भूपू गोर्खा कोलम

गोर्खा मुद्दामा नेपाली–बेलायती पक्षबीच संवाद, डिसेम्बरसम्म ठोस धारणा ल्याउने बेलायती पक्षको आश्वासन

लन्डन। बेलायती सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरूका दीर्घकालीन समस्या समाधानका विषयमा नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच लन्डनमा छलफल भएको छ।

गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधि सम्मिलित ‘जी–१०’ समूहको उपस्थितिमा भएको छलफलमा बेलायतका भेट्रान्स मन्त्री काल्भिन बेलीले गोर्खाका समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्। उनले आगामी डिसेम्बरसम्म यस विषयमा बेलायत सरकारको केही ठोस धारणा सार्वजनिक हुने जानकारी दिएको वार्तामा सहभागीहरूले बताएका छन्।

गोर्खा भूतपूर्व सैनिकहरूले डिसेम्बरसम्म आफ्ना मागबारे ठोस निर्णय नभए पुनः आमरण अनशन सुरु गर्ने चेतावनी बेलायत सरकारलाई यसअघि नै दिइसकेका छन्।

गोर्खा भूतपूर्व सैनिकका तर्फबाट चयन गरिएका वार्ताकार धर्मबहादुर तामाङले नवनियुक्त भेट्रान्स मन्त्री बेलीको अभिव्यक्ति, शब्द चयन र शारीरिक हाउभाउ यसअघिका मन्त्रीहरूको तुलनामा सकारात्मक पाइएको बताए।

लन्डनस्थित नेपाली दूतावासमा आयोजित छलफल करिब दुई घण्टासम्म चलेको थियो। बैठकको प्रारम्भमा कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले छलफलको उद्देश्यमाथि प्रकाश पार्दै लामो समयदेखि समाधान हुन नसकेको गोर्खा समस्या शीघ्र टुङ्ग्याउनुपर्नेमा जोड दिएका थिए।

छलफलका क्रममा मन्त्री बेलीले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख तथा सहानुभूति व्यक्त गरेका थिए। बेलायती संसद्को नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहकी संयोजक सांसद आलेक्स बेकरले पनि गोर्खाहरूले उठाउँदै आएका समस्याका विषयमा आफ्नो धारणा राखेकी थिइन्।

बैठकमा सहभागी गोर्खा प्रतिनिधिहरूले आफ्ना माग बेलायत सरकारसमक्ष यसअघि नै औपचारिक रूपमा प्रस्तुत गरिसकेको उल्लेख गर्दै अब सरकारको स्पष्ट जवाफको प्रतीक्षामा रहेको बताएका थिए।

नेपाली पक्षबाट कार्यवाहक राजदूत दुवाडी, सैनिक सहचारी अनुप शाह तथा दूतावासका अन्य कर्मचारी छलफलमा सहभागी थिए। बेलायती पक्षबाट मन्त्री बेली र मन्त्रालयका एक अधिकारीको सहभागिता थियो।

त्यसैगरी, गोर्खा भूतपूर्व सैनिकका तर्फबाट वार्ताकारहरू मेजर जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ, गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)का सभापति कृष्णकुमार राई, गोर्खा सत्याग्रहका संयोजक कृष्णबहादुर राई, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्रदल देवान, बीजीनेसाका सभापति केशबहादुर गुरुङ, मेजर उदयबहादुर गुरुङ तथा सत्याग्रहीहरू ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङ सहभागी थिए।

छलफलपछि नेपाली दूतावासमा रात्रिभोज आयोजना गरिएको थियो। त्यस अवसरमा पनि नेपाल र बेलायत सरकारका प्रतिनिधिहरूले गोर्खा सैनिकका समस्यासम्बन्धी छलफलमा उठेका विषयहरूमाथि विचार आदानप्रदान गरेका थिए।

यद्यपि, बेलायतस्थित नेपाली दूतावासले उक्त कार्यक्रमलाई औपचारिक वार्ताभन्दा पनि बेलायती भेट्रान्स मन्त्री बेली र सांसद बेकरसँग गोर्खा प्रतिनिधिहरूको अनौपचारिक भेटघाट तथा छलफलका रूपमा उल्लेख गरेको छ।

Related Articles

Back to top button