ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले रानी भिक्टोरियाको सम्झनामा शनिबार ६ जुनमा ‘भिक्टोरिया डे’ मनाउने

लण्डन। जुन १ – हरेक बर्ष ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले रानी भिक्टोरियाको सम्झनामा मनाउंदै आईरहेकोमा यो बर्ष शनिबार ६ जुन अल्डरसटमा मनाउन लागेको ‘भिक्टोरिया डे’को सम्पूर्ण तयारी पूरा भएको सम्योजक डा बिशाल गुरुङले जानकारी दिएका छन् ।
सोमबार १ जुनमा बसेको जुम मिटिङमा जीआरएनसी यूकेकी अध्यक्ष लीला सेलिङ माबो र कार्यक्रम संयोजक डा बिशाल गुरुङले कार्यक्रमको सबै तयारी पूरा भएको र अझ थप आकर्षक बन्ने पनि जानकारी दिएका छन्। महासचिव ले रि सुनील रानाले सञ्चालन गरेको बैठकमा विभिन्न जिम्मेवारी पाएका कार्यसमितिका पदाधिकारी र सदस्यहरुले कार्यप्रगति विवरण सुनाएका थिए ।
कार्निभलमा नेपाली मुलको विभिन्न मौलिक संस्कार, संस्कृति र पहिचान झल्काउने लुगा, गरगहना, बाजा र नृत्यसहित संघ सस्थाहरु सहभागी हुँदैछन् ।
कार्यक्रम बिहान १० देखि दिउँसो ४ बजेसम्म हुनेछ । नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। रश्मोर क्षेत्रको अति आकर्षक कार्निभल रानी भिक्टोरिया दिवसमा स्थानिय लगायत सबै देश बिदेशका समुदायले आ आफ्नो सास्कृतिक पहिचान सहितको परेड र्याली हेर्न पाउंदा अत्यन्तै रमाईलो र शिक्षा मुलक पनि हुन्छ।
अल्डर्शोट नेपाली हरुको बाक्लो बस्ती भएकोले यहि बाट नै नेपाली कल्चर पहिचान प्रदर्शनको साथ उदाहरण सहित जन्मभूमि नेपालको निम्ति पर्यटन प्रवर्द्धनमा केही टेवा पुर्याउने उद्देश्य सहित कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष माबोको भनाइ छ ।
प्रथम नौमती बाजा गुल्मी यूके समूहको नौमती धुन, पासा पुछ गुठी युकेको लाखे र लाठी नाच अनि धिमे बाजा साथै च्याम्रुङ, सोरठी, भजन, घाटु, कौडाको साथ नेपाली झाँकी प्रदर्शन गरिनेछ । जिआरएनसीको निमन्त्रणामा पाल्नु भएका दुईजना प्रसिद्द कलाकार रेश्मा तामाङ र शर्मिला गुरुङको र्यालीमा उपस्थिति रहने छ।
भिक्टोरिया डे कार्यक्रममा सहभागी हुन बेलायतवासी संघ संस्था र सबै जन समुदायलाई भाग लिनको लागि जिआरएनसी अध्यक्ष र सबै टिमबाट बिनम्र अनुरोध छ ।




