खाजा र न्यानो कपडा

भरतपुर (चितवन), ९ पुस : चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिकाका लागि दिवा खाजा खुवाउन थालिएको छ ।

‘दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा’ शीर्षकमा राष्ट्रिय समाचार समिति (रासस)ले पुस ५ गते समाचार प्रकाशन गरेपछि खाजा खुवाउन थालिएको हो । समाचार प्रकाशित भएपछि नगरपालिकाको निर्देशनमा विद्यालयले बालबालिकालाई डेढ महिनापछि खाजा दिन थालेको छ ।

शिक्षक रामलाल चेपाङले बालबालिकाका लागि दिवा खाजा नियमित दिन थालिएको बताउनुभयो । “खाजा पाएपछि बालबालिका पनि खुसी भएका छन्, विद्यालय आउन छाडेकाहरु पनि आउन थालेका छन्”, उहाँले भन्नुभयो । खाजा पाएपछि बालबालिकाले पढाइमा पनि रुचि राख्ने गरेको शिक्षक चेपाङले बताउनुभयो । यस विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययनरत छन् । विद्यालयमा एक जना शिक्षकको व्यवस्था छ । उहाँले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गर्नुभएको छ ।

राष्ट्रिय आधारभूत विद्यालयको कक्षा ३ मा पढ्ने उर्मिला चेपाङ खाजा खान पाएको भन्दै खुसी हुनुभयो । उहाँले भन्नुभयो, “खाजा पनि खान पायौँ र नयाँ न्यानो कपडा पनि लगाउन पायौँ ।” समाचार पढेपछि बालबालिकाका लागि न्यानो कपडा सिन्धुपाल्चोकका युवाले उपलब्ध गराएका हुन् । सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका युवा सुनील श्रेष्ठ, सुशील श्रेष्ठ, अनिल श्रेष्ठ, समुन्द्र श्रेष्ठ र रोचन श्रेष्ठले आइतबार ३५ जना बालबालिकाका लागि न्यानो कपडा सुइटर र चप्पल वितरण गर्नुभयो ।

राससले पुसको कठ्याङ्गिँ्रदो चिसोमा विद्यार्थी थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेको समाचार र तस्बिर प्रकाशन गरेको थियो । सञ्चारमाध्यममार्फत समाचार हेरेपछि बालबालिकाका लागि सहयोग गरेको युवा व्यवसायी सुशील श्रेष्ठले बताउनुभयो । आवश्यक परेको खण्डमा विद्यालयलाई फेरि सहयोग गर्न तयार रहेको भन्दै उहाँले बालबालिकाले सहजरुपमा पढ्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।

चेपाङ जातिको शैक्षिक विकासमा योगदान दिँदै आएका केपीकिरण शर्माले चेपाङ बालबालिका अध्ययनरत धेरै विद्यालयको अवस्था नाजुक रहेको भन्दै राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले चेपाङ बालबालिकालाई गाँस, बास र कपाससहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा हो । दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका–१० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् । विसं २०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी अध्ययन गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button