समाचार

अन्तर्राष्ट्रिय नेपाली मञ्च युकेको अधिवेशनबाट विमला लिम्बु दोस्रोपटक अध्यक्षमा चयन

लन्डन। गत ३ अक्टोबर २०२६ मा युकेको अल्डरसटमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली मञ्च युकेको छैटौँ अधिवेशनले विमला लिम्बुलाई दोस्रोपटक अध्यक्षमा चयन गरेको छ।

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिका संगठन विभाग प्रमुख तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’को प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो। प्रमुख अतिथि पुनले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा सडक, विद्युत् तथा प्रविधिलगायतका क्षेत्रमा धेरै विकास भएको बताए। सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको बने पनि मुद्दाका हिसाबले नेकपाको जित भएको उनको भनाइ थियो। सिंगो मुलुक आजको नेकपा तथा हिजोको माओवादीका मुद्दा र उपलब्धिका आधारमा अघि बढिरहेको स्मरण गराउँदै उनले सबैलाई उत्साहका साथ अघि बढ्न आग्रह गरे।

कार्यक्रममा अमेरिकाबाट आएका पश्चिम प्रदेश समितिका सहइन्चार्ज तिलक केसी, नेपालबाट आएका वसन्त राई र बेल्जियमबाट आएका वीरमान घर्ती मगरलगायतले शुभकामना मन्तव्य दिएका थिए। अन्य संस्थाका आमन्त्रित अतिथिहरूमध्ये काउन्सिलर धन सार्की र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धर्मबहादुर तामाङले पनि शुभकामना व्यक्त गरेका थिए। उमेश मोक्तानले उपस्थित सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य राखेका थिए।

बन्दसत्रमा संयोजक विमला लिम्बुले आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। त्यस्तै, तुल छन्त्याल र कृष्ण खनालले विधान संशोधन प्रस्ताव तथा विश्वास दीप तिगेलाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सांगठनिक प्रतिवेदनमा समावेश युके समितिलाई युरोप मोर्चा तथा पश्चिम प्रदेश समितिअन्तर्गत नराखी छुट्टै मान्यता दिनुपर्ने प्रस्ताव बन्दसत्रले सर्वसम्मतिले पारित गरेको थियो। युके युरोपेली संघ (ईयू) बाट बाहिरिइसकेको र ईयूका २७ सदस्य मुलुकमा रहेका नेपालीहरूको कुल संख्याभन्दा युकेमा रहेका नेपालीहरूको संख्या बढी भएको तर्कसहित उक्त प्रस्ताव प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पुनबाट टीका र खादा लगाएर १४ जना पार्टी प्रवेश गरेका थिए। पार्टी प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टी युकेका सचिव सन्तोष राईसहित दीपेश कार्की, सौरभ राई, शरद लावती, गौतम राई, दिनेश बान्तवा, गणेश राई, किरण लिम्बु, रोशनी राई, रोहन बस्नेत, बलिहाङ लिम्बु, नवीन राई, विकेश लिम्बु र दीपेन्द्र घर्ती मगर रहेका थिए।

सेवानिवृत्त मेजर योगेश कोयी संयोजक, कृष्ण तिवारी सचिव र लीला सेलिङ माबो सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन भएको घोषणा गरेको थियो। समितिको अध्यक्षमा विमला लिम्बु तथा उपाध्यक्षहरूमा कपिल राई, हरि अर्याल, सन्तोष राई र दिनेश ढकाल चयन भएका छन्। त्यस्तै, महासचिवमा भीम राई, सचिवहरूमा वीर बलाल र संघर्ष राई तथा कोषाध्यक्षमा भरत तुम्बाहाम्फे चयन भएका छन्।

सदस्यहरूमा अरुण थापा, सुशीला दवाडी, गौतम राई, शरद लावती, नवीन राई, सौरभ राई, गणेश राई, दिनेश बान्तवा, विदुर राई र कुमार बान्तवा चयन भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि पुनले शपथ ग्रहण गराएका थिए। अध्यक्ष पदका प्रत्याशीद्वय कर्म पहाडी शेर्पा र फूलप्रसाद कँडेलले विमला लिम्बुलाई नै अध्यक्षमा निरन्तरता दिन समर्थन जनाएका थिए।

गत फेब्रुअरीमा नेपाली जनप्रगतिशील मञ्च, प्रवासी नेपाली एकता मञ्च र नेपाली समाजबीच सम्पन्न एकतापछि यो अधिवेशन भएको हो। नवनिर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ। अन्तर्राष्ट्रिय नेपाली मञ्च युके नेपाली कम्युनिष्ट पार्टीको प्रवास संगठनका रूपमा क्रियाशील छ।

Related Articles

Back to top button