समाचार

प्रधान सेनापति सिग्देल बेलायत भ्रमणमा, लन्डनको गोर्खा स्मारकमा पुष्पहार अर्पण

फोटो सौजन्य: नेपाली सेना, युके ईन नेपाल फेसबुक पेज

भूमिराज राई,

लन्डन — बेलायतको साताव्यापी औपचारिक भ्रमणमा रहनुभएका नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले लन्डनस्थित ऐतिहासिक गोर्खा स्मारकमा पुष्पहार अर्पण गर्नुभएको छ।

ह्वाइटहलको हर्स गार्ड्स एभेन्युमा रहेको स्मारकमा पुगेर उहाँले बेलायती सेनामा गोर्खा सैनिकहरूले पुर्‍याएको योगदान, वीरता र बलिदानको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।

बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल असोज १९ गते (५ अक्टोबर २०२६) बेलायत प्रस्थान गर्नुभएको थियो। उहाँको भ्रमण असोज २५ गते (११ अक्टोबर २०२६) सम्म रहनेछ।

लन्डनको हिथ्रो विमानस्थलमा उहाँलाई मेजर जनरल द राइट होनरेबल द लर्ड लांकास्टर अफ किम्बोल्टनले स्वागत गर्नुभएको थियो।

नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा पुरानो कूटनीतिक तथा सैनिक सम्बन्ध छ। रक्षा सहकार्य र जनस्तरको सम्बन्धलाई जोड्दै आएका गोर्खा सैनिकहरू दुई देशबीचको मित्रताका महत्त्वपूर्ण कडी मानिन्छन्।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, यस भ्रमणले दुई देशबीचको ऐतिहासिक सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, सैनिक कूटनीतिका माध्यमबाट नेपालको परराष्ट्र नीति कार्यान्वयनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।

बेलायत प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गर्नुभएको थियो। प्रधान सेनापतिको अनुपस्थितिमा केसीले कायममुकायम प्रधान सेनापतिका रूपमा नेपाली सेनाको कार्यभार सम्हालिरहनुभएको छ।

प्रधान सेनापति सिग्देल भ्रमण सम्पन्न गरी असोज २५ गते स्वदेश फर्कने कार्यक्रम छ।

Related Articles

Back to top button