नेकपाकी सचेतक शान्ता चौधरीले जितिन् कोरोनालाई, भन्छिन् मैले पुनर्जीवन पाएँ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै आफूले पुनर्जीवन पाएको बताएकी छन्।

१९ दिनदेखि वीर अस्पतालमा उपचाररत रहेकी सांसद चौधरीको शुक्रबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो। ‘पहिले देखिका गम्भीर रोगहरुको कारणले पनि कोरोनाले मलाई यसरी गलाएको हुनुपर्छ। पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकोले पनि बाँच्छु जस्तै लागेको थिएन। यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोना निगेटिभ भएको नतिजा आयो। लाग्यो मैले पुनर्जीवन पाएँ’, फेसबुकमा उनले लेखेकी छन्।

उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैमा र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिएकी छन्। कोरोना निको भए पनि उनी अहिले उनी वीर अस्पतालमै उपचाररत रहेकी छन्।