‘पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही’

मान्म (कालीकोट), १ चैत : जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति र मूल्यमा प्रभाव पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो ।
प्रशासनले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कारोबार गर्ने डिलर, डिस्ट्रीब्युटर तथा व्यवसायीहरूले कृत्रिम अभाव सृजना गर्ने उद्देश्यले अनावश्यक रूपमा मौज्दात गर्ने, लुकाइछिपाइ भण्डारण गर्ने वा बिक्रीवितरणमा अवरोध पुर्याए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
त्यस्तै उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ तथा ग्यास भण्डारण नगर्न आग्रह गरिएको छ । इन्धनको अनावश्यक प्रयोग नगरी मितव्ययी प्रयोग गर्न तथा सम्भव भएसम्म वैकल्पिक ऊर्जाका स्रोत, विशेषगरी विद्युतीय उपकरण (इन्डक्सन चुलोलगायत) प्रयोग गर्न प्रशासनले अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनुभयो ।
कानुनविपरीत कृत्रिम अभाव सृजना गर्ने व्यक्ति, फर्म वा संस्थाबारे जानकारी पाएमा सम्बन्धित निकायलाई सूचित गर्न पनि प्रशासनले सबैमा अपिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।
ग्यासको अभाव छैन ः उद्योग वाणिज्य सङ्घ
खोटाङ ः देशभर खाना पकाउन प्रयोग गरिने ग्यास अभाव भएको हल्ला चलिरहेको बेला खोटाङमा भने अभाव नरहेको बताइएको छ । इरान र अमेरिकाबीच जारी युद्धका कारण बाहिरबाट ग्यास नआए पनि जिल्लामा भने अभाव नभएको उद्योग वाणिज्य सङ्घले जनाएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रिजालको लगायतका ग्यास सिलिन्डर हालसम्म पर्याप्त रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभयो । “कम्पनीहरूले नपठाएका कारण जिल्लामा केही दिनअघिदेखि नोबेल ग्यास भने पर्याप्त मात्रामा थिएन । कटारीबाट ३०० वटा पठाएकाले तत्कालका लागि नोबेल ग्यास पनि अभाव हुँदैन”, उहाँले भन्नुभयो, “अहिले हरेक उपभोक्ताले आफ्नो घरमा दुईतीन वटासम्म ग्यास सिलिन्डर खरिद गरेर भण्डारण गरिराखेका छन् । इरान र अमेरिकामा चलिरहेको युद्ध लामो समयसम्म जारी रहेको खण्डमा भने जिल्लामा ग्याससँगै दैनिक उपभोग्य सामानको समेत अभाव हुने देखिन्छ । अन्यथा अहिले नै ग्यासलगायत कुनै पनि सामानको अभाव छैन ।”
खाना पकाउने ग्यास अभाव भएको बाहिरी हल्ला जिल्लावासीमा समेत फैलिएपछि विशेषगरी विद्यार्थीका लागि प्राथमिकतामा राखेर ग्यास वितरण गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । विद्यार्थी तथा कोठा भाडामा बस्दै आएका कर्मचारीको समस्यालाई मध्यनजर गर्दै एउटामात्र ग्यास सिलिन्डर हुनेलाई प्राथमिकता दिएर वितरण गर्नेगरी तयारी गरिएको वाणिज्य सङ्घका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
ग्यास चुलोले छिटो, सजिलो र सस्तो गरी खाना पकाउन सकिने भएपछि गाउँका अधिकांश स्थानीयले दाउरा प्रयोग गरेर खाना पकाउन छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताउनुभएको छ । “ग्यास अभाव भएको हल्ला गाउँसम्म नै फैलिएको छ । ग्यास चुलोका कारण धेरैको घरमा आगो बाल्ने अगेनासमेत हटाइसकिएको छ”, उहाँले भन्नुभयो, “यदि साँच्चिकै अभाव भएको खण्डमा वृद्धवृद्धामात्रै बसेको घरमा समस्या हुने देखिन्छ । अन्यमा खासै प्रभाव पर्दैन ।”
जिल्लामा ग्यास तथा दैनिक उपभोग्यवस्तुको कृत्रिम अभाव एवं कालोबजारी नगर्न जिल्ला प्रशासन कार्यालय खोटाङले व्यापारीलाई आग्रह गरेको छ । कृत्रिम अभाव एवं कालोबजारी गरेको खण्डमा कडाभन्दा कडा कारबाही गरिने गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभयो ।




