विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जाको स्मृतिमा मगर संघ यूकेद्वारा शोकसभा सम्पन्न

लण्डन, शुक्रबार, १४ अगस्ट २०२६। बेलायतको फार्नबोरोस्थित मगर भवनमा विश्वकीर्तिमानी हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा MBE (निम्स दाइ) को स्मृतिमा मगर संघ यूकेले श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरेको छ। 
शोकसभामा स्वर्गीय निम्स दाइका साइँला दाजु कमल पुर्जा मगर, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु), कार्यसमितिका पदाधिकारी, संस्थापक तथा पूर्वअध्यक्षहरू, ट्रस्टी, सल्लाहकार तथा ठूलो संख्यामा सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वर्गीय निम्स दाइको तस्बिरमा माल्यार्पण तथा खादा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।
श्रद्धाञ्जली मन्तव्यका क्रममा मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना मगर, पूर्वअध्यक्ष मेजर कुल थापा मगर र लेफ्टिनेन्ट सुनिल राना मगर तथा सल्लाहकार मेजर चित्र राना मगरले स्वर्गीय निम्स दाइको असामयिक निधनले नेपाली समुदाय र विश्व पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उहाँको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए।
कार्यक्रममा परिवारका तर्फबाट बोल्दै कमल पुर्जा मगरले आफ्ना कान्छा भाइ निर्मल पुर्जाको स्मृतिमा शोकसभा आयोजना गरी सम्मान प्रकट गरेकोमा मगर संघ यूकेप्रति हार्दिक आभार व्यक्त गरे।
मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) को अध्यक्षतामा सम्पन्न उक्त शोकसभाको सञ्चालन महासचिव गोमन पुन मगरले गरेका थिए। कार्यक्रममा सहभागीहरूले स्वर्गीय निर्मल पुर्जाले नेपालको पर्वतारोहण तथा राष्ट्रको अन्तर्राष्ट्रिय पहिचानका लागि पुर्याएको योगदानको स्मरण गर्दै उहाँको व्यक्तित्व र कृतित्व सधैं प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरेका थिए।




