धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग

विराटनगर, २० साउनः कुनै बेला कोशी प्रदेशकै सुविधासम्पन्न धनकुटा जिल्ला अस्पताल अहिले आफैँ थलिएको छ ।
भौतिक पूर्वाधारसहितका समस्या झेल्नु परेपछि पछिल्लो समय अस्पतालले आमनागरिकका लागि प्रदान गर्ने सेवा प्रवाहसमेत प्रभावित हुँदै आएको छ । निकै पुरानो संरचना भएको अस्पताल भवन अहिले जीर्ण अवस्थामा रहेकाले पनि नागरिकलाई अपेक्षित रुपमा सेवाप्रवाह गर्न नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
तथापि, बिरामीको चाप रहे तापनि त्यसलाई धान्ने भौतिक पूर्वाधार नहुँदा विभिन्न चुनौतीको सामना गर्नुपरेको अस्पतालका प्रमुख डा सन्तोष राईले जानकारी दिनुभयो । दैनिक ३०० देखि ४०० सयसम्म बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको छ त्यस अस्पतालमा हाल विशेषज्ञ चिकित्सक छ जना, मेडिकल अफिसर चार र सेन्ट्रल अफिसर दुई जना र २० जना नर्स कार्यरत हुनुहुन्छ ।
अस्पतालले पछिल्लो समयमा अस्पताले मिर्गौलारोगीका लागि डायलाइसिस सेवा पनि सुरु गरेको उहाँले जानकारी दिनुभयो । उक्त अस्पतालमा आउने बिरामीमध्ये झन्डै ७० प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामी हुने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख डा राई भन्नुहुन्छ, “गुणस्तरीय र छिटो सेवा प्रदान गर्न र विशेषज्ञ जनशक्ति टिकाउन अस्पतालको निर्माणाधीन भवन छिटो सम्पन्न हुनुपर्छ ।”
सरकारले धनकुटा नगरपालिका–५ मा अस्पतालका लागि रु २८ करोड लागतमा चारतले नयाँ भवन निर्माण गरिरहेको छ । उक्त भवनको अहिले ४० प्रतिशतमात्र काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय धनकुटाका प्रमुख रमेश खरेलले जानकारी दिनुभयो ।
कोशी प्रदेशसभामा त्यस अस्पतालाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गरिनुपर्नेमा आवाज उठ्दै आएको छ । अस्पतालको स्तरोन्नति भएमा त्यस क्षेत्रको बसाइँसराइ केही हदसम्म रोक्न मद्दत पुग्ने कोशी प्रदेशसभा सदस्य निरन राईले बताउनुभयो ।
कोशी प्रदेशसभाका पूर्वसांसद लीला श्रेष्ठले सरकारले त्यस क्षेत्रका जनताको माग र आवश्यकतालाई पूरा गर्न अस्पतालाई गुणस्तरीय सेवा प्रदान गर्ने शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गरिनुपर्ने बताउनुभयो ।




