आदिवासी

मगर महिला संघ यूकेको २९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

अल्डरसट, बेलायत। मगर महिला संघ यूकेले २९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ। संघले २०२६ सेप्टेम्बर १३, आइतबारका दिन बेलायतको अल्डरसटस्थित ‘द प्यालेस रेस्टुरेन्ट’मा विविध कार्यक्रम सहित स्थापना दिवस मनाएको हो।

मगर महिला संघ यूकेकी अध्यक्ष सरला राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष मेजर योगेश कोयी राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) मगर, संघका संस्थापक अध्यक्ष थर्क राना मगर, निवर्तमान अध्यक्ष सीता पुन मगर तथा ट्रष्टीहरू क्याप्टेन ताम धेगा मगर र जमुना पुन मगर विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको पहिलो चरणमा सुरक्षा सम्बन्धी जानकारी, अतिथिहरूको आसनग्रहण, दीप प्रज्वलन तथा राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो। त्यसपछि विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा, वर्षभरि दिवंगत भएका मगर समुदायका सदस्यहरू तथा भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा संघकी वरिष्ठ उपाध्यक्ष मनु पाइजा मगरले स्वागत मन्तव्य दिनुभएको थियो। औपचारिक सत्रको सञ्चालन महासचिव सरस्वती थापा मगरले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको सञ्चालन सांस्कृतिक सचिव यमुना आलेले गर्नुभएको थियो।

स्थापना दिवसको अवसरमा समाजसेवी गिभिना मगर, गायिका निता थापा मगर तथा मगर समुदायका १० जना महिला व्यवसायीलाई सम्मान गरिएको थियो। कार्यक्रममा महिला उद्यमी तथा समाजसेवीहरूको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो। सोही अवसरमा मगर महिला संघ यूकेको स्विनडन शाखाले ‘लेडिज नाइट’ कार्यक्रम मार्फत सङ्कलन गरेको रकम समाजसेवी गिभिना मगरलाई हस्तान्तरण गरेको थियो। साथै, स्थापना दिवसका अवसरमा सङ्कलन भएको रकम भोटेकोशी बाढीपीडितलाई सहयोग स्वरूप प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष सरला राना मगरले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि मेजर योगेश कोयी राईसहित संस्थापक अध्यक्ष थर्क राना मगर, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) मगर तथा पूर्वउपाध्यक्ष अनिता राना मगरले स्थापना दिवसको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले मगर महिला संघ यूकेले स्थापना कालदेखि नै मगर महिला तथा समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्थाले थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा मगर संघ यूकेका पदाधिकारी तथा सल्लाहकारहरू, विभिन्न शाखा समितिका अध्यक्ष तथा पदाधिकारी लगायत मगर समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। स्थापना दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

संघकी अध्यक्ष सरला रानाले उपस्थित सम्पूर्ण महानुभाव लगायत प्रत्यक्ष परोक्षय सहयोगी हरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन।

Photo credit: Gurkha Media

Related Articles

Back to top button